टी-२० विश्वकपका लागि राष्ट्रिय टोलीसँगै सिंगो नेपाल तयार

जेष्ठ २१, २०८१ | काठमाडौं

नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्दै नवौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटको सुरुवात गर्दैछ । नेपाली समयानुसार भोलि हुने खेल अमेरिकास्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा हुनेछ । सन् १९९६ मा आईसीसीको एसोसिएट सदस्य बनेको नेपालले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले टी–२० विश्वकपमा डेब्यू गरेको थियो । त्यसबेला नेपाली टोलीको नेतृत्व पूर्वकप्तान पारस खड्काले सम्हालेका थिए । यस पटक नेपाली टोलीको कप्तानी २१ वर्षिय रोहितकुमार पौडेलले सम्हाल्ने छन् ।

सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप खेल्दै गर्दा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल दर्शकको भूमिकामा थिए । तर, नवलपरासीका २१ वर्षिय रोहितले यू–१९ विश्वकप खेल्ने सपना गुमाए पनि सिनियर टोलीको नेतृत्व गर्दै नयां अध्यायको शुरुवात गर्दैछन् ।

५ वर्षअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्स यूएईविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनी सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कप्तान पनि हुन् । नेपालले एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने र टी–२० विश्वकपमा फर्किने सपना पूरा गरेका कारण पनि उनको कप्तानी विशेष बनेको छ । विश्वकपका लागि आफूसँगै पूरै टीम मात्र नभई सिंगो नेपाल नै उत्साहित रहेको रोहित बताउँछन् ।

रोहितले ४९ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा, १ हजार १ सय ८ रन बनाएका छन् । उनीसँगै विश्वकप खेल्ने टोलीमा कुशल भुर्तेल, सुन्दिप जोरा, दिपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, कुशल मल्ल, आशिफ शेख, अनिलकुमार शाह, अभिनाश बोहरा, कमलसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, प्रतिश जिसी, सागर ढकाल र सोमपाल कामी छन् । यी मध्ये सोमपाल एक्ला खेलाडी हुन्, जसले दोस्रो पटक विश्वकप खेल्दै छ । टोलीमा मुख्य बलरको जिम्मेवारी निर्वाह गरिरहेका सोमपालले ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा, १ हजार ४ सय ६५ रन बनाउँदा, ५८ विकेट लिएका छन् ।

युवा खेलाडीले भरिएको नेपाली टोलीले विश्वकपअघि अमेरिका र वेस्ट इन्डिजमा अभ्यास खेल खेलेको थियो । विश्वकपको तयारीका लागि भन्दै खेल हुने मध्ये २ मैदानमा प्रशिक्षणका साथै अभ्यास खेल खेल्न नेपाली टोली एक महिनाअगावै अमेरिका गएको थियो ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्न नसकेको र लय गुमाएको नेपालको अर्को चिन्ता ओपनिङ ब्याटिङको छ । पछिल्ला केही खेलमा ओपनर कुशल भुर्तेलको प्रदर्शन निराशाजनक छ । एसीसी प्रिमियर कपमा उनी लगातार तीन खेल शून्यमै आउट भए । वेस्ट इन्डिजको ए टीमसँग घरेलु मैदानमा खेलेको टी–२० सिरिजको चार खेलमा कुशलले मात्र ३२ रन जोडे । 

सेन्ट भिन्सेन्ट र ह्युस्टनमा स्थानीय टोलीसँग खेलिएको अभ्यास खेलमा चल्न नसकेका उनले क्यानडाविरुद्धको अभ्यास खेलमा पनि १० रन मात्र बनाउन सके । कुशलको ओपनिङ जोडी आसिफ शेखले पनि पछिल्ला ६ खेलमा एक मात्र अर्धशतक बनाएका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेनन् । ओपनर ब्याटर यी दुईले सन् २०२१ अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टी–२० सिरिजमा पहिलो विकेटमा १ सय १६ रन जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार डेब्यु गरेका थिए । तर, यस्ता नतिजाले नेपाललाई केही असर भने गर्ने छैन । किनकी नेपालसँग गुुमाउँनुपर्ने कुरा केही छैन । त्यही भएर नेपाली टिमले प्रशिक्षण गर्ने हिसाबले पनि खुलेर खेल्न सक्छ ।

