समानुपातिकतर्फ पनि रास्वपालाई किर्तिमानी मत, अन्य दल भने खुम्चिए

फाल्गुन ३०, २०८२ | काठमाडौं

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाई सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले झन्डै ५२ लाख मत समानुपातिकबाट ल्याएको छ । पहिलो संविधानसभा निर्वाचन यता समानुपातिकमा सबैभन्दा धेरै मतको रेकर्ड रास्वपाले बनाएको हो । अन्य दल भने समानुपातिकमा मात्र नभई प्रत्यक्षतर्फ समेत खुम्चिएका छन् । प्रस्तुत छ, समानुपातिकतर्फ दलहरुले विगतमा ल्याएको मत र अहिलेको नतिजाबारेको अवस्था यस प्रकार छ । 

समानुपातिक निर्वाचन प्रणालीले लक्षित वर्ग र समुदायको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्दछ । २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनदेखि समानुपातिक प्रणाली पनि अपनाउन थालिएको हो । संविधानको धारा ८४ ले ११० जना अर्थात् २७५ को ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था गरेको छ ।

 २०६४ सालमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सार्वजनिक गरिएको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्र सबैभन्दा बढी सीट ल्याउने दल बनेको थियो । निर्वाचन परिणामअनुसार नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३१ लाख ४४ हजार २०४ मत प्राप्त गर्दै १०० सीट हासिल ग¥यो । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले २२ लाख ६९ हजार ८ सय ६३ मतसहित ७३ सीट प्राप्त गरेको थियो ।

 त्यस्तै एमालेले २१ लख ८३ हजार ३ सय ७० मत प्राप्त गर्दै ७० सीट हासिल गरेको थियो । चौथो स्थानमा रहेको मधेसी जनअधिकार फोरम, नेपाल ले ६ लाख ७८ हजार ३ सय २७ मतका साथ २२ सीट जितेको थियो । त्यस्तै, तराई मधेश लोकतान्त्रि पार्टीले ३ लाख ३८ हजार ९ सय ३० मत ल्याउँदै ११ सिट प्राप्त गरेको थियो । यस्तै, राप्रपाले २ लाख ६३ हजार ४ सय ३१ म्त ल्याउँदै ८ सिट प्राप्त ग¥यो ।

यस्तै, २०७० सालको निर्वाचनमा कांग्रेसले सबै भन्दा बढि मत ल्याएर ९१ सिट प्राप्त ग¥यो । कांग्रेसले २४ लाख १८ हजार ३ सय ७० मत प्राप्त गर्यो । त्यस्ते, एमालेले २२ लाख ३९ हजार ६सय९ मत प्राप्त गर्दै ८४ सिट हात पारेको थियो । त्यस्तै, माओवादीले १४ लाख ३९ हजार ७ सय २६ मत ल्याउदै ५४ सिट हासिल गर्यो भने राप्रपा नेपालले ६ लाख ३० हजार ६ सय ९७ मत प्राप्त गर्यो ।

यस्तै, १० सिट पाएको मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले २ लाख ७४ हजार ९ सय ८७ मत प्राप्त गर्यो । त्यस्तै, मधेसी जनअधिकार फोरम नोपलले भने २ लाख १४ हजार ३ सय १९ मत प्राप्त गर्दै ८ सिट प्राप्त गरेको थियो ।

यस्तै, २०७४ सालको निर्वाचनमा एमालेले समानुपातिक तर्फ सबै भन्दा धेरै मत ल्याएको थियो । एमालेले ३१ लख ७३ हजार ४ सय ९४ मत प्राप्त गर्यो । त्यस्तै, कांग्रेसले ३१ लख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो । त्यस्तै, माओवादी केन्द्र र समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपाल मिलेर गठबन्धन गरेकाले १३ लाख ३ हजार ७ सय २१ म्त प्राप्त गर्यो । 

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २ सय ५४ मत प्राप्त गर्यो । सो समयमा उदायको विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६४ मत प्राप्त गर्यो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ लाख ६ हजार ७ सय ८२ मत प्राप्त गर्यो ।

