मेयरदेखि प्रधानमन्त्रीसम्म: बालेन शाहको असाधारण राजनीतिक यात्रा

फाल्गुन २५, २०८२ | काठमाडौं

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका बालेन शाह छोटो समयमै नेपाली राजनीतिमा प्रभावशाली व्यक्तित्वका रुपमा स्थापित भएका छन् । मेयर बन्नुअघि ¥यापर, गीतकार, निर्देशक तथा सिभिल इन्जिनियरका रुपमा परिचित बालेनले अब प्रधानमन्त्रीको समेत बन्दैछन् । प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्व घोषित एजेण्डा अनुसार उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका बालेन शाह नेपाली राजनीतिमा छोटो समयमै प्रभावशाली व्यक्तित्वका रुपमा स्थापित भएका छन् । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा व्यापक रुपमा चर्चित बने । काठमाडौं महानगरपालिकाको मेयर बन्नुअघि बालेन एक ¥यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक तथा सिभिल इन्जिनियरका रूपमा परिचित थिए । सामाजिक विषय, भ्रष्टाचार र युवाका मुद्दालाई गीतमार्फत प्रस्तुत गर्ने कारणले उनी युवापुस्तामाझ लोकप्रिय थिए । काठमाडौंको नरदेवीमा जन्मिएका बालेनले अहिले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा र ख्याति कमाइरहेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि उनले उद्धार तथा नक्सा निर्माण कार्यमा सक्रिय भूमिका खेलेका थिए । यस विषयमा उनले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव सार्वजनिक गर्दै आएका छन् । ¥याप पृष्ठभूमिबाट आएका उनी अहिले नयाँ पुस्ताबीच लोकप्रिय राजनीतिक पात्रका रूपमा चिनिन्छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले परम्परागत ठूला राजनीतिक दलका उम्मेदवारहरूलाई पराजित गर्दै काठमाडौं महानगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेका थिए । सो निर्वाचनमा उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेकी थिइन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरेका थिए ।

यो जित बालेनका लागि राजनीतिक जीवनको पहिलो ठूलो छलाङ साबित भयो । मेयरको रुपमा उनले फोहोर व्यवस्थापन सुधार, सडक तथा सार्वजनिक स्थानको व्यवस्थापन, डिजिटल प्रशासन र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै काम सुरु गरेका थिए । २०७९ जेठदेखि २०८२ माघ ४ सम्म काठमाडौं महानगरपालिकाको नगरप्रमुखका रुपमा काम गर्ने क्रममा उनले केही महत्वपूर्ण निर्णयहरु समेत गरेका थिए । महानगर क्षेत्रभित्र पर्ने खोलाको मापदण्ड कायम गर्ने र अवैध संरचनामा डोजर चलाउने जस्ता कदमले व्यापक चर्चा पाएको थियो । यद्यपि यी निर्णयहरुको आलोचना पनि भएको थियो ।

नक्सा पास बिना बनाइएका संरचना भत्काउने, खोला क्षेत्रको अतिक्रमण हटाउने तथा सुकुम्बासी व्यवस्थापनको प्रयास गर्दा उनले विभिन्न चुनौतीहरुको सामना गर्नुपरेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषय पनि विवादको कारण बनेको थियो । यसैगरी महानगर क्षेत्रमा ठेलामा व्यापार गर्नेहरूमाथि कडा नीति अपनाएको भन्दै बालेन नेतृत्वको आलोचना पनि भएको थियो। केहीले गरिबीको समस्या समाधान गर्नुको सट्टा गरिबलाई विस्थापित गरेको आरोप समेत लालगेका छन् ।

