सुस्तायो राजावादीको आन्दोलन !

जेष्ठ ३०, २०८२ | काठमाडौं

गणतन्त्र दिवसको छेको पारेर अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको राजावादी दल र समूहको काठमाडौं केन्द्रीत आन्दोलन यतिबेला सुनसानजस्तै बनेको छ । काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भनी राजवादी दल र समूह एक ठाउँमा उभिएपछि अनिश्चितकालिन भनिएको आन्दोलनका गतिविधि खासै देखिएका छैनन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले दोस्रो चरणको आन्दोलन अघि बढाएको भनेपनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेताहरुले भने बर्षाका कारण आन्दोलन रोकिएको बताएका छन् । तर राजावादी शक्तिबीचको आपसी मनमुटाव र आन्दोलनमा कम सहभागिताले राजतन्त्र पुर्नस्थापनाको आन्दोलन कमजोर भएको कतिपयको बुझाइ छ ।

राजसंस्था पुर्नवहालीको मागमा एक ठाउँमा उभिएर अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका राजावादी दल र समूहका कार्यक्रम एकाएक सेलाएको छ । राजसंस्थासहित हिन्दुराष्ट्र पुर्नस्थापनाको जस लिने होडबाजी गर्दै आएपनि आन्दोलनका लागि एक ठाउँमा उभिएका राप्रपा, राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समितिसहितका विभिन्न समूहका नेताहरु आन्दोलनका स्वरुप नै बदलेर अघि बढेको देखिन्छ । जेठको तेस्रो साता आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न डाकिएको भेलामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नै उपस्थित नभएपछि मच्चिएको भाँडभैलो व्यवस्थापन गर्न समितिका संयोजक नवराज सुवेदीलाई हम्मेहम्मे परेको थियो । युवाहरुको आक्रोशलाई थमथमाउदै सुवेदीले नयाँ चरणको आन्दोलनबारे भनेका थिए, ‘तपाईहरुको उत्साह, तपाईहरुको जागर, तपाईहरुको विचारप्रतिको अटल विश्वास देखेर म बुढो भएपनि ममाथि झन् उर्जा थपिएको छ, सुवेदीले भने, ‘म एउटा कार्यक्रम ल्याउनेछु र तपाईहरुको बीचमा फेरी दोस्रो तहको आन्दोलनको कार्यक्रम गर्नेछु ।’

एजेण्डामा एकमत देखिएपनि फरक दल र समूहमा विभाजित उनीहरु चैत १५ गतेको हिंसात्मक प्रर्दशनपछि बैशाख १५ को एक कार्यक्रममा एकै मञ्चमा उभिए । पूर्वराजाको पहलमा संयुक्त आन्दोलन अघि बढाइएपनि सुवेदी नेतृत्वको समिति, राप्रपा र राप्रपा नेपालका नेताहरुबीच खासै हार्दिकता नभएको पृष्ठभूमिमा आन्दोलन प्रभावित भएको ठान्नेहरु पनि छन् । आन्दोलन सेलाउँदै जाँदा ती दलका नेताहरुको अभिव्यक्ति फरक फरक देखिएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपाल निर्णायक आन्दोलनको नयाँ चरणमा रहेको बताउँदै आन्दोलन नरोकिएको जनाएको छ । आन्दोलनको नयाँ मोडालिटीबारे राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने, ‘अब आन्दोलन स्थगित भएको होइन, आन्दोलनको स्वरुप परिवर्तन भएको हो । नयाँ मोडालिटी बनाएका छौं । अब आन्दोलन विभिन्न चरणमा, विभिन्न ढंगबाट अगाडी बढ्छ, मलाई लाग्छ यो तल्लो तहबाटै हामीले यसलाई संरचनागत रुपमा सशक्त ढंगबाट निर्माण गर्दै एउटा निर्णायक आन्दोलनकै पूर्व तयारीमा छौं ।’ उपत्यकाको विभिन्न क्षेत्र र पालिकामा त्यसपछि जिल्ला तहमा कार्यक्रम अघि बढ्छ, आन्दोलन जारी नै रहेको बर्तौलाको भनाइ छ ।