यस्तै, २०७९ सालको निर्वाचनमा भने समानुपातिक तर्फ एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गर्यो । त्यस्तै, कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गर्यो । माओवादीले भने ११ लाख ७५ हजार ६सय ८४ मत प्राप्त गर्यो । २०७९ सालमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गर्यो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९ मत प्राप्त गर्यो । 

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ ह्जार ३ सय १४ मत प्राप्त गर्यो । त्यस्तै, जनमतले ३ लाख ९४ हजार ६ सय ५५ मत प्राप्त गर्यो । यस पटक भने जनमतले ७९ हजार २ सय २५ मत ल्याएको छ ।

२०८४ हुने भनिएको निर्वाचन गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ को फागुन २१ गते तय गरे अनुसार आम निर्वाचन सम्पन्न भयो । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ पनि रास्वपाले सबै भन्दा धेरै मत ल्याएको छ ।

२०७९ मा उदायको राष्ट्रिय स्वतन्त्र पार्टी यसपटकको निर्वाचनमा रास्वपाले ५१ लाख ८३ हजार ४ सय ९३ मत प्राप्त गर्दै प्रथम स्थानमा रहेको छ । रास्वपाले पाएको मत कुल सदर मतको ४७ दशमलव ८ प्रतिशत हो ।

 यस्तै नेपाली कांग्रेस भने २०६४ सालमा माओवादी पहिलो हुँदा दोश्रो दल बनेको थियो । यसपटक पनि २०६४ सालकै नियति कांग्रेसको देखिएको छ तर पनि मत भने कम रहेको छ । २०७० सालको समानुपातिक निर्वाचनमो सबै भन्दा धेरै मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको कांग्रेस २०७४ र २०७९ सालमा क्रमश दोश्रो बन्यो ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ मत पाएको छ । कांग्रेसले सदर मतको १६ दशमलव २ प्रतिशत मत पाएको छ । त्यस्तै, २०६४ सालको निर्वाचनमा तेश्रो भएको नेकपा एमाले यस पटक पनि तेश्रो स्थानमा रहेको छ । एमालेले १४ लाख ५५ हजार ८ सय ८५ मत पाएको छ । उसले पाएको मत १३ दशमलव ४ प्रतिशत हो । 

यसअघिका निर्वाचनमा एमाले २०७० मा दोश्रो स्थान, २०७४ र २०७९ सालमा पहिलो स्थानमा रहेको थियो । त्यस्तै, २०६४ सालमा सबै भन्दा धेरै मत ल्याएर पहिलो बनेको माओवादी यसपटक एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी लगायत अन्य कम्युनिष्ट घटकसँग एकता गरेर बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपा चौथो स्थानमा रहेको छ । २०७०, २०७४ र २०७९ मा तेश्रो , चौथो स्थानमा रहेको नेकपाले यसपटक ८ लाख ११ हजार ५ सय ७७ मत पाएको छ । उसले पाएको ७ दशमलव ५ प्रतिशत मत पाएको छ।

त्यस्तै, यसैपटक उदायको श्रम संस्कृति पार्टीले भने छोटो समयमै अन्य मूलधारमा आएका राजनीतक दललाई पछि पार्दै पाचौं स्थानमा रहेको छ । पाँचौ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८ सय ५६ अर्थात ३ दशमलव ६ प्रतिशत प्राप्त गरेको छ । यस्तै, पटक पटक फुट्दै र जुट्दै बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक छैटौं स्थानमा रहँदै यसपटक ३ लाख ३० हजार ६ सय ८४ अर्थात ३ दशमलव १ प्रतिशत मत पाएको छ ।

यता, जेनजी आन्दोलनपछि गठित उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी संयुक्त चिन्हमा समानुपातिकमा प्रतिस्पर्धा गरेका थिए । प्रत्यक्ष तर्फ सिट नजितेपनि समानुपातिक तर्फभने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार २ सय ४३ मत ल्याएको छ । 

त्यस्तै, प्रगतिशिल लोकतान्त्रि पार्टीले भने २४ हजार ६सय ५३ मत ल्याएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियान, नेपाल र सन्तोष परियारको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समूहको विलय मार्फत गत कात्तिक २८ मा पार्टी गठनको घोषणा गरिएको थियो ।

थ्रेस होल्ड पार गरेका रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिक सांसद पाएका छन् । आयोगका अनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । 


प्रतिक्रिया