कम बोल्न रुचाउने बालेन सार्वजनिक कार्यक्रममा तुलनात्मक रुपमा कम देखिने गरे पनि असहमति जनाउन सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छन् । सामाजिक सञ्जालमा उनले गरेका केही पोस्टहरुले व्यापक चर्चा पाएका थिए । यसले एकातर्फ उनको लोकप्रियता बढाएको थियो भने अर्कोतर्फ राजनीतिक दलका नेताहरुले उनको आलोचना समेत गरेका थिए । एक पटक रातिको समयमा परिवारका सदस्य सवार गाडीलाई ट्राफिक प्रहरीले जाँच गरेको विषयमा उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए । सो क्रममा सिंहदरबार जलाइदिने चेतावनी दिएको भनाइलाई लिएर अहिले पनि उनको आलोचना हुने गरेको छ ।

भदौ महिनामा भएको जेनजी प्रदर्शनलाई समर्थन गरेका बालेनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा विघटन गर्नुपर्ने माग अघि सार्न प्रदर्शनकारीलाई आग्रह गरेका थिए । प्रदर्शनपछि देशको राजनीतिक परिस्थितिमा परिवर्तनको चर्चा भइरहँदा नेतृत्व लिन उनलाई विभिन्न पक्षबाट आग्रह गरिएको थियो । तर उनले त्यस समयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गर्दै आफू पछि हटेका थिए । प्रदर्शनपछि बनेको नयाँ सरकारले निर्वाचनको मिति घोषणा गरेपछि बालेन राष्ट्रिय राजनीतिमा सक्रिय रुपमा प्रवेश गर्ने चर्चा सुरु भएको थियो । निर्वाचनको समय नजिकिँदै जाँदा उनी आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने तयारीमा लागेको चर्चा पनि चलेको थियो ।

यसै क्रममा बालेनले बिहान–बेलुकाको समयमा राजनीतिक तयारीका लागि ललितपुरको ज्वागलस्थित एक घरलाई कार्यालयका रुपमा प्रयोग गर्न थालेका थिए । यसबीच रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्यको सम्भावना समेत चर्चा भएको थियो । निकै आशा गरिएका व्यक्तिहरु एकै ठाउँमा आउनुपर्ने जनचाहनाका बीच विभिन्न राजनीतिक समीकरणहरुबारे छलफल भएको थियो । यद्यपि सम्भावित सहकार्यका प्रयासहरु पूर्ण रूपमा सफल भने हसन नसकेको देखिन्छ । निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा आयोजित सभाहरुमा सहभागी हुँदै बालेनले मतदातामाझ आफ्नो विचार प्रस्तुत गरेका थिए । छोटो तर प्रभावशाली सम्बोधनका कारण उनी धेरै मतदातामाझ लोकप्रिय बनेका थिए । निर्वाचनअघि नै प्रधानमन्त्री पदका लागि दाबी रहने घोषणा गर्दै झापा पुगेका शाहले पाएको जनसमर्थनले उनलाई राष्ट्रिय नेतृत्वको जिम्मेवारीसम्म पु¥याएको छ ।

झापा क्षेत्र नम्बर पाँचमा एमालेका अध्यक्ष केपी ओली विरुद्ध चुनावी प्रतिस्पर्धा उत्रीएका बालेन ६८ हजार ३ सय ४८ मत सहित विजयी हुँदा सोहि क्षेत्रबाट पटक पटक चुनीएर प्रधानमन्त्री बनेका ओलीले भने १८ हजार ७ सय ३४ मत पाएका छन् । संसदीय निर्वाचनमा सबैभन्दा धेरै मतको रेकर्ड पनि बालेनले बनाएका छन् । ३६ बर्षीय बालेनले पाएको सफलताको प्रभाव समग्र नेपाली समाजमा लामो समयसम्म देखिने सम्भावना छ । सार्वजनिक रुपमा खासै अभिव्यक्ति नदिने बालेनका केही वैयक्तिक शैलीलाई कतिपयले चासोका साथ हेर्ने गरेका छन् । केहीले उनलाई रहस्यमयी पात्रको रुपमा अथ्र्याउने गरेका छन् । बालेनका निकटवर्तीहरुको भनाइलाई आधार मान्ने हो भने उनी ज्योतिष विज्ञानलाई महत्व दिने व्यक्ति समेत हुन् ।  


प्रतिक्रिया