चिसो सुरु भएसँगै संक्रामक रोगको जोखिम बढ्दो
मंसिर ६, २०८१ | काठमाडौं
चिसो सुरु भएसँगै ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी संक्रमणका बिरामी बढ्न थालेका छन् । चिसोले धेरैजसो बालबालिका र वृद्धवृद्धालाई बढी मात्रामा सताउने गरेको चिकित्सकले बताएका छन् । सावधानी नअपनाउँदा चिसोकै कारण कतिपयको ज्यान समेत जाने गरेको छ । चिसोबाट बच्न शरीरको पहिरन र खानपानमा बढी ध्यान दिनुुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।
जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । चिसो बढेसँगैै शरीरको तापक्रम घट्ने हुँदा कहिलेकाहीँ बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्ने भएकाले समेत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकहरुको भनाई छ । त्यस्तै, जाडो मौसममा मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न बढी रुचाउने हुँदा शारीरिक गतिविधि कम हुने र आवश्यक व्यायाम पनि नगर्दा शरीर निष्क्रिय भएका कारण समेत विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने उनीहरुको भनाई छ ।
चिसो बढेसँगै विषेशगरी दीर्घ रोगी, वृद्धवृद्धा र बालबालिकाहरुलाई श्वासप्रश्वास सम्बन्धी संक्रमण बढी देखिने गरेको चिकित्सकहरु बताउँछन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ‘चिसोसँगसँगै खासगरी श्वासप्रश्वाससँग सम्बन्धित संक्रमणहरुले बलबालीकाहरुलाई अलि बढि प्रभावित पारेको देखिन्छ । त्यस्तै अलि ठूलो उमेरका मानिसहरुमा इन्फ्लुएन्जा चाहीँ हरेक वर्ष देखा पर्ने गरेको छ’।
जाडोयाममा देखिने मुख्य समस्या मध्ये एक हो, रुघाखोकी । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या बढी देखिने गर्दछ । त्यस्तै मौसमी भाइरसका कारण समेत जाडो मौसममा रुघाखोकीका बिरामी अत्यधिक बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । जाडो मौसममा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरू बढी सक्रिय हुने हुुँदा रोगप्रतिरोधात्मक क्षमता कम भएका, बालबालिका, तथा वृद्धवृद्धा र चिसोमा काम गर्नेलाई रुघाखोकी लाग्ने सम्भावना धेरै हुने चिकित्सकहरुको भनाई छ । यस्तै जाडो मौसममा सबैभन्दा बढी बाथ रोग, मुटुजन्य रोग, श्वासप्रश्वास र छालामा आउने समस्याले मानिसलाई धेरै सताउने गर्दछ ।
त्यस्तै बालबालिकाको हकमा भने स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्ने जोखिम हुन्छ । तर, बालबालिकामा देखिने कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी परिर्वतनको प्रभावका कारण समेत देखा पर्ने चिकित्सहरु बताउँछन् । मुख्य चाडपर्व दशैं तिहार सकिएलगत्तै यसवर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै जरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या, हृदयघात र फोक्सोको संक्रमणका बिरामीहरु बढेको वीर अस्पतालमा कार्यरत चिकित्सकको भनाई छ । अस्पतालमा दैनिक १० देखि १५ जना बिरामीहरु आउने गरेको डा.सुदिप यादवको भनाई छ । ‘अस्पतालमा आउने बिरामीहरुमा सबैभन्दा धेरै जेष्ठ नागरीक छन् । जसमा दमको सास्या बढी देखिने गरेको छ । जाडो महिना सुरुभएयता ३० प्रतिशत मानिसमा जाडोका कारण विभिन्न रोगले ग्रसित मानिसलाई थप समस्या सृजना भएको छ ।’
जाडो मौसममा सरसफाइ गर्न बालबालिकाले अल्छी गर्ने र अभिभावकलेसमेत बेवास्ता गर्दा बालबालीकामा सरसफाइको कमीले हुनसक्ने रोग र संक्रमणको जोखिम बढ्ने गरेको विज्ञहरुले बताएका छन् । त्यसैले भाइरल संक्रमणबाट बच्न रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरुले प्रयोग गरेको सामान प्रयोग नगर्न चिकित्सकहरुको सुझाएका छन् । त्यस्तै अभिभावकले बालकालिकालाई चिसोबाट बचाउन विभिन्न उपाय अपनाएका हुन्छन् । काभ्रेको भकुण्डेबेंसीकी सृष्टि हुमागाई भन्छिन्, ‘हरेक वर्ष बालबालीका तथा जेष्ठ नागरीकलाई जाडोको समयमा अन्य समय भन्दा रेगले धेरै च्याप्ने हुँदा वर्षेनी समस्या भोग्नु परेको छ ।’
जाडो मौसममा शरीरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन गरेमा शरीरलाई निकै फाईदा हुने उनीहरुको भनाई छ । चिसोको समयमा प्रशस्त मात्रामा झोल खानेकुरा, मनतातो पारेर बालबालिका तथा वृद्धवृद्धाहरुलाई खुवाउन र सामान्य रुघाखोकीलाई पनि हेलचेक्रयाईं नगरी समयमै ध्यान दिन चिकित्सकहरुको सुझाव छ । र मौसम परिवर्तन हुने बित्तिकै शरीरले तापक्रम समायोजन गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातो स्थानमा नबस्न समेत चिकित्सकहरुले सचेत गराएका छन् ।