इजरायल–इरान युद्धको एक हप्ताः मध्यपूर्वको अस्थिरताले विश्वव्यापी असर पार्ने आँकलन

असार ५, २०८२ | काठमाडौं
इजरायल र इरानबीच युद्ध शुरु भएको एक हप्ता पूरा भएको छ । इजरायलले गत शुक्रबार बिहान २ सय लडाकु जहाजहरुले इरानको आणविक, सैन्य तथा आर्थिक पूर्वाधार क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि इजरायलमा ड्रोनमार्फत् हमला गर्यो । तर युद्ध रोकिने भन्दा झनै चर्किदै गएको छ । यो युद्ध रोक्न इरानले आणविक हतियार कार्यक्रम स्थगन गर्नुपर्ने आधारभूत सर्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राख्दै आएका छन् । तर यो सहज छैन । इरानले दशकौँदेखि सञ्चालन गर्दै आएको आणविक कार्यक्रम एकाएक रोक्न किन इजरायलले माग गर्दैछ ? इजरायलले इरानमा आक्रमण गर्नुको खास कारण के हो ?
गत जुन १३ को बिहान करिब २ सय वटा लडाकु जहाजमार्फत इजरायलले इरानमा हमला गर्यो । ती लडाकु जहाजले इरानको आणविक, सैन्य तथा अन्य आर्थिक पूर्वाधारलाई निशाना बनाए । इरानको सबैभन्दा ठूलो आणविक केन्द्र मानिने नातान्ज पनि इजरायलको पहिलो दिनको हमलामा क्षतिग्रस्त भयो । यति मात्र होइन, इजरायलले गरेको आक्रमणको पहिलो चरणमा इरानमा उच्च स्तरका व्यक्तिहरूको हत्या भयो । जसमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का कम्तीमा चार जना मुख्य कमान्डर छन् । साथै , छ जना प्रभावशाली इरानी आणविक वैज्ञानिक पनि मारिए । इरानको सरकारी सञ्चार माध्यम नोउर न्युजका अनुसार खमेनीका वरिष्ठ सल्लाहकार अलि शाम्खानी पनि गम्भीर घाइते भएका छन् । उनले अमेरिकासँगको कूटनीतिक वार्ता र छलफलहरूको नेतृत्व गरिरहेका थिए । करिब १ लाख ९० हजार हाराहारी सक्रिय सेना तथा ६ लाख हाराहारी रिजर्भ जनशक्ति भएको आईआरजीसीले इरानको ब्यालेष्टिक मिसाइल तथा आणविक कार्यक्रमहरू हेर्ने काम पनि गर्छ ।
साथै मध्यपूर्वका विभिन्न मुलुकमा रहेका इरानका प्रोक्सी समूहहरूबारे पनि यसैले निगरार्नीे गर्दछ । अल जजिराकाअनुसार सन् २०१९ मा अमेरिकाले यसलाई विदेशी आतंकवादी संगठनको रूपमा राखेको छ । सैन्य भूमिका बाहेक आईआरजीसी इरानको राजनीतिक तथा आर्थिक संरचनामा पनि गहिरोसँग जोडिएको छ । इजरायलले इरानको राजधानी तेहरान तथा त्यहाँ वरपरका सैन्य क्षेत्रहरू नातान्ज सहर र त्यहाँ रहेको युरेनियम प्रशोधन केन्द्र, ताब्रिज सहर र त्यहाँ रहेका दुई वटा सैन्य आधार तथा आणविक अनुसन्धान केन्द्रमा विस्फोट गराएको छ । यस्तै, इजरायलले इरानको ग्याँस र तेल उत्पादन केन्द्रलगायत दक्षिण तेहरानको सहर इस्फाहान, भूमिगत रूपमा ब्यालेष्टिक क्षेप्यास्त्र भन्डार गरिएको कर्मान्शाह सहरमा पनि हमला भएको बताइन्छ । इजरायलको हमलाको प्रतिक्रिया दिँदै इरानले पनि इजरायलमा ड्रोन तथा ब्यालेष्टिक मिसाइलहरू प्रहार गरेको छ । यस्ता प्रहारहरू केही इजरायली भूमिमा विस्फोट भएका छन् । युद्धमा इरानमा २ सय २० भन्दा बढी मानिसको मृत्यु भएको छ । जसमा ७० महिला तथा बालबालिका समेत परेका छन् । यता इजरायलमा भने कम्तीमा २० जनाको मृत्यु भएको छ ।
