विरासत फर्काउने लक्ष्यमा महिला क्रिकेट टोली

असार २७, २०८१ | काठमाडौं

श्रीलंकामा हुने एसीसी महिला टी–२० एशिया कप प्रतियोगिताको अभ्यासका लागि नेपाली टोली आयोजक राष्ट्र पुगिसेकेको छ । श्रीलंका क्रिकेट विकास बोर्डको टोलीसँग खेलेको दुबै म्याचमा पराजित नेपाली टोलीले एशिया कपमा इण्डिया र पाकिस्तानजस्ता बलिया टोलीलाई प्रतिद्वन्द्वी पाएको छ । गर्विलो इतिहास भएपनि कमजोर वर्तमानमा उभिएको नेपाली महिला टोली आफ्नो गुमेको साख एशिया कपबाट फर्काउने लक्ष्यमा छ । पूरा गर्न कत्तिको कठिन छ त नेपाली महिला टोलीको चाहना ?

सन् २००७ मा एसीसी महिला प्रतियोगितामा उपविजेता बन्दा नेपाली महिला क्रिकेट टोलीले वाहवाही बटुलेको थियो । कारण डेब्यु प्रतियोगितामा नै नेपाल उपविजेता बन्यो । लगत्तै सन् २००८ मा एसीसी यूू–१९ प्रतियोगिता उचालेको महिला टोलीले सन् २०१० सम्ममा उपाधिमाथि ह्याट्रिक गर्यो । उतिबेला नेपालको महिला क्रिकेट उमेर समूहसँगै सिनियर टोलीमा पनि एसियाली क्षेत्रको दाबेदार मानिन्थ्यो । एकदशकपछि अहिले नेपाली महिला क्रिकेटको काँचुली फेरिनु पर्नेमा अगोधतितर्फ धकेलिएको छ । कुनै समय पुरुष क्रिकेटभन्दा पहिले महिलाले विश्वकप क्रिकेटमा सहभागिता जनाउँछन् भनेर आश गरिएको टोली एकाएक कसरी धराशायी भयो त ? नेपाल क्रिकेट संघले महिला क्रिकेटलाई प्राथमिकतामा नराख्दा यस्तो अवस्थाको श्रृजना भएका नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री बताउँछन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको छोटो अवधिमा नै ठूला उपलब्धि हासिल गरेको नेपालको महिला टोली अहिले अस्तित्व रक्षाका लागि संघर्षरत छ । महिला क्रिकेटको गर्विलो इतिहास भएपनि वर्तमान गौरवपूर्ण छैन । यसमा दोष महिला टोलीको मात्रै छैन, नेपाल क्रिकेट संघ क्यानले पनि महिला क्रिकेटलाई खास प्राथमिकतामा राख्न सकेको छैन । नियमित रुपमा घरेलु प्रतियोगिता नहुँदा महिला क्रिकेट कहिल्यै माथि उठ्न पाएन । यसको प्रत्यक्ष असर खेलाडी उत्पादन र प्रवद्र्धनमा पर्यो । दशक अघि जो क्रिजमा थिए, अहिले पनि त्यही अनुहार महिला टोलीमा छ । यस्तो नेपाली महिला टोलीले आगामी साउन ४ बाट श्रीलंकामा आयोजना हुुने एसीसी महिला टी–२० एसिया कप क्रिकेट खेल्दै छ । सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महिला क्रिकेटमा आउन चाहनेलाई प्रोत्साहन गर्ने राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी रुविना क्षेत्री बताउँछिन् ।

पुरुष टोलीले एकपछि अर्को खेल खेलिरहँदा महिला टोली फुर्सदिलो भए । एशिया कपकै तयारी पनि वर्षाले पिरोल्यो । यसै वर्ष आईसीसी टी–२० विश्वकप खेले यता पुरुष टोली अहिले राज्यसँगै क्यानकोे पनि प्राथमिकतामा छ । पुरुष टोलीले गत वर्ष एसिया कप क्रिकेट खेलेको थियो । एसिया कपको एक्सपोजरका कारण टी–२० विश्वकपमा फाइदा पुुगेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले महिला टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न भने ।

सन् २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला विश्वकपको एसियाली छनोट, २०१६ मा एसिया कप हुँदै सन् २०१७ को महिला विश्वकप एसियाली छनोटसम्म आइपुग्दा नेपालको महिला क्रिकेटको स्तर आशालाग्दो छैन । आठ वर्षपछि एसिया कप खेल्न लागेको नेपाली महिला टोली रहेको समूह ए मा इण्डिया, पाकिस्तान र युएई जस्ता बलिया टिम छन् । ठूला टोलीसँगको भेटलाई यादगार बनाउने अवसर भने महिला टोलीलाई छ । नेपालले अहिलेसम्म कुनै पनि टेष्ट राष्ट्रलाई हराएको छैन । एसिया कपमा टेष्ट राष्ट्रलाई हराउन सके महिला टोली सबै माझ छाउने मुुख्य प्रशिक्षक मनोज कटुुवाल बताउँछन् ।

जबसम्म घरेलु प्रतियोगिताको स्तर बढ्दैन, तबसम्म राष्ट्रिय टोली बलियो हुँदैन । त्यसका लागि घरेलु क्रिकेटको संरचनामा नै आमुल परिवर्तन गरिनुपर्छ । महिला क्रिकेटको घरेलु संरचनामा विभागीय टोली एपीएफ र केही प्रदेश टोलीबाहेक अन्यको प्रदर्शन फितलो नै छ । नेपाल सन् २०२७ मा हुुने यूू–१९ महिला विश्वकप क्रिकेटको सहआयोजक राष्ट्र हो । यसका लागि अहिलेबाटै तयारी थाल्नु पर्नेछ । त्यसो त क्रिकेट मात्रै हैन महिला फुटबलको हालत पनि त्यति सुखद छैन । तर, सफलता र उपाधिको तुलना गर्ने हो भने महिला खेलाडीहरु अघि नै छन् । सिर्फ राज्यको ध्यान उनीहरुतर्फ परेको छैन । गर्विलो इतिहासलाई उपलब्धिपूर्ण वर्तमान अनि स्वर्णिम भविष्यमा रुपान्तरण गर्ने हो भने अहिलेबाटै महिलाको सहभागिता रहने खेल र महिला खेलाडीमा लगानी बढाउनु पर्छ । नत्र, उपाधि जितेन भनेर आलोचना मात्रै गर्नु भनेको खेलाडीलाई थप मानसिक दबाब दिनु मात्रै हो । 


प्रतिक्रिया