राज्यले देखेन नेत्रहीन क्रिकेटलाई
मंसिर १२, २०८२ | काठमाडौं
अपाङ्गता भएका व्यक्तिले समाजमा मर्यादित जीवन व्यतित गर्न नपाएको गुनासो अझै हट्न सकेको छैन । उनीहरुको अधिकार र सम्मानजनक जीवनका लागि राज्यका तर्फबाट प्रभावकारी कदमको माग भइरहेका छन् ।
तर कतिपय अपाङ्गता भएका व्यक्तिले पाएको सफलतालाई उदाहरणीय मानिएको छ । नेत्रहिन विश्वकप क्रिकेटमा नेपाली महिला टोलीको पछिल्लो सफलता त्यसको एक उदाहरण हो ।
स्रोत–साधन नभएपनि आफ्नो इच्छाशक्तिले खेलिरहेका नेत्रहीन महिला क्रिकेट टोली श्रीलंकाबाट विश्वकपको उपविजेता फर्किएको छ ।
सहयोगी दाताले दिएको चन्दाबाट रकम जोहो गर्दै विश्वकप खेलेको टोलीलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सद्भावको खाँचो छ ।
नेपाल हाल क्रिकेटमय छ । क्रिकेटप्रेमीहरुको ध्यान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा केन्द्रित भइरहँदा नेत्रहिन महिला क्रिकेट टोलीले श्रीलंकामा नयाँ इतिहास रच्यो ।
पहिलो पटक आयोजित दृष्टिबिहिन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा भारतसँग ८५ रनले पराजित भएर नेपाल उपविजेता बन्न सफल भयो ।
विश्वकपको फाइनलसम्म पुग्नु नै उपाधि जिते बराबर भएको राष्ट्रिय महिला नेत्रहिन क्रिकेट टोलीकी उपकप्तान बिनिता पुनले बताईन् ।
नेत्रहीन क्रिकेट खेलाडीहरुले पारिश्रमिकको त कुरै छाडौं, खेल्ने मैदानको समेत अभाव झेल्दै आएका छन् । त्यसैले यो सफलता चानचुने हैन ।
२०६३ सालमा नेत्रहीन क्रिकेट संघ स्थापना भएपछि छोटो समयमै नेत्रहीन क्रिकेटले मुलुकलाई अन्तर्राष्ट्रिय सफलता दिलायो ।
नेत्रहीन पुरुष क्रिकेट टोलीले सन् २०१२, २०१७, २०२१ र २०२४ मा टी–२० विश्वकपसँगै सन् २०१८ मा एकदिवसीय विश्वकप नै खेलिसकेको छ । तर, नेपालमा नेत्रहीन क्रिकेट कहाँ छ ? भनेर खोज्नुपर्ने अवस्था छ ।
वर्षमा एकाध नेत्रहीन क्रिकेट प्रतियोगिता भएपनि त्यो राष्ट्रिय स्तरका नभएको खेलाडीहरुको भनाई छ । कप्तान गीता पौडेल विश्वकप यात्रा नेपाली खेलाडीका लागि मात्रै नभएर नेत्रहिन महिला टोलीप्रति आम नागरिकको धारणा सकारात्मक बनाउन सफल हुने तर्क गर्छिन् ।
विगत १८ वर्षदेखि क्रिकेट खेल्दै आएकी उनले सन् २०२३ देखि राष्ट्रिय नेत्रहिन महिला टोलीको कप्तानी सम्हालेकी छिन् ।
विश्वकपका लागि संघले दुई चरणमा खेलाडी छनोट गरेको थियो । पहिलो चरणमा देशभरका ४२ जना नेत्रहिन महिलाहरुलाई समेट्दै हेटौंडामा चार दिनको प्रतिस्पर्धा गराइयो ।
सो प्रतियोगिताबाट छनोट भएका १९ जना मध्येबाट गत असोजमा १६ सदस्सीय अन्तिम टोली घोषणा गरिएको हो ।
