सुवास नेम्वाङको राजनीतिक र संसदीय यात्राः सम्मानित बढी र कम विवादित

भाद्र २७, २०८० | काठमाडौं

मुलुकले २०६२–६३ को दोस्रो जनआन्दोलनपछिको संसदीय इतिहास र समग्र राजनीतिक घटनाक्रममा एक महत्वपूर्ण व्यक्तित्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई गुमाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि संविधान कार्यन्वयनको महत्वपूर्ण कालखण्डका दसीपात्र नेम्वाङको छवि संविधान–कानूनका ज्ञाता तथा संसदीय परिपाटीका अनुभवी र शालिन राजनीतिज्ञको छ । जनआन्दोलनको बलमा पुर्नस्थापित संसददेखि दोस्रो संविधानसभाबाट संविधान घोषणासम्म जनप्रतिनिधिमूलक संस्थाको नेतृत्व गरेका नेम्वाङको योगदानको अहिले विभिन्न कोणबाट समिक्षा र विश्लेषण भइरहेका छन् । 

धर्मनिरपेक्ष राज्यको घोषणा

२०४८ सालयता दुई पटक राष्ट्रियसभा सदस्य, दुई पटक संविधानसभाका अध्यक्षसहित चार पटक सभामुख, सार्वजनिक लेखा समितिको सभापति र पछिल्लो पटक समेत गरी लगातार ५ पटक निर्वाचन जितेर संसदीय प्रणालीका एक हिमायतिको परिचय सुवास नेम्वाङसँग जोडिएको छ । कानूनी पृष्ठभूमिका नेम्वाङले दोस्रो जनआन्दोलनको बलमा पुर्नस्थापित संसदको सभामुख हुँदै संसदीय प्रणालीको उपल्लो निकायको नेतृत्व पहिलो पटक गरेका हुन् । पुर्नस्थापित संसदबाट २०६३ जेठ ४ गते गरिएको ९ वूदे घोषणा नेपालमा गणतन्त्र बहालीको प्रस्थानविन्दू थियो । राजा र राजदरवारमा निहित अधिकार कटौती गर्दै सम्पूर्ण अधिकार संसदलाई दिने सो घोषणामा मुलुकलाई धर्म निरपेक्ष राज्य बनाउने उद्घोष गरिएको थियो । त्यतिवेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अस्वस्थ भएपछि सभामुख नेम्वाङले ९ वूदे घोषणा गरेका थिए ।

संविधान पारित भएको क्षण

पुर्नस्थापित संसदको जगमा उभिएर नेपालमा पहिलो पटक २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन भयो । सो चुनावबाट गठित संविधानसभाले औपचारिक रुपमा राजतन्त्रलाई विदा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा ग¥यो । तर पहिलो संविधानसभाबाट नयाँ संविधान बन्न नसकेपछि अर्को निर्वाचन भएर आएको संविधानसभाले २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गरेको थियो । पहिलो संविधानसभा विघटन भएको पृष्ठभूमिमा जनप्रतिनिधिमूलक संस्था जोगाउन पहल गर्न नसकेको भनि आलोचित उनै सुवास नेम्वाङले दोस्रो संविधानसभाको समेत नेतृत्व गर्ने मौका पाएका थिए । र, उनले दलहरुवीचको ठूलो रस्साकस्सीपछि तयार भएको संविधान पारित भएको घोषणा गरे  ।

नयाँ संविधानको हिमायति

पूर्वी नेपालको इलाममा जन्मिएर समय क्रममा वामपन्थी–लोकतान्त्रिक आन्दोलनमा होमिएका र कानूनका विद्यार्थी हुँदै संविधान निर्माणको अगुवाइ गरेका नेम्वाङले राजनीतिमा ऐतिहासिक अवसरहरु आत्मसात् गरे । र, उनी समाजवाद उन्मुख भनिएको संविधानको प्रमुख हिमायतिको रुपमा स्थापित भए । सभामुख र संविधानसभाको नेतृत्व गर्दा हरेक पटक सहमति–सहकार्य र एकता नेम्वाङको थेगो जस्तै थियो । फरक वैचारिक र सैद्धान्तिक पृष्ठभूमिका विद्रोही माओवादी र कंग्रेस–एमालेसहितका दलहरुबीच सन्तुलन मिलाउने चुनौतीमा अब्बल सावित भएका उनी संविधान कार्यान्वयनमा आउन सक्ने जटिलताप्रति सजग थिए । संविधान घोषणा हुँदै गर्दा नेम्वाङले संविधान कार्यन्वयनमा समेत दलहरुको प्रभावकारी सक्रियतामा जोड दिएका थिए  ।

क्रिस्चियन भएको आरोपको प्रतिवाद

कानूनको ज्ञाता भएकाले संवैधानिक जटिलता फुकाउन, शक्ति पृथकीकरण र विधिको शासनका लागि राज्यका निकायलाई अघि बढाउन योगदान गरेका नेम्वाङमाथि वर्तमान संविधानका आलोचक र हिन्दू राज्यका पक्षधरले भने धर्मनिरपेक्षताको सवालमा आरोप लगाउने गरेका छन् । आफूमाथि लागेको आरोपबारे सार्वजनिक रुपमा लामो समय मौनता साँधेका नेम्वाङले पछिल्ला दिनमा मात्र बोलेको पाइन्छ । उनले आफू क्रिस्चियन भएको भनी आरोप लगाउनेहरु नर्क जाने अभिव्यक्ति हालै आयोजित एक कार्यक्रममा दिएका थिए ।

राजनीतिक जीवनका नकारात्मक पक्षहरूः संसद विघटनमा मौनता !

राजनीतिक र पदीय जिम्मेवारीका क्रममा नेम्वाङका केही निर्णय र कदम आलोचना मुक्त भने छैनन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा दुई पटक गरिएको संसद विघटनको सशक्त प्रतिवाद गर्न नसकेको र पार्टीभित्र सधै जसो ओलीको हितमा मात्र काम गरेको आरोप उनीमाथि लागेको थियो । त्यस्तै, कानून व्यवसायीको रुपमा वार एसोसिएसनको महासचिव हुँदा दलगत राजनीतिलाई हावी गराएको, २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अदालतविरुद्ध पार्टीलाई आन्दोलित गराएको भन्दै उनको आलोचना भएको पाइन्छ ।

त्यस्तै, पहिलो संविधानसभा भंग हुँदा त्यसलाई रोक्ने पहल लिन नसकेको, बैठक नै सञ्चालन गर्न नसकि अनिर्णयको बन्दी भएको तथा संविधान निर्माणका क्रममा दल र तिनका नेताको छत्रछायाँमा परी फास्ट्र ट्रायकमा संविधान बनाउन सहयोगी भूमिका खेलेको लगायत आरोप र टिप्पणी नेम्वाङको राजनीतिक जीवनका नकारात्मक पक्ष हुन् । तर राजनीतिक नेतामाथि लाग्दै आएको राज्य स्रोतको दुरुपयोग र भ्रष्टाचारको आरोपबाट अलग हुनु उनको गुणी व्यक्तित्व मात्रै नभई सवैभन्दा ठूलो नैतिक धरातल हो । 


प्रतिक्रिया