पर्सा राष्ट्रिय निकुञ्जमा बाघको गतिविधि बढ्यो

आश्विन १३, २०७७ | पर्सा

लामो समय सम्मको लकडाउन र निषेधाज्ञाको कारण निकुञ्जमा मानवीय हस्तक्षेप न्युन भएपछि पर्सा राष्ट्रिय निकुञ्जमा बाघको गतिविधि बढेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार पछिल्लो समय आधाभारस्थित निकुञ्जको मुख्य कार्यालय तथा त्यस वरपरको क्षेत्रसम्मै बाघ देखिन थालेको छ । 

‘२ साता अघि म आफैले निकुञ्ज कार्यालय नजिक एउटा पाटे बाघ देखेको थिएँ, त्यसको केही दिन अघि निकुञ्ज कार्यालयको मुल प्रवेशद्वारमा बस्ने हाम्रो कर्मचारीले पनि एउटा पाटे बाघ पूर्व–पश्चिम लोक मार्ग पार गरेर पूर्वतर्फ जाँदै गरेको देखेका थिए, निकुञ्ज गस्तीमा जाने गरेको हाम्रो कर्मचारी टोलीले पनि कार्यालय नजिकको वन क्षेत्रमै डमरुहरु सहितको बघिनी देखेका थिए,’ उनले भने, ‘विगतमा निकुञ्ज कार्यालय परिसरसम्मै बँदेल, चित्तल जस्ता वन्यजन्तुहरु मात्र देखा पर्ने गरेकोमा हाल बाघनै देखिन थालेको छ, यो हामी संरक्षणकर्मीका लागि सुखद क्षण हो ।’ 

यसरी धमाधम बाघ देखिनुले वन्यजन्तुको बासस्थलमा मानवीय हस्तक्षेप घटेपछि उनीहरु सहज रुपमा विचरण गर्ने पुष्टि बाघको पछिल्लो गतिविधिले गरेको प्रमुख संरक्षण अधिकृत महर्जनले बताउनुभयो । 

‘विगतमा निकुञ्जको कोर एरिया मानिने रामभौरीभाठा क्षेत्रमा बढी जसो बाघ देखिन्थे,’ उहाँले भन्नुभयो, ‘अहिले निकुञ्जको मुख्यालय सम्मै आउनु भनेको निकुञ्जमा मानवीय गतिविधि कम हुँदा वन्यजन्तु पनि निर्धक्क भएर विचरण गर्छन् भन्ने पुष्टि हुन्छ ।’ संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण निकुञ्जमा एक दशकमा बाघको संख्या चार गुनाले बढेको छ । 

सन् २००९/२०१० मा गरिएको गणनामा निकुञ्जमा ४ वटा मात्र वयस्क बाघ थिए । २०१३ मा यो संख्या बढेर ७ पुगेको थियो । पछिल्लो अर्थात २०१८ को गणनाले यो संख्या १८ पुगेको महर्जनले जानकारी दिनुभयो । ‘२ वर्ष यता यो संख्या अझै बढेको हाम्रो अनुमान छ,’ उहाँले भन्नुभयो, ‘निकुञ्जको विभिन्न क्षेत्रमा माउ र बच्चा बाघ देखिएका छन् ।’ 

२ वर्ष अघि निकुञ्जको क्षेत्र पूर्वी भेगमा विस्तार भएपछि हल्खोरिया दह क्षेत्रमा पनि २ वटा डमरु र माउ बघिनी गत वर्ष देखिएका थिए । यसले बाघले निकुञ्जमा आफ्नो नयाँ बासस्थान बनाएको संकेत गरेको थियो । त्यस क्षेत्रमा पहिले बाघको बाघस्थान देखिएको थिएन । 

निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरहरुको संख्या बढदै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणामनै रहेको महर्जनले बताउनुभयो । यस बाहेक रामभौरी, भाठा, रमौली, प्रतापपुर जस्ता निकुन्ज भित्र रहेका मानव बस्तीहरुलाई स्थानान्तरण गरिएपछि पनि बाघ लगायत अन्य वन्यजन्तुको संख्या पनि वृद्धि हुन गएको हो । निकुञ्जमा बाघको संख्या वृद्धिसँगै थप चुनौती पनि बढेको उहाँले सुनाउनुभयो । 

बाघ बढेसँगै तीनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिको वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला आदि प्रमुख चुनौती रहेको उहाँको भनाई छ । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज जंगली हात्तीको बासस्थानको रुपमा प्रसिद्ध छ । 


प्रतिक्रिया