कृत्रिम रुपमा पकाइएको आँप विक्रि हुन सक्ने भन्दै सचेत रहन विज्ञको सुझाव

जेष्ठ १४, २०८१ | काठमाडौं

गर्मीको यो मौसम आँपको सिजन हो । देशका विभिन्न भागमा फलेका र विदेशबाट ल्याइएका आँप बजारमा पर्याप्त रुपमा पाइन्छ । आम उपभोक्ताको रोजाइमा पर्ने फलफूलमध्येको एक आँपको विक्री बढिरहँदा यसको गुणस्तरबारे भने आशङ्कका देखिएका छन् । रसायनिक पदार्थ प्रयोग गरी कृत्रिम तरिकाले पकाएर बजारमा ल्याइएका आँप खाँदा स्वास्थ्यलाई हानी गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

नेपालमा फलफूलको खेती हुने क्षेत्रफल मध्ये आँपले झन्डै ५० हजार हेक्टर भूभाग ओगटेको सरकारी तथ्याङ्क छ । जस्मा किसानले वर्षेनी आँप खेती लगाउने गरेका छन् । आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार नेपालमा ५२ हजार ४ सय ४९ हेक्टर क्षेत्रफलमा आँप लगाइएकोमा ५ लाख १३ हजार मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै २०७८÷७९ मा झन्डै ५३ हजार ५ सय हेक्टर क्षेत्रफलमा आँप लगाईएकोमा ४ लाख ९८ हजार ८ सय ५९ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै अर्थिक वर्ष २०८०÷८१ मा अहिलेसम्म ३ लाख ८६ हजार ८ सय ३० दशमलव ६६ मेट्रिक टन आँप उत्पादन भएको छ ।

मुलुकभरका २४ जिल्लामा व्यवसायिक रूपमा आँप खेती हुने गरेको सरकारी तथ्याङ्कले देखाएको हो । त्यस्तै नेपालमा आँप सबैभन्दा बढी उत्पादन मधेश प्रदेशमा हुने गरेको जानकारहरू बताउँछन् । उनिहरुका अनुसार नेपालमा अगौटो, मध्यम र हाइब्रिड गरी झण्डै डेढ दर्जन भन्दा बढी प्रकारका आँपहरू फल्ने गर्छन् । जस्मा आँपका ५ देखि ६ वर्षका बोटहरूमा २० देखि ३० वटा फल लाग्ने र बाह्र वर्ष नाघेका बोटमा प्रति वर्ष २ हजार ५ सय वटा आँप फल्न सक्ने र २० वर्षभन्दा बढी उमेरका बोटबाट २ हजार देखि ४ हजार आँप प्रति बोट फल्न सक्ने राष्ट्रिय फलफूल विकास केन्द्रको भनाई छ । यतिबेला आँपको सिजन भएकाले बजारका जताततै थुप्रै किसिमका आँपहरु पाइन्छ ।

बजारमा पाइने कतिपय आँप खान योग्य छन् वा छैनन् भन्ने सवाल उठेको छ । प्राकृतिक रूपमा पाक्नु अघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै गुणस्तरप्रति उपभोक्ताहरू सचेत हुनुपर्ने विज्ञहरूको भनाई छ । कृषि विज्ञ राम वहादुर केसीका अनुसार सिजनभन्दा अगाडि बजारमा आएका हरेक फलफुलहरुमा रसायनिक पदार्थ प्रयोग गरीएको हुन्छ । त्यसैले सिजनभन्दा अगाडि बजारमा आएका आँप खादा सावधानी अपनाउनुपर्ने अवस्था सृजना भएको छ ।

काँचो आँपलाई क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ प्रयोग गरेर पकाउने हुदाँ यस्ता आँप खादाँ स्वास्थ्यका लागि हानिकारक हुने र यसले मानिसको स्वस्थ्यमा प्रत्यक्ष असर पर्ने विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार आँप फलेपछि छिट्टोमा जेठको अन्तिम देखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ । तर, अहिले बजारमा समयभन्दा अगाडी नै पाकेको आँप विक्रि भइरहेको बताइन्छ । कृत्रिम रुपमा पकाईएका आँप खादा मानिसको स्वास्थ्यमा विभिन्न किसमका रोग सँगसँगै तुरुन्तै देखिने असरले गर्दा समस्या निम्त्याउन सक्ने काठमाण्डौं महानगरपालिकाको स्वास्थ्य विभागका डाक्टर दिवस न्यौपाने बताउँछन् ।

बजारमा अहिले बिक्री भइरहेको आँपको गुणस्तरबारे अनुगमन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । गत वर्ष ३ सय नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक जिल्लामा २ वटा स्थानमा मात्रै कार्बाइड प्रयोग भएको फेला परेको विभागको भनाई छ । तर, यस वर्ष भने बजारमा निस्कीएका आँपमा रसायनिक पदार्थ प्रयोग भएको छ या छैन भनेर विभागको टोली बजारमा पुगेर अनुगमन गरीरहेको सो कार्यलयको भनाई छ । विभागका अनुसार यदि बजारमा पाईएका आँपमा रसायनिक पदार्थ प्रयोग गरी पकाईएको पाईए कानून बमोजिम कारबाही हुने गरेको छ । बजारको माग धान्न भारतसहितका अन्य देशबाट समेत नेपालमा आँप भित्रिने गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सीमा नाकाबाटै जाँच गरी आयात गरिएको हुनाले फलफूलमा कार्बाइड प्रयोगको सम्भावना निकै कम रहेको दाबी गरे ।

आँप पकाउन प्रयोग गरिने क्यालसियम कारबाइड सस्तोमा पाइने भएकाले त्यसको प्रयोग उच्च रहेको विज्ञहरु बताउँछन् । त्यसैले आम उपभोक्ताको रोजाइमा पर्ने आँपको गुणस्तर जाँच्न सम्बन्धीत निकायले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । 


प्रतिक्रिया