कांग्रेसभित्र रुपान्तरणको मुद्दा उठाउने युवापंक्ति आफ्नै एजेण्डामा रुमलिए

असार २७, २०८०

राजनीतिमा आशा कायम राख्नु र कार्यकर्तामा भरोसाको सञ्चार गराउनु सबैभन्दा कठिन काम हो । नेपाली काँग्रेसको हकमा कार्यकर्ताप्रति न नेतृत्वको आशा छ न नेतृत्वप्रति कार्यकर्ताको भरोसा नै । एजेण्डा स्पष्ट र सपाट नहुँदा त्यसको कार्यान्वयन पक्ष पेचिलो बन्नु स्वभाविक हो । पार्टीमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठाउने युवापंक्ति समेत आर्फ्नै एजेण्डामा रुमल्लिँदा नेपाली काँग्रेस मझधारमा रहेको डुंगा जस्तै भएको छ ।

पार्टीमा पुस्तान्तरणको एजेण्डा लिएर नेतृत्वमा दाबी गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको आन्तरिक गतिरोध अन्त्यकालागि जति सक्रिय देखिन्छन् उति संस्थापन पक्षलाई कमजोर बनाउने र पार्टी सभापति शेरबहादुर देउवाको विरोधमा उद्दत छन् । मुख्यगरि पार्टीको सांगठनिक संरचनामा महत्वपुर्ण भूमिका निभाउने महामन्त्री नै व्यक्तिगत एजेण्डामा अल्मलिँदा पार्टी थप अनिर्णयको बन्दी बन्दै जाने त हैन भन्ने संशय पनि उत्पन्न भएको छ । काँग्रेस राजनीतिलाई नजिकबाट नियालेका राजनीतक विश्लेषक पुरञ्जन आचार्य युवा नेताहरु आफ्नै एजेण्डामा अल्मलिँदा समस्या आएको बताउछन् ।

झण्डै १ वर्ष केन्द्रीय कार्यसमितिको बैठक नै बस्न नसकेको परिस्थितिबाट काँग्रेसको आन्तरिक र बाह्य क्षमता छताछुल्ल भएकै छ । काँग्रेसभित्रको सक्रिय गुटबन्दी आगामी निर्वाचन र महाधिवेशन केन्द्रित हुँदाको लहरो बढेर जिल्लामात्रै हैन गाउँ तहसम्मै झाँगिएको छ । आफूलाई शक्ति सम्पन्न देखाउन संस्थापन र इतर दुबै समूह सक्रिय हुनुको पछिल्लो उदाहरण हो महामन्त्री थापाले बोलाएको जिल्ला सभापतिहरुको भेला । पार्टीको संरचनालाई चलायमान बनाउन आयोजना गरिएको सभापतिहरुको भेला विषयबस्तु भन्दा पनि गुनासो केन्द्रित भएबाट उपनिर्वाचनमा पार्टीले बेहोरेको हारसहित अन्य एजेण्डाहरु काँग्रेसीजनलाई कति बिझेको छ बुझ्न सजिलो भएको दाङ जिल्ला सभापति शंकर डाँगी बताउछन् ।

पार्टी रुपान्तरणको नाममा केही युवा नेताले जेठ महिनाभरि सातै प्रदेशमा औपचारिक कार्यक्रम पनि गरे । तर, अभियानले पार्टीभित्रको आन्तरिक मनमुटावलाई डेग चलाउन सकेन, बरु पार्टीभित्र गुटगत भेला र छलफलले प्रशय पाएको भन्दै आलोचना भयो । अभियानको नेतृत्व गरेका नेता गुरु घिमिरे अभियानले पार्टीलाई चलायमान बनाएपनि नतिजा दिन नसकेको स्वीकार गर्छन् । दोस्रो अभियानले पार्टीभित्रको आन्तरिक तित्ततालाई अन्त्य गर्ने उनको विश्वास छ ।

काँग्रेस महामन्त्री थापा पछिल्लो समय आफै अभियान सञ्चालनमा छन् । दुई दिने सभापतिहरुको भेला र एक महिने रुपान्तरण अभियानको आन्तरिक समिक्षा गर्दै थापा स्वयमः रुपान्तरणको अभियानमा होमिएका छन् । सभापति देउवाको कार्यशैली र पार्टीका निर्णयमा हस्तक्षेप बढाउँदै लगेका थापाले विशेष महाधिवेशनको माग उठाउँदै गर्दा निकालेको हरहिसाब सजिलै बुझ्न सकिन्छ । तर, कांग्रेसभित्र व्यक्तीलाई केन्द्रमा राखेर गरिने गुटगत राजनीतिका कारण कतिपय राम्रा विषयले पनि निरन्तरता पाउन नसकेको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बताउछन् ।

मुख्यगरि संसदमा पहिलो पार्टी बन्दापनि सरकारको नेतृत्व गुमाउनु, चुनावको अन्तिम समयमा गठबन्धन गर्नु, संसदमा तेस्रो पार्टीलाई सरकारको बागडोर सुम्पिनु, उपनिर्वाचनमा पराजय भोग्नु, पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्थाहरु नेतृत्व बिहिन बन्नु, नेतृत्व पाएकाले पुर्णता नपाउनु, पार्टीका निर्णयहरु सभापतिले आफुखुशी गर्नु जस्ता असन्तुष्टि पोख्दै पार्टीभित्रको शुद्धिकरणको अभियान चलाइ रहेका महामन्त्री थापाकै कार्यकाल डेढ बर्ष पुगिसकेको छ । पार्टीमा पुस्तान्तरणको एजेण्डा बोकेर निर्वाचित भएका नेताहरु नै विधी र विधानलाई टेकेर अघि बढ्न सकेका छैनन् भने, एजेण्डामा अडिग रहन नसक्दा रुपान्तरणका एजेण्डा बोकेका नेताहरुमाथि प्रश्न उठ्न थालेका छन् । पुरानाले गर्न सकेनन् भन्दै उनीहरुलाई ‘नो नट अगेन’ भन्नेहरुलाई नै अब त्यही प्रश्नको सामना गर्न पर्ने बेला काँग्रेसमा आइसकेको छ । 


प्रतिक्रिया