तराई क्षेत्रमा कुल क्षयरोगीको ६० प्रतिशत !

चैत्र ११, २०८०

नेपालमा वर्षेनी ७० हजार क्षयरोगका नयां बिरामी थपिने गरेको सरकारी तथ्यांक छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रका अनुसार नेपालमा संक्रमणका कारण मृत्यु हुने प्रमुख रोग मध्ये क्षयरोग पनि एक हो । केन्द्रको तथ्यांक अनुसार भौगोलिक रुपमा तराई क्षेत्रमा ६० प्रतिशत क्षयरोगका बिरामीहरु दर्ता भएका छन् । यस्तै प्रादेशिक स्तरमा ६८ प्रतिशत बिरामीहरु मधेश, वाग्मती र लुम्बनी प्रदेशमा दर्ता भएको केन्द्रले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले आर्थिक वर्ष २०७९÷२०८० मा नेपालमा ७० हजार क्षयरोगका नयां बिरामी थपिने र १८ हजार जनाको मृत्यु हुने अनुमान गरेको थियो । सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले ३७ हजार ४ सय ४७ जना क्षयरोगका बिरामीहरु दर्ता गरेको तथ्यांक छ । जसमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेको राष्टिय क्षयरोग निवारण केन्द्रले जनाएको छ । तीमध्ये ७२ प्रतिशत फोक्सोको बिरामी र २८ प्रतिशत फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोगका बिरामीहरु रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रका प्रमुख छाती रोग विशेषज्ञ डा नविन प्रकाश साह क्षयरोग पहिचानका लागि केस फाइन्डीङ मुुुख्य चुनौतीका रुपमा रहेको बताउंछन् ।


राष्टिय र विश्वव्यापी प्रतिबद्धता अनुरुप नेपालले क्षयरोग विरुद्धको लडाईलाई साकार पार्नका लागि सन् २०२१–२२ देखि २०२५–२६ सम्मको बृहत राष्टिय रणनीतिक योजना तयार पारेको छ । यस्तै राष्टिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी नेपालले नयां बिरामी दर र मृत्युदर घटाउने , सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । यस्तै सन् २०५० सम्ममा क्षयरोगको निवारण गर्ने र क्षयरोग निदान उपचारमा लाग्ने अधिक आर्थिक व्यय भार लाई शून्यमा झार्ने पनि सरकारको लक्ष्य छ । तर यी सबै लक्ष्य पूरा गर्न सम्बन्धित पक्षले प्रभावकार्यक्रमको प्रभावकारितालाई मध्यनजर गर्दै तदारुकताका साथ काम गर्नुपर्ने देखिन्छ । 


प्रतिक्रिया