नेपाली क्रिकेटको महाकुम्भ “एनपीएल”
मंसिर ७, २०८२ | काठमाडौं
यतिखेर नेपालमा क्रिकेटको माहोल छ । नेपाली क्रिकेटको महाकुम्भको उपमा पाएको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण चलिरहँदा मैदानभित्र र बाहिर यसको व्यापक चर्चा छ ।
८ टोली सहभागी प्रतियोगिताका झन्डै दुई दर्जन खेल पहिलो पटक फ्लडलाइटमा हेर्न पाउनुले समेत यो सिजन एनपीएलप्रतिको आकर्षण ह्वात्तै बढेको छ । जेन जी आन्दोलनपछि मुलुकको राजनीतिले नयाँ बाटो तय गरेका बेला आम नेपालीलाई खुशी दिने वहाना एनपीएल भएको कतिपयको बुझाइ छ ।
त्यस्तै, तीन सातासम्म चल्ने प्रतियोगितामा ८ टोलीको लगानी, प्रायोजन र खेल हेर्ने टिकटसँगै मैदान वरिपरिको आर्थिक गतिविधिले अर्थतन्त्रमा पनि केही टेवा पुग्ने देखिन्छ ।
मंसिर १ गते शुरु भएको एनपीएफका खेल हेर्न पुगेका दर्शकको हुन्टिङले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको माहोल तात्तिएको छ ।
२२ दिन संचालन हुने एनपीएल हेर्न दैनिक हजारौं दर्शक मैदान पुगिरेहका छन् । पहिलो दिन नै ९ हजार भन्दा बढी दर्शक म्याच हेर्न गएका थिए । र, हरेक दिन मन पर्ने फ्रेन्चाइज टिमलाई सपोर्ट गर्न विभिन्न नारा लेखेका प्ले कार्डसहित दर्शकले खेलको मज्जा लिइरहेका छन् ।
एनपीएलका खेल पहिलो पटक रात्रीकालिन समयमा फल्डलाइटमा गरेपछि रौनक थपिएको छ ।
विगतमा घाँसे मैदानमा बसेर खेल हेर्नुपर्ने बाध्यता हटेको छ भने प्यारापिट बनेको छ । सुरक्षाका लागि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपीएलले युवादेखि वयश्क र वृद्धवृद्धासम्मलाई तानिरहेको छ ।
रात्रीकालीन समयमा खेल भएपनि ढुक्कका साथ हेर्न पाएको कैलालीकी शान्ति भुसाल भन्छिन् ।
सबैजसो उमेर समूहका दर्शक टियु मैदानमा देखिएका छन् । आफ्नै घर नजिकैको मैदानमा यति ठूलो प्रतियोगिता आयोजना भईरहदा नहेरी बस्न नसकेपछि मैदानमै आइपुगेको बताउँछन् ५० वर्षिय मधुसुधन आचार्य ।
नेपालमा क्रिकेटको क्रेज उच्च छ । उद्धघाटन खेलको टिकट तीन दिनअघि नै सोल्ड आउट भएको थियो । टीयूको कूल क्षमता १२ हजार छ । यसपटक क्यानले टीयूमा दर्शकको सुविधाका लागि फ्यान जोन छुट्याएर टिकट विक्रि गरिरहेको छ । मैदानभित्रै गएर खेल हेर्ने मन भएपनि टिकट नपाएको गुनासो गर्नेहरु पनि छन् ।
दर्शक बढेसँगै क्यानले खेल हेरेर फर्किने तर आफ्नो सवारी साधान नभएका विषेश गरि महिला, वृद्ध र अशक्तहरुका लागि निशुल्क बस सेवा शुरु गरेको छ । त्यस्तै, त्रिवि मैदानमा ६ वटा फ्ल्ड लाइट जडान गरिएको छ । एउटा पोलमा ७० वटा लाइट गरेर सबै पोलमा ४ सय २० लाइट जडान भएका छन् ।
फ्ल्ड लाइटको उज्यालो आफ्नो घरदेखि देखेर उत्साहित हुँदै मैदानसम्म आइपुग्ने दर्शक पनि हामीले टियू मैदानमा भेट्यौं ।
व्यावसायिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाली खेलकुद इतिहासको अहिलेसम्मकै ठुलो बजेटको खेलकुद मेला हो । जसले २२ दिनको अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । एनपीएलका क्रममा रोजगारी, विज्ञापन बजारदेखि साना होटल, यातायात, चिया पसल, चटपटे पसल पानी पुरी बेच्नेसम्मलाई आम्दानीको मौका दिलाएको छ ।
धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग भएकोमा गत बर्षबाट शुरु गरिएको एनपीएलअहिलेसम्मकै सबैभन्दा ठूलो लिग हो ।
स्वदेशी र विदेशी खेलाडीको मिश्रित खेल शैली र प्रतिस्पर्धात्मक म्याचले एनपीएलप्रतिको आकर्षण फराकिलो बनाउँदै लगेको छ ।
एनपीएलको माहोलसँगै क्रिकेटका लागि सकारात्मक सन्देश दिएपनि केही दुःखद र अस्वभाविक घटना जोडिएका छन् । एनपीएलमा सट्टेबाजी गर्न खोजेको आरोपमा केही दिनअघि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तै, दर्शकसँग पाकिङमा शुल्क लिएको बिषयले विवाद जन्माएका छन् । त्यति मात्र होइन, आधिकारिक मिडिया चयनदेखि मैदानमा गरिएको केही कम्पनीको विज्ञापनलाई लिएर टिप्पणी भएको छ ।










