सामाजिक विषयको परीक्षा पनि स्थगित भएपछि विद्यार्थीहरु आन्दोलित 

चैत्र १५, २०७५ | रौतहट, बारा

प्रश्नपत्र बाहिरिएपछि एसइई अन्तर्गत प्रदेश नम्बर २ मा आज हुने भनिएको सामाजिक विषयको परीक्षा पनि स्थगित भएको छ । सप्तरीमा प्रश्नपत्र बाहिरिएपछि हिजो हुने भनिएको विज्ञान विषयको परीक्षा पनि चैत २२ गतेका लागि सारिएको थियो ।   

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले प्रश्न पत्र परीक्षा अगावै सार्वजनिक भएपछि प्रदेश नम्बर २ मा नियमित तर्फ सामाजिक अध्ययन विषयको परीक्षा स्थगन गरिएको बताउनुभयो ।

सामाजिक बिषयको प्रश्नपत्र हिजो साँझबाट नै सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएपनि आज बिहान साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि भएको थियो ।

नियमित तर्फको परीक्षा स्थगन गरिएपनि अन्य समूहको परीक्षा भने हुने नियन्त्रक अधिकारीले बताउनुभयो । सामाजिक अध्ययन विषयको परीक्षाका लागि अर्को मिति तोकिने अधिकारीले बताउनुभयो । 

यसैबीच, प्रश्नपत्र बाहिरिएकाले परीक्षा दिन नपाएको भन्दै रौतहट, बारा लगायत जिल्लामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बिरोधमा उनीहरुले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहापुर खण्ड अवरुद्ध पारेका छन् । विद्यार्थीले कलैयामा टायर बालेर प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले कलैया क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाएको छ । 

प्रश्न पत्रको सुरक्षा दिन नसकेको, विद्यार्थीको भविष्य माथि खेलबाड गरेको भन्दै उनीहरुले प्रदेश २ सरकारविरुद्ध नाराबाजी समेत गरेको सहकर्मीहरुले जनाएका छन् ।  


प्रतिक्रिया