यूरोकप र कोपा अमेरिका फुटबलको सेमिफाइनल समिकरण पूरा

असार २४, २०८१ | काठमाडौं

फुटबलप्रेमीको ध्यान यतिखेर युरो कप र कोपा अमेरिका कप फुटवलमा केन्द्रित छ । विश्व फुटवलका ठूला टीम र स्टार खेलाडीको प्रदर्शनसँगै दुवै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

यूरोकप फुटबलको पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल आगामी मंगलबार राति पौने १ बजे सुरु हुनेछ । स्पेन सर्वाधिक तीन पटकको उपाधि विजेता टोली हो भने, फ्रान्सले अहिलेसम्म दुई पटक उपाधि उचालेको छ । समूह बी को विजेता बन्दै नकआउट चरण पुगेको स्पेनले अन्तिम १६ को खेलमा डेब्यू टोली जर्जिया तथा क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

यता, समूह डी को उपविजेता बन्दै नकआउट पुगेको फ्रान्सले अन्तिम १६ को खेलमा बेल्जियमलाई हराउँदा, क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनल पुग्यो । जारी प्रतियोगितामा स्पेनले अहिलेसम्म कुल ११ गोल गर्दा, फ्रान्सले १ पेनाल्टीसहित ३ गोल गरेको छ । स्पेन प्रतियोगितामा सर्वाधिक गोल गर्ने टोली हो ।

यूरोकपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । यी दुई टोलीबीचको खेल आगामी बुधबार राति पौने १ बजे हुनेछ । नेदरल्याण्ड्सले एक पटक युरो ट्रफी उचालिसकेको छ भने इंग्ल्याण्ड पहिलो पटक च्याम्पियन बन्ने रणनितीमा छ । समूह सी को विजेता बन्दै अन्तिम १६ मा पुगेको इंग्ल्याण्डले नकआउट चरणमा स्लोभाकिया र क्वाटरफाइनलमा स्विटजरल्याडलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

यस्तै, समूह डी बाट उत्कृष्ट ३ मा पर्दै नकआउट चरण पुगेको नेदरल्यान्ड्सले सो चरणमा रोमानिया र क्वाटरफाइनलमा टर्कीलाई हराउँदै शीर्ष चारमा प्रवेश गर्यो । जारी प्रतियोगितामा इंग्ल्याण्डले कुल ५ गोल गर्दा, नेदरल्यान्ड्सले ९ गोल गरेको छ । इंग्ल्याण्डबाहेक तीन टोली नेदरल्यान्ड्स, स्पेन र फ्रान्स उपाधि उचालिसकेका टोली हुन् । 

यसैबीच, कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल आगामी बुधबार बिहान पौने ६ बजे सुरु हुनेछ । पाँच पटकको उपाधि विजेता अर्जेन्टिनाले समूह चरणका खेलमा क्यानडा, चिली र पेरुलाई हराउदा, क्वाटरफाइनलमा इकवेडरलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । जारी प्रतियोगितामा अर्जेन्टिनाले कुल ६ गोल गरेको छ ।

क्यानडाले क्वाटरफाइनलमा भेनेजुयलालाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । समूह चरणका खेलमा अर्जेन्टिनासँग पराजित क्यानडाले पेरुलाई हराउँदा, चिलीसँग गोलरहित बराबरी खेलेको थियो । जारी प्रतियोगितामा क्यानडाले जम्मा २ गोल गरेको छ ।

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा उरुग्वे र कोलम्बिया आमने सामने हुनेछन् । यी दुई टोलीबीचको खेल आगामी बिहिबार बिहान पौने ६ बजे सुरु हुनेछ । सन् १९१६ मा भएको पहिलो संस्करणबाटै सहभागीता जनाउँदै आएको उरुग्वेले अहिलेसम्म सर्वाधिक १५ पटक उपाधि उचालेको छ । समूह चरणमा पानामा, बोलिभिया र अमेरिकालाई पराजित गरेको उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा उरुग्वेले ९ गोल गरेको छ ।

यता, सन् २००१ मा भएको ४० औं संस्करणको उपाधि विजेता कोलम्बिया दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । समूह चरणका खेलमा उसले पाराग्वे र कोष्टारिकालाई पराजित गर्दा, ब्राजितलसँग १÷१ को बराबरी खेलेको थियो । क्वाटरफाइनलमा पानामालाई पराजित गर्दै कोलम्बिया शीर्ष चारमा प्रवेश गरेको हो । जारी प्रतियोगितामा कोलम्बियाले ३ पेनाल्टीसहित सर्वाधिक ११ गोल गरेको छ । सेमिफाइनलमा हार व्यहोरका दुई टोलीले तेस्रो स्थानका लागि असार ३० गते प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया