विश्वासको मत नपाएपछि प्रधानमन्त्री दाहाल पदमुक्त

असार २८, २०८१

संसदको तेस्रो शक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि दाहाल १८ महिनाको कार्यकाल व्यतित गर्दै प्रधानमन्त्रीबाट हटेका हुन् । सत्ता राजनीतिका माहिर खेलाडी भनिएका दाहाल कंग्रेस र एमाले एक ठाउँमा उभिएपछि सत्ता बाहिर हुन पुगेपछि आगामी दिनमा उनको राजनीति अप्ठ्यारोमा पर्ने विश्लेषण भइरहेको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनबाट आफ्नो पार्टी माओवादी केन्द्र तेस्रो दल भएपनि प्रधानमन्त्री बन्ने मौका पाएका दाहाल अन्ततः काँग्रेस र एमालेबीचको सत्ता साझेदारीपछि प्रधानमन्त्रीबाट हटेका हुन् । नेपाली काँंग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि विकसित राजनीतिक घटनाक्रमसँगै संसदको फेस गरेका दाहालको पक्षमा ६३ मत मात्र प¥यो । सभामुख देवराज घिमिरेका अनुसार आज सदनमा २ सय ५८ जना सांसद उपस्थित थिए । । प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको प्रस्तावको नतिजा सुनाउँदै घिमिरेले दाहालको विपक्षमा १९४ मत ,मत दिन्न भन्नेमा १ मत परेको र पक्षमा ६३ मत परेको भन्दै विश्वासको मत प्राप्त गर्न नसकेको बताए ।

एमाले, रास्वपा, राप्रपा, जसपा लगायत दलको समर्थनमा २०७९ पुस ११ गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष दाहालले डेढ बर्षको अवधि सत्ता साझेदार फेर्दै पद जोगाएका थिए । संसदीय इतिहासमा विरलै हुने घटना अर्थात् छोटो अवधिमा ५ पटक विश्वासको मत लिनुपर्ने अवस्था दाहालको राजनीतिक जीवनमा पटाक्षेप हुन पुग्यो । सरकारको नेतृत्व गरेपछि पहिलो पटक २०७९ सालको पुस २६ मा दाहालले प्रतिनिधिसभा बैठकमा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए । यस्तै, दोश्रो पटक २०७९ चैत ६ मा संसदमा २ सय ६२ सांसद सहभागी मतदानमा १ सय ७२ जनाले उनलाई विश्वासको मत दिएका थिए । यस्तै, तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मतका लागि २ सय ६८ सांसद सहभागी मतदानमा उनको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० मत खसेको थियो । त्यस्तै, चौथोपटक उनले २०८१ जेठ ७ मा १ सय ५८ सांसद सहभागी मतदानमा १ सय ५७ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए । काँग्रेस र एमालेसँग पालैपालो साझेदारी गरेका दाहाल अहिले तिनै दल एक ठाउँमा उभिएपछि पद छाड्न बाध्य भएका हुन् । संवैधानिक सुविधाबमोजिम विश्वासको मत लिएका दाहालले कंग्रेस र एमालेसँगको सत्ता साझेदारीका केही प्रसंग शुक्रवार पनि संसद उठाएका थिए । एमालेसँग साझेदारी गर्दा धोका भएको चर्चा गर्दै उनले २०७९ पुष १० गते सत्ताबाट विमुख भएका काँग्रेस सभापति शेरबहादुर देउवाको जस्तै अहिले आफ्नो स्थिति भएको बताए । उनले भने, ‘अगाडिपट्टिबाट मुसारेर पछाडिबाट‘(छुरा घोपेको इशारा) यस्तो चाहिँ नहोस् मेरो शुभकामना छ । मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ ।’

पाँचौ पटक विश्वासको मत लिंदा दाहालको पक्षमा माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पाटीको २१ र एकीकृत समाजवादीको १० जना गरी ६३ जनाको मात्र समर्थन पाएका छन् । पहिलो पटक २०७९ सालको पुस २६ मा विश्वासको मत लिंदा सबैजसो दलको समर्थन पाएका दाहाल अहिले भने निकै कम मत पाउने स्थितिमा पुगेका हुन् । संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत लिएका दाहालको विपक्षमा काँंग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति लगायतले मत दिएका छन् । र, सशस्त्र विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पार्टी माओवादी केन्द्र अन्ततः २०७२ पछि पहिलो पटक प्रतिपक्षमा धकेलिएको छ । कांग्रेस र एमाले नमिल्दा त्यसको लाभ उठाएर सत्तामा टिकेको आरोप खेप्दै आएका दाहालले केही महिनाअघि संसदमा भनेका थिए, ‘ठूला दलहरु हामी मिल्यौ भने तेरो हालत के हुन्छ, यसो भनेर पहिला पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ तपाईहरु मिल्नुहोस, सबै मिल्नुहोस् । तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरी देश र जनताको पक्षमा, संविधान रक्षाको पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ ।’

दाहालले भनेजस्तै काँग्रेस र एमाले मिलेपछि प्रधानमन्त्रीमा उनको तेस्रो कार्यकाल १८ महिनामै सकिएको छ । काँग्रेस र एमालेको सत्ता साझेदारी भएसँगै प्रमुख प्रतिपक्षीको हैसियतमा पुग्ने दाहालको राजनीति आगामी दिनमा सहज नहुने टिप्पणी भइरहेका छन् । किनभने कंग्रेस एमालेको सत्ताले निरन्तरता पाउँदा उनी अब सरकारको नेतृत्वमा आउन असम्भवप्रायः छ । तर नेपाली राजनीतिको अस्थिर चरित्र र दलहरुबीचको टकरावले ल्याउन सक्ने जटिलताको फाइदा उठाउने मौका भने दाहाललाई कम्तिमा संसदको बाँकी अवधिमा मिल्न सक्छ ।  


प्रतिक्रिया