‘नेपाली राजनीतिले एक शालिन व्यक्तित्व गुमायो’

भाद्र २६, २०८०

संविधानसभा अध्यक्ष तथा पुर्वसभामुख, प्रतिनिधिसभा सदस्य एवं एमाले उपनेता सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिले एक शालिन व्यक्तित्व गुमाएको भन्दै विभिन्न दलका नेताहरुले दुःख व्यक्त गरेका छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले द्वन्द्व र अन्तर विरोधलाई अन्त्य गर्न विभिन्न कालखण्डमा महत्वपुर्ण भूमिका निभाएका नेम्वाङको निधनले पार्टीमा ठुलो क्षति भएको बताउनुभयो ।

राजनीतिक कालखण्डमा संगै सहयात्रा गरेका अर्का नेता तथा पुर्वप्रधानमन्त्री एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेम्बाङको निधनले संघीय संसदले विज्ञ गुमाएको बताउनुभयो । अहिलेपनि प्रतिनिधिसभाले ऐन, कानुन बनाउन बांकी रहेको भन्दै कानुन र संसदीय ज्ञान भएका व्यक्तिको निधनले ठूलो क्षति पुगेको बताउनुभयो ।

नेपाली कांग्रेस नेता शशांक कोइरालाले नेपाली राजनीतिले एक शालिन व्यक्तित्व गुमाएको बताउनुभयो । लोकतान्त्रीक गणतन्त्र स्थापनादेखि देशमा शान्ति कायम राख्न महत्वपुर्ण भूमिका निभाउनु भएका नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिका अतुलनिय रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता पम्पा भुसालले देशमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नेम्वाङको भूमिका स्मरण योग्य भएको बताउनुभयो । नेम्वाङले नेपालमा भएका पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न संविधानसभाबाट संविधान जारी गर्दा महत्वपुर्ण योगदान दिएको भन्दै उहां कुनै पार्टी भन्दा पनि नेपाली जनताका साझा व्यक्ति रहेको बताउनुभयो ।

श्रद्धाञ्जलीमा सहभागि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संघीय लोकतान्त्रीक गणतन्त्रणात्मक राज्य कायम गर्न नेम्बाङले महत्वपुर्ण भूमिका निभाएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले नेपालको बदलिदो राजनीतिक परिवेश र नयाा पार्टीहरुको पहिलो संसदीय यात्रामा आफूहरुलाई सहयोग गरेको बताउनुभयो । संसदीय मर्यादा पालनका विषयमा नेम्वाङबाट महत्वपूर्ण सहयोगमा पाएको बताउनुभयो ।

बरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायी टिकाराम भझ्राईले नेपालको संसदले अब्बल सदस्य गुमाएको बताउनुभयो । लामो समय कानुन व्यवसायमा आवद्धता भएका र कानुनका जानकार रहेका नेम्वाङले नेपाली राजनीतिमा कानुनी शासन स्थापित गर्न महत्वपुर्ण भूमिका निभाएको बताउनुभयो ।

नेम्वाङको निधनमा राजनीतिक नेता बाहेक पेशाकर्मी, उद्योगी–व्यवसायी, कलाकार, खेलाडी लगायत समाजका विभिन्न दुःख व्यक्त गरेका छन् । संविधान निर्माणमा अगुवाइ गरेका नेम्वाङ खासै विवादमा नआएपनि धर्मनिरपेक्षता घोषणाको सन्दर्भमा भने केही कोणबाट उनको आलोचना हुने गरेको छ ।


प्रतिक्रिया