विश्वकपका लागि भारतबाट प्रशिक्षक मगाएर एक महिना मात्रै तयारी गराइएको थियो । पहिलो संस्करणको महिला नेत्रहिन टी–२० विश्वकप नेपाल र भारतमा संयुक्त रुपमा आयोजना हुने भनिएपनि गत भदौंमा जेनजी आन्दोलन भएपछि सुरक्षालाई कारण देखाउँदै नेपालमा हुने खेल श्रीलंकामा सारिएको थियो ।
सातै प्रदेशमा संरचना भएको नेत्रहीन क्रिकेटको १० जिल्ला शाखा भए पनि नियमित प्रतियोगिता छैन । नेत्रहिन क्रिकेट संघले आफ्नै पहलमा वर्षमा कम्तिमा ८ प्रतियोगिता गर्दै आएको अध्यक्ष पवन घिमिरे बताउँछन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपनि संघ नेपाल पारा ओलम्पिक कमिटीमा आवद्ध छ । दुई संस्थाको विवादका कारण नेत्रहीन क्रिकेट गतिविधि चलायमान बन्न नसकेको उनी बताउँछन् ।
नेत्रहीन महिला खेलाडी विश्वकप खेल्न जाँदा समेत निकै सकस बेहोरेको घिमिरेले बताए । सहयोगी दाताबाट चन्दा संकलन गरेर प्रतियोगितामा जान सम्भव उनको भनाइ छ ।
नेपालले सन् २००९ मा विश्वमै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली निर्माण गरेर कीर्तिमान बनायो । तर टोलीलाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न त्यसको ५ वर्ष अनि विदेश भ्रमण गर्न १० वर्ष लाग्यो ।
नेपालले पाकिस्तानमा भएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज ४–० ले जित्यो । सीमित साधन स्रोतका बाबजुत नेपाली नेत्रहीन महिला क्रिकेट टोलीको सो योगदान प्रशंसायोग्य छ ।
नेत्रहीन क्रिकेट खेल्ने तरिका फरक छ । खेल्ने मैदान, पिच, ब्याट अरु क्रिकेटको जस्तै भएपनि यसमा बज्ने खालको बल प्रयोग हुन्छ, जुन सामान्य क्रिकेट बलभन्दा अलि ठूलो आकारको हुन्छ । स्टम्प केही ठूलो हुन्छ र त्यसमा छुँदा सजिलै पहिचान गर्न सक्ने गरी बनाइएको हुन्छ ।
नेत्रहीन खेलाडीलाई बी वान, बी टू र बी थ्री गरि विभिन्न स्तरमा विभाजन गरिएको हुन्छ । बी वानमा पूर्ण दृष्टिविहीन खेलाडी पर्छन् भने कतिसम्म देख्न सक्ने भन्ने आधारमा बी टू र बी थ्री मा खेलाडी विभाजन गरिएको हुन्छ । एउटा टिममा बी वानका चार, बी टू का तीन र बी थ्री का चार जना खेलाडी रहन्छन् ।
टी–२० र एकदिवसीय संरचनामा बलिङ गर्नका लागि पनि खेलाडीको स्तर अनुसारको नियम लगाइन्छ । टी–२० मा बी वान स्तरका खेलाडीले ८ ओभर बलिङ गर्न पाउँछन् । एकदिवसीयमा बी वान खेलाडीले १६ ओभरसम्म बलिङ गर्न पाउँछन् ।
नेपालमा नेत्रहीन क्रिकेटमा अहिले ५ सय ५३ जना पुरुष र २ सय ५० जना महिला खेलाडी छन् । अपाङ्गता भएका व्यक्तिको अधिकार र उनीहरुलाई मर्यादित जीवन दिलाउन राज्यका तर्फबाट पहल गर्नुपर्ने अवस्थामा छ ।
तसर्थ नेत्रहीन क्रिकेटले पाएको सफलतालाई अझ फराकिलो बनाउन सहयोग र सद्भावको खाँचो छ ।











