प्रत्यक्षतर्फ ३० बर्षसम्मका १२ जना निर्वाचित

फाल्गुन २७, २०८२ | काठमाडौं

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत विभिन्न स्थानबाट नयाँ युवा नेताको उदय भएको छ । सार्वजनिक नतिजा अनुसार प्रतिनिधिसभामा युवा पुस्ताको उपस्थिति उल्लेख्य रूपमा बढेको देखिएको छ ।

निर्वाचन आयोगको विवरण अनुसार यसपटकको निर्वाचनमा निर्वाचितमध्ये ३० बर्षसम्मका उम्मेदवारमा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका छन् । मकवानपुर–२ बाट रास्वपाका २५ वर्षीय प्रशान्त उप्रेती यस पटकका सबैभन्दा कान्छा प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपा उम्मेदवार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै एमालेका महेशकुमार बर्तौलालाई पराजित गरेका हुन् ।

त्यस्तै पूर्वी नवलपरासी– क्षेत्र नम्वर २ बाट २६ वर्षीय मनीष खनाल, विजयी भएका छन् । खनालले ४१ हजार ३ सय ४७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्प्रधी नेकपा एमालेका उम्मेदवार तिल बहादुर महत क्षेत्रीलाई २५ हजार ५ सय ९२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । यसैगरी कैलाली–२ बाट २६ वर्षीय केपी खनाल, पनि प्रतिनिधिसभा सदस्य बनेका छन् । उनले १९ हजार ५७ मत ल्याएर विजयी भएका हुन् । उनले प्रतिस्प्रधी नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार पति राम चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार २८ वर्षीय सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६ सय ८९ को फराकिलो मतान्तरले हराउँदै खरेलले जित हासिल गरेका हुन् । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २८ वर्षीय बब्लु गुप्ता विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५ सय ३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । जेनजी आन्दोलनपछि गुप्ता केही समय युवा तथा खेलकुद मन्त्री समेत बनेका थिए ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी निशा डाँगी ठुलो मतान्तरसहित विजयी भएकी छिन् । २९ वर्षीया डाँगीले ४५ हजार ६ सय ८० मत प्राप्त गर्दै जित हासिल गरेकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५ सय ५० मत ल्याएका छन् । निर्वाचित डाँगी यसअघि २०७९ को संसदमा रास्वपाबाट समानुपातिक सांसद थिइन् ।

यसैगरी तीन हेभिवेटलाई पछार्दै काठमाडौं ५ मा २९ वर्षीय सस्मित पोखरेल विजयी भएका छन् । उनले ३० हजार ७ सय ३७ मत प्राप्त गर्र्दे जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ५९ प्राप्त गरेका छन् । सस्मितले कांग्रेसका महामन्त्री पौडेलसहित एमालेका ईश्वर पोखरेल र राप्रपा नेता कमल थापालाई हराएका हुन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रामजी यादव विजयी भएका छन् । ३० वर्षीय यादवले २८ हजार ४०४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल जसपाका उम्मेदवार उमेशकुमार यादवले १४ हजार २ सय ६३ मत प्राप्त गरेर दोस्रो भएका छन् ।

यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी रञ्जु दर्शना न्यौपाने १५ हजार ४ सय ५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीलाई ९ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएकी हुन् । कांग्रेसका थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।

यसैगरी सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव शङकर यादव निर्वाचित भएका छन् । ३० वर्षीय यादवले ३९ हजार ५ सय ६६ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र यादवलाई २६ हजार ६ सय ९७ फराकिलो मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

चितवन–३ बाट सोबिता गौतम ५९ हजार २ सय ७७ मत प्राप्त गर्दै निर्वाचित भएकी छीन् । ३० वर्षीया सोबिताले प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पराजित गरेकी हुन् । सोबिताले ५९ हजार मत कटाउँदा रेनुले भने २० हजार ६ सय १५ मत मात्र प्राप्त गरिन् । सोबिता २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं– २ बाट सांसद बनेकी थिइन् ।

यसैगरी खोटाङ–१ बाट २९ वर्षीय आरेन राई निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका युवा नेता राईले १६ हजार ६ सय १२ मत ल्याई विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईलाई ३ हजार ८ सय ९८ मतान्तरले पराजित गरेका हुन् । जेन जी पुस्ताको आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचनबाट संसदमा प्रवेश गर्न लागेका युवा सांसदहरुले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने चासो व्यक्त भएको छ । किनभने उनीहरुमध्ये अधिकाशले संसदीय राजनीतिप्रतिको वितृष्णामाथि असन्तुष्टि व्यक्त गरेपनि पहिलो पटक संसदभित्रको अभ्यास र प्रचलनलाई प्रत्यक्ष रुपमा आत्मसात् गर्दैछन् । 

<iframe width="827" height="465" src="https://www.youtube.com/embed/jNqNrvdZiPQ" title="प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ३० बर्षसम्मका १२ जना निर्वाचित | By Dipshikha |" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>


प्रतिक्रिया