भूराजनीतिमा पाकिस्तानको बलियो उपस्थिति
मंसिर १३, २०८२
काठमाडौँ । भारत प्रशासित काश्मिरको पहलगाममा आतंकवादी हमलापछि भारत–पाकिस्तानबिच विवाद चर्किएर युद्ध भयो । चार दिन सीमामा भएको गोली बारुद र लडाकु विमान आक्रमणपछि अमेरिकाको हस्तक्षेपमा युद्धविराम भएपनि त्यसका बाछिटा अझै हटेको छैन । यस्तो परिस्थितिमा अमेरिका लगायत देशको सद्भावका कारण पाकिस्तान भूराजनीतिक मामिलामा विगतको तुलनामा बलियो बन्ने संकेत देखिएको छ ।
दी नाइन लाइभ्स अफ पाकिस्तानमा डेक्ल्यान वाल्स लेख्छन्, “सुन्नी समुदाय बाहुल्य भएको समाजमा पाकिस्तानको पिता भनेर चिनिने मोहम्मद अली जिन्ना भने सिया समुदाय थिए । उनले पार्सी समुदायकी महिलासँग विवाह गरेका थिए भने उनकी छोरी क्रिश्चियन थिइन् । लहलहैमा राजनीतिमा होमिएका जिन्नालाई सन् १९४० को दशकसम्म स्वतन्त्र पाकिस्तान चाहिएको छ कि छैन भन्नेसम्म पनि थाहा थिएन ।” पाकिस्तानको उदयबारे चर्चा गर्ने क्रममा वाल्सले यस्तो टिप्पणी गरेका हुन् ।
सन् १९४७ अगष्ट १४ को मध्यरातमा ब्रिटिश राजबाट मुक्त भएर पाकिस्तानको जन्म भएको थियो । पाकिस्तान स्वतन्त्र भएपनि भारतसँग उसको टकराव कायमै रह्यो । मुस्लिम समुदायको आफ्नै मुलुक बनाउने सपना देखेर सुरु भएको अभियानको नेतृत्व जिन्नाले गरे । उता भारतको नेतृत्व जवाहरलाल नेरु र महात्मा गान्धीले गरे । आफ्नो देशबाट पाकिस्तानमा जान चाहने मुस्लिमलाई अनुमति दिन र पाकिस्तानबाट आउन चाहने हिन्दुलाई भारत प्रवेशका लागि अनुमति दिन नेरु र गान्धिबीच सहमति भयो । तर पार्टीसनको नामले चिनिने सो बसाइँसराइँमा धार्मिक हिंसाका कारण धेरै हिन्दु र मुस्लिम मारिए । त्यसबेलादेखि जारी भारत–पाकिस्तान द्वन्द्व आज पर्यन्त कायमै छ ।
बेलायतले पञ्जाब र काश्मिर राज्यका हिस्सा भारत र पाकिस्तानमा बाँडिदिएपछि काश्मिरलाई लिएर भारत र पाकिस्तानबिच लडाइँ भइरहने गर्छ । पाकिस्तान र भारतबिच अहिलेसम्म ५ पटक लडाइँ भइसकेको छ । सन् १९४७ मा काश्मिर क्षेत्रलाई लिएर भएको लडाइँ सन् १९४८ मा सकिएको थियो । यद्यपि, सन् १९४९ मा युद्ध विराम भंग भएपछि भारत र पाकिस्तान दुवैले काश्मिरमा छुट्टाछुट्टै प्रशासन स्थापना गरेका थिए । त्यसपछि सन् १९६५ मा पाकिस्तानले अप्रेसन चलाएपछि काश्मिरमा उत्पन्न विवाद एक बर्षपछि सम्झौतामार्फत् सकियो । तर सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तानी र हालको बंगलादेशको स्वतन्त्रताको माग गर्दै भारत पाकिस्तानबिच फेरि युद्ध भयो । अन्ततः बंगलादेश स्वतन्त्र राज्य बन्यो । सन् १९९९ मा भारतको रणनीतिक क्षेत्रमा मानिने कार्गिलमा यी दुई मुलुकबिच युद्ध भयो । कार्गिल युद्धको नामले सो युद्ध चर्चित छ ।
