अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ पटक कोपाको उपाधि

असार ३१, २०८१ | काठमाडौं

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४८ औं संस्करणको उपाधि अर्जेन्टिनाले १६ औं पटक जितेको छ । विश्व च्याम्पियन समेत रहेको अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । सन् २०२१ मा कोपा अमेरिकाकै उपाधि जितेको अर्जेन्टिना सन् २०२२ मा फिफा विश्वकपको च्याम्पियन बन्यो ।

लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले तीन वर्षमा तीन मुख्य उपाधि जितेको छ । कोपा २०२४ को फाइनलमा भने मेसीले पूरै समय खेल्न पाएनन् । चोटका कारण ६६ औं मिनेटमा मैदानबाट बाहिरिएपछि प्लेयर बक्समा बसेका उनले बाँकी म्याच रुदै हेरेका थिए । तर, टोलीले अतिरिक्त समयमा गोल गर्दै च्याम्पियन बन्यो । टिकट नलिएका दर्शकले स्टेडियमभित्र प्रवेश गर्न खोजेपछि उत्पन्न तनावका कारण झन्डै ८० मिनेट ढिलो गरि शुरु भएको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

 अतिरिक्त समयमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि १ सय १२ औं मिनेटमा निर्णायक गोल गरे । उनले जियोभानी लो सेल्सोको सटिक पासमा गोल गरेका हुन् । २६ वर्षीय स्ट्राइकर मार्टिनेजले कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन् । आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर उनले सर्वाधिक ६ गोल गरे । जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको उपाधि सर्वाधिक १६ पटक जित्ने सबैभन्दा सफल टोली भएको छ । 

कोपा अमेरिकामा यो अर्जेन्टिनाको ३० औँ फाइनल खेल थियो । यसअघि सन् २०२१ को फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै १५ पटक उपाधि जितेर उरुग्वेसँग उपाधिमा बराबरी गरेको थियो । 

सन् १९१६ मा पहिलो संस्करण आयोजना गरेको अर्जेन्टिना सो संस्करणको उपविजेता बन्यो । पहिलो संस्करणको फाइनलमा उ उरुग्वेसँग पराजित भएको थियो । त्यसपछि सन् १९२१ र १९२५ मा च्याम्पियन बनेको अर्जेन्टिनाले सन् १९२७ र १९२९ मा लगातार उपाधि उचाल्यो । यस्तै, सन् १९३७ र १९४१ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले सन् १९४५, १९४६ र १९४७ मा उपाधि माथि ह्याट्रिक ग¥यो । त्यसपछि अर्जेन्टिनाले सन् १९५५, १९५७, १९५९, १९९१, १९९३ मा पनि उपाधि उचालेको थियो । 

सर्वाधिक १६ पटकको च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकामा १४ पटक उपविजेता बन्दा ५ पटक तेस्रो बनेको छ । सन् १९२२ र १९८७ मा भने उसले चौंथो स्थान हासिल गर्यो । कोपा अमेरिकाको उपाधि उरुग्वले १५ पटक, ब्राजिलले ९, पाराग्वे, चिली र पेरुले समान २÷२ पटक जित्दा, कोलम्बिया र बोलिभियाले समान एक÷एक पटक उपाधिमाथि कब्जा जमाएका छन् । 

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जिते । यसैबीच, अर्जेन्टिनाका मिडफिल्डर विंगर एन्जल डी मारियाले १६ वर्षको अन्तर्राष्ट्रिय करियर पछि संन्यास लिएका छन् । १ सय ४५ पटक क्याप जितेका उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका डि मारियाले अर्जेन्टिनाका लागि ३१ गोल गरेका छन् । 

डी मारियालाई अर्जेन्टिना र मेसीको अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्ने लक्ष्य पूरा गरिदिने एक सारथी मान्ने गरिन्छ । मेसीको कप्तानीमा अर्जेन्टिनाले तीन मुख्य प्रतियोगिताको उपाधि जित्दा डि मारिया टोलीको महत्वपुर्ण खेलाडी सावित भए ।

कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी घोषित भए । उनले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनल पु¥याएका हुन् । सो क्रममा ६ खेलबाट ६ असिस्ट र एक गोल गरेका रोड्रिग्वेज चार खेलमा ‘म्यान अफ द म्याच’ घोषित भए । 


प्रतिक्रिया