‘अंग प्रत्यारोपणमा कानूनी र व्यवहारिक समस्या’

पुस १, २०८१

३४ वर्षिय पेम्बा शेर्पा , उनले एक वर्ष अघि मात्रै मृर्गौला प्रत्यारोपण गरेका हुन् । तर उनी सामान्य मान्छे जस्तै सबै काम गर्न सक्ने आँट जुटाउँछन् ।

ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टीकाथलीमा बस्दै आएका झलक श्रेष्ठले पनि पेम्बाले जस्तै मृर्गौला प्रत्यारोपण गरेका छन् । उनी अहिले एउटा व्यवसायमा आवद्ध छन् । श्रेष्ठले ८ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका हुन् । अहिले स्वस्थ जीवन बाँच्न पाउँदा उनी खुशी व्यक्त गर्छन् ।

सरकारले बिरामीको शरीरको कुनै अंग बिग्रिएमा प्रत्यारोपण गर्ने उद्देश्यले मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यवस्था गरेको छ । अंग प्रत्यारोपण नियमावली, २०७३ ले यस्तो व्यवस्था गरेको हो । तर मस्तिष्क मृत्यु भएका मानिसका आफन्तले अंगदान गर्न नमान्ने प्रवृत्तिले लक्ष्यअनुसार प्रत्यारोपण हुन नसकेको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले जनाएको छ । मष्तिष्क मृत्यु पश्चात अंग दान गरे अरुले जीवन जीउन सक्ने भन्दै दान गर्न श्रेष्ठ आग्रह गर्छन् ।

हाल सरकारले सातै प्रदेश अंग प्रत्यारोपण केन्द्र नै बनाएर सेवा शुरु गर्ने तयारी गरेको छ । मानव अंग प्रत्यारोपण केन्द्रले सुर्खेत र कोशीबाट केही काम त शुरु गरीसकेको छ । अन्यमा भने आगामी वर्षदेखि सेवा शुरु गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकास बुढाथोकीले बताए ।

अंग प्रत्यारोपणका लागि समन्वय गर्दै आएको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सञ्चालनमा आएदेखि हालसम्म एक हजार ३ सय ३७ जनाको मिर्गौला प्रत्यारोपण गरीसकेको जनाएको छ । यस्तै केन्द्रमा हालसम्म ३० जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ हाल वर्षेनी ८ हजार अंग खेर गइरहेको बताउँछन् । विज्ञहरुका अनुसार वर्षेनी एक हजार व्यक्तिको मष्तिष्क मृत्यु हुने गरेको र एक जना व्यक्तिको ८ वटा अंग त्यसै खेर गइरहेको छ । मष्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्दा पनि आवश्यक पर्नेका लागि पर्याप्त हुने उनको भनाई छ । आफन्तले अंग दान गर्न पाउने व्यवस्था भएपनि अहिलेकै अवस्थामा कतिले दिन नमानेको डा श्रेष्ठ सुनाउँछन् । आफन्तले दिन नमानेपछि गरिब, सोझा मर्कामा पर्ने उनको भनाई छ ।

२०७२ सालमा मानव शरीर अंग प्रत्यारोप ऐनमा संशोधन गरेर मस्तिष्क मृत्यु अर्थात् मस्तिष्कको क्रियाकलाप पुनः काममा आउन नसक्ने गरी मृत अवस्थामा पुगेकाहरुको शरीरबाट अंग निकालेर अर्को व्यक्तिलाई प्रत्यारोप गर्न पाइने व्यवस्था गरिएको छ । तर मष्तिष्क मृत्यु भएलगत्तै अंग दान गर्नेको संख्या निक्कै कम देखिन्छ । त्यसैले यसको व्यवहारिक पक्षलाई ध्यान दिएर सरकारले मस्तिष्क मृत्यु भएकाहरुबाट उपलब्ध अंगले धेरैलाई नयाँ जीवन प्रदान गर्ने अवस्था सृजना गर्नुपर्ने भएको छ । 


प्रतिक्रिया