विश्वकपका लागि उच्च मनोबलका साथ तयारीमा जुटेको नेपाल रहेको समूह डी मा तीन टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँगै विश्वकपमा सोझै छनोट भएको नेदरल्यान्ड्स छ । यी बलिया टोलीविरुद्ध खेल्दै विश्व क्रिकेट जगतमा आफूलाई स्थापित गर्न सके नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लने छ । ठूला इभेन्टमा बलिया टोलीलाई हराउन सके नेपाली क्रिकेटले विश्व जगतमा आफ्नो छुट्टै पहिचान निर्माण गर्नेमा कुनै शंका छैन । नेपालले पहिलो खेलबाटै विश्वकपमा लय समात्ने लक्ष्य राखेको छ ।

टी–२० विश्वकपको सुरुवाती तीन संस्करणका लागि छनोट खेल्ने अवसर नै नपाएको नेपालले सन् २०१२ मा वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप छनोट खेल्ने अवसर पायो । नेपाल एसिसी टी–२० प्रतियोगितामा शीर्ष चारमा परेसँगै छनोटमा पुगेको थियो । संयुक्त अरब इमिरेट्स युएईमा भएको छनोट खेलमा नेपाल सातौं भएको थियो ।

सन् २०१४ का लागि भएको विश्वकप छनोटको समूहमा तेस्रो हुँदै नेपाल प्लेअफमा पुगेको थियो । प्लेअफको पहिलो खेलमा हङकङलाई पराजित गर्दै नेपाल विश्वकपमा पुगेको थियो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भए पनि नेपालले तेस्रो स्थानको खेलमा युएईलाई पराजित गरेको थियो । सन् २०२४ को विश्वकपमा छनोट हुन नेपाल चार टोली सम्मिलित समूहमा सुरुमा शीर्ष दुईमा प¥यो । घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले दोस्रो पटक सहभागीता जनाएको विश्वकप पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा आयोजना भएको हो ।

यता पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स सन् २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । नेदरल्यान्ड्स सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा शीर्ष ८ भित्र पर्दै विश्वकपमा सोझै छनोट भएको हो । पहिलो, तेस्रो र चौंथो संस्करण नखेलेको नेदरल्यान्ड्स बाँकी सबै संस्करणमा सहभागी भए पनि उसले विश्वकपको उपाधि भने उचाल्न सकेको छैन । सन् १९६६ मा आईसीसीको एसोसिएट सदस्यता लिएको नेदरल्यान्ड्सले सन् २०१४ मा टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो । विश्वकपअघि नेदरल्यान्ड्सले स्कटल्यान्ड र आयरल्यान्ड सम्मिलीत सिरिज खेलेको थियो । 

सो सिरिजमा स्कटल्यान्डविरुद्ध एक खेल जित्दा एकमा हार व्यहोरेको नेदरल्यान्डले आयरल्यान्डसँगको दुवै खेलमा हार व्यहोरेको थियो । यस्तै, श्रीलंकासँगको वार्म अप म्याच जितेको नेदरल्यान्ड्सले क्यानडाविरुद्धको खेल वर्षाका कारण खेल्न पाएन । नेदरल्यान्ड्स २७ वर्षका अष्ट्रेलियाली डच क्रिकेटर स्कट एड्वार्ड्सको कप्तानीमा मैदान उत्रने छ । उनले ६० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा, ७ सय ३७ रन बनाएका छन् ।

पछिल्ला ५ खेलमा नेदरल्यान्ड्सले ३ तथा नेपालले २ खेल जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्सले जितेको थियो । युवा खेलाडीले भरिएको नेपाली टीम विश्वकपका लागि उत्साहित छ । यति ठूलो प्लेटफर्ममा आफ्नो क्षमता प्रस्तुत गर्न र विश्वलाई नेपाली क्रिकेटबारे थप जानकारी दिन नेपाली टीम तयार छ । नेपालले क्रिकेटमा प्राप्त गर्ने यो नै सबैभन्दा बृहत थलो हो । जहां पुगेरै पनि टोलीले आफ्नो छुट्टै र अग्लो मानक निर्माण गरिसकेको छ ।


प्रतिक्रिया