दसैँ नजिकिँदै गर्दा बजार सुनसान

आश्विन १२, २०८० | काठमाडौं

दसैं तिहार तथा छठपर्व जस्ता ठूला चाडपर्व नजिकिँदा समेत काठमाडौंका मुख्य व्यापारिक क्षेत्र सुनसान देखिएका छन् । विगतका वर्षमा दसैं नजिकिएसँगै न्युरोड, असन, इन्द्रचोकका बजारमा भीडभाड हुने पसलहरुमा यसवर्ष सुनसान छ । उपत्यकाको व्यापारिक केन्द्र भनेर चिनिने यी स्थानहरु अरु बेलापनि साँझको समयमा निकै भिड हुने क्षेत्र हो । आर्थिक मन्दिका कारण आम उपभोक्ताको क्रयशक्तिमा सिधै असर परेका कारण ब्यवसाय प्रभावित भएको सम्बद्ध व्यवसायीको गुनासो छ ।

दसैं नजिकिँदा खचाखच हुने काठमाडौंको असन बजारमा किनमेल सामाग्रीहरुको खरिदबिक्रि गर्नेको संख्या न्यून छ । कोरोना महामारी अगाडिका दसैंमा सामान खरिद गर्न आउने उपभोक्ताहरुबाट गुणस्तरीय सामानको माग उच्च हुने भएपनि अहिले सस्तो सामान खोज्ने ग्राहकहरु बढेको पिके फेन्सी स्टोरका कृष्ण बरालले बताए । अहिले हरेक सामानमा मुल्यवृद्धि भएका कारण मोलमोलाइमा बढि समय खर्चिनु परेको ब्यवसायीको अनुभव छ । विगत १५ वर्ष देखि असनमा व्यापार गर्दै आएका ५५ वर्षीय बरालले अहिले ग्राहकको चित्त बुझाएर सामान बिक्रि गर्न झन्झटिलो हुन थालेको सुनाए । उनले भने, “पहिला धेरै मोलमोलाई हुँदैन थियो अहिले सामानको भाउ पनि एकदम महङ्गो छ । उपभोक्ताहरुले विगतका वर्षहरुको मुल्यमा सामान खोज्ने गरेकाले सामान विक्रि गर्न कसरत गर्नुपरेको छ ।”

सात वर्षदेखि असनमा खाद्यान्न व्यवसाय गर्दै आएका बालकृष्ण महर्जनको पनि गुनासो उस्तै छ । पहिले र अहिलेको व्यापारलाई दाँज्न नमिल्ने महर्जनले बताए । मानिसहरुको आवत जावत बाक्लै भएपनि महङ्गीले व्यापार सुस्त भएको व्यवसायीहरु बताउँछन् । चाडपर्वको मुखैमा अतिआवश्यक सामाग्रीको मुल्य आकासिँदा थोरै खर्चमा आफनो भान्सा चलाउन उपभोक्ता बाध्य भएको महर्जनको भनाई छ । उनले भने, “दिन प्रतिदिन खाद्यान्न सामाग्रीको भाउ बढेकाले धेरै सामान लैजाने ग्राहकले अहिले कम सामान खरिद गर्ने गरेका छन् ।”

विगतका वर्षहरुमा विद्युतीय उपकरणको व्यापार उच्च हुने गरेपनि यस वर्ष सुस्तता देखिएको छ । चाडपर्वमा विभिन्न कम्पनीले फ्रिज, टिभी वासिङ मेसिन, ल्यापटप जस्ता उपकरणहरुमा छुट दिएपनि ग्राहक आकर्षित नभएको असनस्थित सर्मिला इन्टरप्राईजेजका प्रदिप श्रष्ठले बताए । सहकारी, सेयर बजार तथा घरजग्गा क्षेत्रमा देपखएको आर्थिक संकटको प्रत्यक्ष असर विद्युतीय उपकरण सामाग्रीको कारोबारमा पनि परेको छ । विद्युतिय सामाग्री अति आवश्यक वस्तुमा नपर्ने हुँदा ब्यापारमा मन्दि छाएको श्रेष्ठ बताउँछन् । उनले भने, “आर्थिक संकटका कारण विद्युतीय सामाग्रीको बजारमाा निकै सुस्त छ । व्यापार कम भएकाले गर्दा मुल्य कम भएको हो । ”

दसैंका लागि आवश्यक पर्ने खाद्य सामाग्री तथा लत्ताकपडा मुल्य दोब्बरले बढेको बालाजुका हुकुम सञ्जेलको अनुभव छ । महङ्गीले उपभोक्ताको ढाड सेकेका बखत सरकारका तर्फबाट दिइने सहुलियत, बजार अनुगमन जस्ता कार्यक्रमबाट पनि राहत महसुश गर्न नसकेको सञ्जेल सुनाउँछन् । राज्यले न्यून आय भएकालाई ध्यानमा राखेर चाडवाडमा सहुलियत, राहत लगायतका प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने सञ्जेलको भनाई छ ।“पहिलाको जस्तो सहुलियत छैन् हरेक सामानमा अहिले मूल्य दोब्बर भएको छ । उपभोक्ताहरुले किनेर खान सक्ने अवस्था छैन् । मध्यम आय भएका नागरिकका लागि पनि दसैं हर्षउल्लास जस्तै भईदियोस । ”

रुस युक्रेन युद्धको बाछिटाले विश्व नै आर्थिक मन्दिको चपेटामा परेको छ । नेपाल जस्तो आयतमुखी अर्थतन्त्र भएका देशमा मूल्य सोचेभन्दा बढी हुनु, सरकारका तर्फबाट सहजरुपमा आर्थिक गतिविधी चुस्त बनाउन उचित कदम नचालिँदा उपभोक्ता तथा व्यवसायीले सास्ती भोग्नु परेको छ । त्यसैले पनि चाडबाड नजिकिँदा समेत बजार तात्न सकेको छैन । 


प्रतिक्रिया