आन्दोलन सुस्ताउनाका ४ कारण

आन्दोलनमा सहभागीता क्रमशः घट्दै जानु
वर्तमान अवस्थाप्रति असन्तुष्टी भएपनि गणतन्त्र नै उल्टाउने गरी शक्ति आर्जन गर्न नसक्नु
अहिले फरक कित्ता भएपनि गणतन्त्रको सवालमा प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनु
राज्यका निकायले राजावादीप्रति लिएको कठोर प्रशासनीक कदम 


जेठको मध्यतिरबाट सुरु भएको अनिश्चितकालिन आन्दोलन ५ दिन चलेको थियो । शान्तिबाटिका, माइतीघर मण्डला, नक्सालस्थित नारायणचौरमा गरिएपनि राप्रपा नेपालका अध्यक्ष थापा, सांसद दीपकबहादुर सिंह पक्राउ परेका थिए । त्यसको विरोधमा उपत्यका बन्दको घोषणा गरिएपनि तत्कालै फिर्ता लिइएको थियो । १९ जेठ मा पूर्वराजा वीरेन्द्र साहको वंशविनास भएको दिनको सम्झनामा आन्दोलन स्थगित गर्दै २० गते सिफल चौरमा आन्दोलन गरेको थियो । तर त्यसपछि राजावादी आन्दोलन एकाएक सुस्ताउन पुग्यो , संयुक्त आन्दोलन समितिको प्रमुख शक्ति राप्रपाले भने मनसुन सक्रिय हुँदा तत्काल कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ । ‘यो आन्दोलन विशेष गरि वर्खायाम पनि सुरु भएको र आन्दोलनमा सहभागि हुन काठमाडौं बाहिरबाट आउनुभएको थियो, उहाँहरुको खेतीपातीको समय र मौषम पनि सुरु भएकोले अहिलेका लागि हामीले रणनीतिक रुपमा यो आन्दोलन सकिएको होइन तर राजधानी केन्द्रीत स्थगित गरि सम्पुर्ण शक्ति अब जिल्ला–जिल्लाबाट यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्दै हामी उपयुक्त समयमा काठमाडौं आउने रणनीतिका साथ अहिलेलाई काठमाडौं केन्द्रीत कार्यक्रम स्थगित गरेका हौं, राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले भने ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दशकौ बित्दा समेत नागरिकले गणतन्त्रको आभास अपेक्षाकृत गर्न पाएका छैनन् । राज्य सञ्चालनको मुल केन्द्रमा रहेका राजनीतिक नेतृत्वको कमजोरीले राजनीतिक अस्थिरता, कुशासन, अनियमितता बढ्दै गएको पृष्ठभूमिमा राजावादी दल र समूह व्यवस्थाविरुद्धको आन्दोलनमा होमिएको कहि कतै लुकेको पनि छैन । पूर्वराजा ज्ञानेन्द्र साहले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडियो सन्देश र फागुन २५ गते पोखराबाट काठमाडौं फर्किदा भव्य स्वागतको परिपेक्ष्यमा सुवेदी नेतृत्वमा राजा आउँ देश बचाउको अभियान अघि बढेको थियो । चैत १५ गते तीनकुनेमा आन्दोलन हिंसात्मक बनेपछि रक्षात्मक बनेका राजावादी शक्तिलाई पूर्व राजा शाहले फेरि एकपटक एक ठाउँमा उभ्याएका थिए । तर आन्दोलन एकाएक कमजोर बन्दै गएको हो । राजावादीको आन्दोलन फितलो हुनुमा आन्दोलनमा सहभागीता क्रमशः घट्दै जानु, वर्तमान अवस्थाप्रति असन्तुष्टी भएपनि गणतन्त्र नै उल्टाउने गरी शक्ति आर्जन गर्न नसक्नु, अहिले फरक कित्ता भएपनि गणतन्त्रको सवालमा प्रमुख राजनीतिक दलका एक ठाउँमा उभिनु तथा राज्यका निकायले राजावादीप्रति लिएको कठोर प्रशासनिक कदम लगायतलाई मुख्य कारण मानिएको छ ।  


प्रतिक्रिया