सन् २०२५ अप्रिल २२ मा काश्मिरको लाइन अफ कन्ट्रोल एलओसी नजिक काश्मिर पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिए । त्यसपछि भारतले मे ७ देखि १० तारिखसम्म सिन्दुर अप्रेसन गर्दै पाकिस्तानका ९ क्षेत्रमा आंतकवादीको इलाका लक्षित गर्दै आक्रमण गर्यो । युद्ध कतिसम्म चर्कियो भने दुवै मुलुकले एकअर्काका स्थलदेखि हवाई सबै आवागमन बन्द गरे र कूटनीतिज्ञलाई समेत आफ्ना देशबाट निस्कन आदेश दिए । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपमा भारत–पाकिस्तानबिच युद्ध विराम भयो । तर युद्धको बाछिटा अझै कायमै छ । आन्तरिक मुद्धाले सबै जसो दक्षिण एशियाली मुलुक प्रभावित भएका बेला भारत र पाकिस्तानको तनावले क्षेत्रीय अस्थिरतालाई बढाउने चिन्ता व्यक्त भएका छन् । श्रीलंकामा तत्कालीन राष्ट्रपति गोटावाय राजपाक्षेको सत्ताच्यूत, बंगलादेशमा शेख हसिना सरकारको पतन र नेपालमा जेनजी आन्दोलनको विद्रोहपछि नयाँ राजनीतिक परिदृश्य दक्षिण एसियाका पछिल्ला घटनाक्रम हुन् । योसँगै पाँचौ पटक भारत–पाकिस्तान युद्ध र नेपालसहित मालदिभ्स, बंगलादेश, श्रीलंकासँग चिसिएको कूटनीतिक सम्बन्धले भारतलाई केही दवाव दिएको छ ।
आर्थिक र राजनीतिक संकटले गाँजिरहेको पाकिस्तानमा कुनै पनि बेला श्रीलंका वा बंगलादेशजस्तो संकटमा पर्न सक्ने आँकलन गरिरहँदा पाकिस्तान भारतसँग युद्धमा होमियो । सो युद्धमा पाकिस्तानको कूटनीतिक, शक्ति र सामथ्र्यको राम्रै परीक्षा भएको छ । भारत–पाक युद्धको केही समयअघि नै मेमा अमेरिकाले पाकिस्तानका १९ नीजि कम्पनीलाई असुरक्षित आणविक मिसाइल कार्यक्रम गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । त्यति मात्र नभई अमेरिकाले पाकिस्तानको लागि भिसा कडाइका साथै आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नजान ट्राभल एड्भाइजरी जारी गरेपछि अमेरिका–पाक सम्बन्धमा चिसोपना आएको सजिलै बुझ्न सकिन्थ्यो । त्यसमाथि भारतसँग युद्ध भएपछि पाकिस्तान झनै ‘अफ्ठ्यारो पोजिसन’ मा परेको अनुमानको ठिक विपरित पाकिस्तानले आफू अनुकूल भूराजनीतिक परिस्थिति सिर्जना गरेको छ । दवावबीच पाकिस्तानले अमेरिकासँगको बिग्रिएको सम्बन्ध सुधारेको छ ।
विज्ञहरुका अनुसार पाकिस्तान र अमेरिकाको कहिले मित्रता त कहिले शत्रुतापूर्ण सम्बन्ध कुनै नयाँ होइन । सन् १९५० को दशकमा पनि शीत युद्ध कालिन समयमा अमेरिकाले पेशावरमा गोप्य सैन्य वेस राखेको थियो । सन् १९८० को दशकमा अफगानिस्तानबाट तत्कालिन सोभियत युनियनको उपस्थितिलाई हटाउन अमेरिका र पाकिस्तान एक भएर लागेका थिए । तर सन् १९८९ मा अफगानिस्तानमा विजयको एक वर्षपछि अमेरिकाले पाकिस्तानमा आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्ध लगाएको थियो । यद्यपि, त्यसको ८ वर्षपछि भारतसँग भएको आणविक औजारको उत्तर दिन पाकिस्तानले