एमाले र माओवादी केन्द्रको सत्ता समीकरण किन फाप्दैन ? (२०६४—२०७९)

चैत्र ४, २०७९ | काठमाडौं

सशस्त्र विद्रोह अन्त्य गर्दै माओवादी मूलधारको राजनीतिमा आएको डेढ दशक बितिसकेको छ । यो अवधिमा माओवादी र अर्को कम्युनिष्ट पार्टी एमालेबीच पटक–पटक सत्ता साझेदारी भएका छन् । सत्ता स्वार्थका कारण एकै ठाउँ उभिएपनि ती दुई दलको सहकार्यले स्थायित्व पाउन सकेका छैनन् । २०७४ सालमा मिलेर चुनाव नै लडेका एमाले र माओवादीको आपसी मतभेद झांगिदै जाँदा बलियो कम्युनिष्ट शक्ति बन्ने मौका समेत गुमेको छ । यही पृष्ठभूमिमा पछिल्लो पटक पुष १० गते सत्ताका लागि साझेदारी गरेका माओवादी र एमाले फेरि फरक कित्तामा उभिएका छन् । र, एक–अर्काको विरोध र आलोचना गर्ने बानी अझै हट्न सकेको छैन ।

लामो तिक्ततापछि गत पुष १० गते पुनः सत्ता समीकरणमा एकाकार भएका माओवादी केन्द्र र एमालेबीचको सहकार्य लामो समय टिक्न सकेन । सात दलको समर्थनमा साढे दुई बर्षपछि एमाले अध्यक्ष केपी ओलीलाई सरकारको नेतृत्व सुम्पिने शर्तमा सिंहदरवार प्रवेश गरेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति भन्दै अर्को बाटो रोजेपछि गठबन्धन भत्कियो । गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि एमाले र माओवादी केन्द्रबीच फेरि तिक्तता देखिएको छ ।

त्यसो त, मुलुकका यी दुई ठुला कम्युनिष्ट पार्टीले २०६४ सालमा गठित संविधानसभापछि एक अर्काको सहयोगमा पटक—पटक सत्तामा साझेदारी गरेका छन् । पहिलो संविधानसभाबाट माओवादी पहिलो शक्ति बनेपछि एमालेसहितको समर्थनमा दाहाल पहिलो पटक प्रधानमन्त्री भएका थिए । सेनापति प्रकरणका कारण दाहालले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि एमालेले कंग्रेससहितका दलको समर्थनमा सरकारको नेतृत्व गर्ने मौका पाएको थियो । अर्थात्, एमालेका त्यतिबेला वरिष्ठ नेता माधव नेपाल कंग्रेस र अन्य दलको समर्थनमा प्रधानमन्त्री भएका थिए ।

राजनीतिक टकराव बढ्दै जाँदा नेपालले प्रधानमन्त्री छाडेपछि एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई माओवादीले समर्थन गरेपछि लगातार एमालेको भागमा प्रधानमन्त्री पद हात परेको थियो । तर त्यो सरकार पनि लामो समय टिक्न सकेन । यसरी हेर्दा दुई वामपन्थी शक्तिको सत्ता समीकरण दिगो हुन नसकेको प्रष्ट देखिन्छ । राजनीतिक विश्लेषक डिल्लीराज खनाल नेताहरुको सीमित स्वार्थका कारण एमाले र माओवादीबीच सहकार्य हुँदा पनि सत्ता साझेदारीमा समस्या आएको बताउँछन् ।

तत्कालिन समयमा झलनाथ खनाल नेतृत्वको सरकारलाई विस्थापित गर्दै माओवादी केन्द्रका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि एमाले प्रतिपक्षमा बसेको थियो, त्यो समय भनेको संविधानसभा विघटन अघिको हो । संविधानसभा भंग भएपछि भट्टराई नेतृत्वको सरकार लामो समय चल्न नसकेपछि त्यतिवेलाका प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार गठन भई संविधानसभाको दोस्रो निर्वाचन भयो । र, दोस्रो संविधानसभाबाट पहिलो दल बनेको नेपाली कंग्रेसको नेतृत्वमा सरकारमा एमाले सहयात्री बन्यो भने माओवादी प्रतिपक्षीमा खुम्चियो ।

