लोकरिझ्याईंको मारमा नेपाली क्रिकेट

श्रावण ८, २०८१ | काठमाडौं

नयाँ सरकार गठन भएपछि गत सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने निर्णय गर्यो ।

क्रिकेट मैदानमा दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेल संचालनका लागि फ्लड लाइट निमार्ण गर्ने बैठकले निर्णय गरेको हो । यसका लागि सरकारले तीन सय दिनको समयसीमा समेत तोकेको छ ।

क्रिकेटको लोकप्रियता बढ्दै जाँदा हरेकजसो सरकारले क्रिकेटका संरचना बनाउने निर्णय गरेपनि प्रभावकारी कार्यन्वयन हुन सकेको छैन । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले निर्धारित समयसीमाभित्रै क्रिकेट मैदान सुविधा सम्पन्न बनाइन्छ त ? भन्ने प्रश्न उब्जिएका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मन्त्रिपरिषद् बैठकबाट घोषणा गरेको पुरस्कार रकम नपाएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेललेसो पुरस्कार रकम उपलब्ध गराउन पत्रकार सम्मेलनमा आफ्नो भनाई राखेका थिए । त्यसको केही समयपछि तत्कालिन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको पहलमा खेलाडीले घोषित पुरस्कार रकम पाए ।

आफैले घोषणा गरेको रकम वितरण गर्न नसक्ने अवस्थाकाबीच क्रिकेटका संरचना निर्माणका लागि सरकारले समयावधि तोकेरै काम सम्पन्न गर्ने घोषणा गर्दै आएका छन् । यसैक्रममा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले समय तोकेरै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्न प्यारापिट, रात्रिकालीन खेल संचालनका लागि फ्लडलाइट जडान लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको छ ।

 यो निर्णय अघिल्लो सरकारले पनि गरेको थियो । २०७९ साल चैतमा आइसीसी क्रिकेट विश्वकप लिग टू मा तेस्रो हुँदै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा बोल्दै त्रिवि मैदानमा तत्काल फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका थिए । 

सो निर्देशन कागजमै सिमित बन्न पुग्यो । यस्तै, टी–२० विश्वकप क्रिकेटमा दोस्रो पटक छनोट भएपछि संसदमा बोल्दै दाहालले भनेका थिए, विश्वकपमा पुर्याएका खेलाडीहरुका लागि केही गर्न सबै दल एक ठाउँमा उभिनु पर्छ ।

आश्वासन दिन माहिर सरकारका नेतृत्वकर्ताले कार्यान्वयन भने निकै कम गर्छन् । पूूर्व प्रधानमन्त्री दाहाल १८ महिने कार्यकाल सम्पन्न गरेर नयाँ सरकार गठन भईसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन । यही अवस्था कायम रहंदा ओली सरकारले तीन सय दिन भित्र त्रिवि मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरेको हो ।

सरकार परिवर्तन हुँदा, ठूल्ठूला परियोजनाबारे चर्चित निर्णय त घोषणा गर्छन्, तर त्यो अधुरै रहने गर्छ । नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता हासिल गरेको छ । यसका कारण विश्वभर नेपाली क्रिकेट र नेपाली खेलाडीको चर्चा छ । जस लिने होडबाजीका बीच यसअघि नै भईसकेको निर्णय कार्यन्वयन गर्न छाडेर अर्को निर्णय गर्ने प्रवृत्ति देखिदै आएको छ । जबकी त्रिवि मैदान स्तर उन्नतीका लागि गत वर्ष नै सुचना जारी भएको थियो । 

त्रिवि मैदानमा प्यारापिट, फ्लड लाइट र स्कोर बोर्ड बाहेक स्तरोन्नतीका थुुप्रै काम गर्न बाँकी रहेको नेपाल क्रिकेट संघले जनाएको छ । प्यारापिट प्रवेशका लागि विभिन्न स्थानमा गेट राख्ने, भिभिआइपी कक्ष, स्तरीय पभेलियन, महिला पुरुषका लागि छुुट्टा छुट्टै शौचालय, पिउने पानी व्यवस्थापन, मिडिया सेन्टर लगायतका काम पनि बाँकी छन् ।

नयाँ सरकारले मुख्य प्राथमिकताका साथ काम गरे तोकिएकै समयभित्र काम सम्पन्न हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । यसका लागि राखेपले सार्वजनिक सुचना जारी गर्दै चौंथो पटक टेण्डर आह्वान गरेको छ । यसअघि गत वर्ष ३ पटक टेण्डर आह्वान गरेपनि विभिन्न कारण प्रक्रिया रद्ध भएपछि राखेपले चौंथो पटक प्रकृया अघि बढाएको हो । मन्त्रिपरिषदले तीन सय दिनभित्र फ्लडलाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरे पनि यो चुनौतीपूर्ण छ । 

सरकारले फ्लडलाइट र स्कोर बोर्डका लागि २० करोड रुपैयाँ छुुट्टाएपनि प्यारापिट निर्माणका लागि बजेट प्राप्त नभएको राखेपले जनाएको छ । सरकारले चाहे तोकिएको समयभन्दा अघि नै त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन सकिन्छ । टेण्डर दिनुपर्ने, कमिसन लिनु पर्ने विभिन्न खालका विकृतिका कारण काममा ढिलाई हुने गरेको खेलपत्रकार विनोद पाण्डे बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना भनि धनगढीको फाप्ला क्रिकेट मैदान तथा चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई घोषणा गरियो, तर यी मैदानको अवस्था पनि उस्तै छन् । 

कामको नाममा सिन्को समेत नभांच्नेहरु नै लोकरिझ्याईंका लागि अनेक घोषणाा गर्छन् । के निर्णय गर्दा वाहवाही पाइन्छ, त्यसैमा केन्द्रित हुँदा सरकारले घोषणा गरेका काम अधुुरो रहने गरेको छ । घोषणा गर्नमै व्यस्त सरकारले काम गर्ने तदारुकता देखाए खेलाडीले घरेलु भुुमिमै अन्तर्राष्ट्रिय स्तरको मैदानमा खेल्न पाउँथे ।


प्रतिक्रिया