आणविक परिक्षण गरी छाड्यो । समयक्रममा सन् २००१ मा न्यूयोर्कमा ट्वीन टावरमा भएको आतंकवादी हमलापछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले सुरु गरेको आतंकवादविरुद्ध अभियानमा पाकिस्तानले समर्थन गर्यो । अफगानिस्तानविरुद्धको युद्धमा अमेरिकालाई पाकिस्तानको साथ चाहिएको थियो । ओसामा विन लादेनको खोजीमा अमेरिकाले कराँची हुँदै आफ्ना गतिविधि अगाडी बढायो । जसमा पाकिस्तानले एफ सीक्स्टीन लडाकु विमान र अरबौँ डलर सहयोग पनि पायो । यो विगतको घटना थियो । तर ओसामा विन लादेन ८ वर्षपछि अफगानिस्तानमा नभई पाकिस्तानमा भेटिएपछि बिग्रिएको सम्बन्ध अहिले पुनः सुमधुर भएको छ । अमेरिकाले भारत–पाक युद्धमा पाकिस्तानको पक्ष लिनु र पाकिस्तानका प्रधानसेनापति एवम् फिल्ड मार्सल असिम मुनिरसँग तीन महिनाका दौरान दुई पटक भेट्नुले उनीहरुबीचको सम्बन्धमा सुधारका संकेत देखिएका छन् । गत जुन १८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मुनिरसँग भेटेपछि दोस्रोपटक सेप्टेम्बर २५ मा उनलाई पुन ओभल अफिसमा भव्य स्वागत गरेका थिए । त्यसको सन्देश दिल्लीमा पक्कै गएको छ । कतिसम्म भने ट्रम्पले खुलेरै मुनिरको प्रशंसा र प्रधानमन्त्री सवाज सरिफलाई ह्वाइट हाउसमा भेट तथा इजरायल–गाजा युद्धविरामका लागि उनले राखेको प्रस्तावलाई विश्व मुस्लिम सहमतिको रुपमा लिँदै ट्रम्प प्रशासनले सहर्ष स्वीकारेको थियो ।
यसैबीच, सेप्टेम्बर १७ मा साउदी अरबले रणनीतिक साझेदारको रुपमा पाकिस्तानसँग द्विपक्षीय रक्षा सम्झौता गर्यो । यसले पश्चिम एशिया सुरक्षामा पाकिस्तानको स्थितिलाई बलियो बनाएको छ । यता चीनले पाकिस्तानलाई ‘फलाम जस्तै दरिलो साथी’ तथा ‘सबै मौसमको साथी’ भन्दै प्रशंसा गरेर पाक–चीनको सम्बन्धको गहिराइ प्रष्ट पारेको छ । फेरि भारतसँगको हालैको युद्धपछि चीन, इरानले खुलेरै पाकिस्तानको समर्थनमा बोलेका थिए । यता भारतले सिन्दुर अप्रेसनको सार्थकता प्रमाणित गर्न सात सर्वदलीय प्रतिनिधिमण्डल पठाएको थियो । ३२ मुलुकमा भ्रमण गरेको सो टोलीले ती मुलुकबाट त्यस्तो कुनै समर्थन जुटाउन सकेन । यस्तै, भारतले अहिलेसम्म पहलगाममा भएको आतंकवादी हमलामा कसले र कसरी गर्यो भनेर स्पष्ट नाम किटान गर्न सकेको छैन । उल्टै ट्रम्पले बारम्बार आफूले भारत–पाक युद्ध मिलाएको उद्घोष गरिरहे । र, काश्मिर विवाद सल्ट्याउन अमेरिका तयार रहेको भन्दै पहिलोपटक काश्मिरको विषयलाई आन्तरिक नभई अन्तर्राष्ट्रियकरण समेत गरिदिए । यी सबै पछिल्ला रणनीति हेर्दा पाकिस्तानले आफूलाई दरिलो भूराजनीतिक खेलाडीको रुपमा उभ्याएको छ । आन्तरिक लोकतन्त्र बलियो बनाउन र राजनीतिक संकटसँग जुधिरहेको पाकिस्तानको भूराजनीतिक उपस्थिति भने क्षेत्रीय रुपमा बलियो बन्दै गएको देखिन्छ ।