समयक्रममा संविधानसभाबाट २०७२ असोजमा नयाँ संविधान जारी भएपछि फेरि एमाले र माओवादीबीच सत्तासाझेदारी बन्यो, त्यतिवेला एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए । तर आन्तरिक विवादका कारण ओली नेतृत्वको सरकार ढलेपछि माओवादीका अध्यक्ष दाहाल कंग्रेससहितका दलको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री भए भने एमाले प्रतिपक्षमा सीमित भयो । माओवादी र कंग्रेसबीचको सत्ता साझेदारी भएपछि कंग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा संघीय संसद र प्रतिनिधिसभाको निर्वाचन गराउँदा एमाले र माओवादीबीच चुनावी तालमेल हुँदै पछि पार्टी एकता भएर नेकपा नै गठन भयो र एमाले अध्यक्ष ओली दोस्रो पटक मुलुकको प्रधानमन्त्री भए ।

तर आन्तरिक विवाद झांगिदै जाँदा ओली नेतृत्वको सरकार समेत ढलेपछि सत्ताको नेतृत्व कंग्रेसको हातमा पुग्यो र २०७९ मंसिरमा ताजा जनादेशमार्फत् नयाँ संसद गठन भएको छ । चुनावबाट कंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो शक्तिको रुपमा खडा भएका छन् । यही पृष्ठभूमिमा एमालेसहित दलको समर्थनमा पुष १० गते नयाँ गठबन्धन बनेर तेस्रो पटक प्रधानमन्त्री भएका छन् । राष्ट्रपति निर्वाचनमा कंग्रेस र माओवादीसहितका दल एक ठाउँमा उभिदा एमाले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिदै अहिले फेरि प्रतिपक्षी बन्न पुगेको छ । यी घटनाक्रमलाई केलाउँदा एमाले र माओवादीबीचको सत्ता सहयात्रामा थुप्रै उतारचढाव आएका छन् ।

दुई दलवीचको साझेदारीमा किन समस्या उत्पन्न हुने गरेका छन् त भन्ने प्रश्नमा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन् ‘फरक पार्टी भएकाले विचार एउटै हुदा त्यसले महत्व राख्ने रैन रैछ । अहिले राजनीतिक परिवेश अनुसार हामी एक हुन सकेनौं । दुई कम्युनिष्ट शक्तिबीचको वेमेलका कारण समेत मुलुकको राजनीतिले स्थायित्व पाउन नसकेको टिप्पणी भइरहेका छन्, जसको प्रत्यक्ष असर सत्तासमीकरणमा परेको हो ।’ माओवादी केन्द्रका महासचीव देव गुरुङ राजनीतिक एजेण्डामा अडिग नहुँदा एमाले र आफूहरुबीचको सत्तासमीकरण दिर्घकालिन हुन नसकेको स्वीकार गर्छन् ।

२०६४ को पहिलो संविधानसभाबाट पहिलो शक्ति बनेपनि हरेक निर्वाचनमा माओवादीको जनमत घट्दै गएको छ भने एमालेले आफूलाई जनमतको कसीमा पछिल्ला बर्षमा उत्कृष्ट सावित गरेको छ । भलै पार्टी विभाजन लगायत कारणले एमाले यसपटकको निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ । दुबै दलले कम्युनिष्ट जनमतलाई आफ्नो पक्षमा पार्ने कसरत गरेपनि सोचे जति सफलता पाउन सकेका छैनन् । यही मेसोमा पुष १० बनेको सत्ता समीकरण फेरबदल भएपछि विपरित कित्तामा उभिएका माओवादी र एमालेबीच फेरि सत्ता साझेदारी सम्भव होला त भन्ने प्रश्नमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भन्छन्, अहिले नै सत्ता समीकरण हुन्छ भन्ने लाग्दैन ।

तर, सत्ता र शक्तिकालागि उनीहरु एक हुदैन भन्ने लाग्दैन । एमाले र माओवादीले आफूलाई असली कम्युनिष्ट ठान्दै वर्गीय मुद्धाको हिमायति ठान्दै आएका छन् । तर सत्ताका लागि स्वार्थ मिल्दा एक ठाउँमा उभिने यी दल सत्ताबाट बाहिर रहँदा भने एक–अर्कोको आलोचना र विरोध गर्ने मामिलामा उस्तै देखिने गरेका छन् । त्यसैले विभाजित भएका कम्युनिष्ट पार्टीहरु आफ्नो अस्तित्व जोगाउन कठिन हुँदै गएका बेला संसदीय राजनीतिमा अझै पनि प्रभावशाली मानिएका एमाले र माओवादीको सहकार्य आगामी दिनमा कसरी अघि बढ्ने हो त्यो भने प्रष्ट छैन ।


प्रतिक्रिया