त्यसो त इजरायलको गठबन्धन सहयोगी अमेरिका र इरानबीच आणविक कार्यक्रमलाई लिएर सम्झौता गर्न वार्ता चलिरहेको बेला इजरायलले सुरू गरेको आक्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । इरानले आणविक हतियार बनाउन लागेको आरोप लगाउँदै इजरायलले आक्रमण गरेको हो । तर जानकारहरू भन्छन्, युद्धको वास्तविक कारण यति मात्रै होइन । इरानको आणविक हतियार कार्यक्रम वर्षौंदेखि चलिरहेको थियो । सन् २००९ यता इरान यस कार्यमा लागेको बताइन्छ । इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय रूपमा मुख्यतः अमेरिका, संयुक्त राष्ट्रसंघ र आणविक हतियार निशस्त्रीकरण तथा कटौती सम्झौतासँग सम्बद्ध निकाय रहेका छन् । इरानकाअनुसार आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीकै निगरानीमा भइरहेको थियो । यसैबीच, एकाएक इजरायलले इरानको आणविक कार्यक्रमको विषय किन चर्काइरहेको छ र सोही कारण देखाउँदै आक्रमण गरिरहेको छ । इजरायलले यो हमला इरानको आणविक बम बनाउने क्षमता ध्वस्त पार्ने उद्देश्यसाथ सुरू गरिएको दाबी गरेको छ ।
इजरायलले इरानको महत्वपूर्ण सुरक्षा बल आईआरजीसीलाई सैन्य रूपमा जवाफ दिनका लागि समेत गरिएको बताएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको आक्रमणको समर्थन गर्दै भारत–पाकिस्तानजस्तै इरान–इजरायलबीच पनि छिट्टै युद्धविराम गराउन सफल हुने आशा व्यक्त गरेका छन् । तर, त्यसको आधारभूत सर्त इरानले आणविक हतियार कार्यक्रम स्थगन गर्नुपर्ने उनको सर्त छ । जुन सहज छैन । यही इरान–इजरायल मामिलाको जटिलताकै कारण जी ७ शिखर सम्मेलनबाट हतार गरेर क्यानडाबाट निस्किएका छन् । इजरायलले इरानमा आक्रमण गर्नुको कारण आणविक कार्यक्रम देखाएपनि कतिपयले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुलुकभित्रको अलोकप्रियतालाई प्रमुख कारण मानिएको छ । गाजापट्टीमा गरेको नरसंहारका कारण अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय रणनीतिक सहयोगीहरुले पनि प्रधानमन्त्री नेतान्याहु र इजरायलको खुलेरै विरोध गर्न थालेका थिए । अन्तर्राष्ट्रिय फौजदारी अदाललते नेतान्याहुविरूद्ध गिरफ्तार गर्न वारेन्ट जारी गर्न सक्ने परिस्थिति पनि विकास भएको छ । भन्नै परेन, इरानलाई इजरायलले सधैँ थ्रेटको रुपमा हेर्दै आएको छ । र, यसमा कुनै शंका छैन कि नेतान्याहु इरानमा आक्रमण गर्न वर्षौदेखि उचित समय कुरेर बसिरहेका थिए ।
यसपटक उनले शुक्रबार आक्रमण गरे । त्यसयतासन् २०२४ अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसस्थित इरानी कन्सुलर कार्यालय भवनमा आक्रमण गरेर सुरू गरिसकेका थिए । त्यो आक्रमणमा केही इरानी कूटनीतिज्ञ तथा अधिकारी मारिएका थिए । बदलामा इरानले सन् २०२४ को अक्टोबरमा इजरायलमाथि २ सय भन्दा बढी ब्यालेस्टिक मिसाइल आक्रमण ग¥यो । त्यसअघि सोही वर्षको अप्रिल १३ मा इरानले समर्थक–शक्तिसमूहलाई समेत संलग्न गराई इजरायलमाथि व्यापक हमाल गरेको थियो । जुन १३ मा इरानमाथि इजरायली आक्रमणले सन् २०२३ अक्टोबार ७ मा शुरू भएको गाजा युद्धयता मध्यपूर्वको शक्ति सन्तुलनमा उल्लेखनीय परिर्वतन आएको संकेत गरेको छ । यो गाजा युद्धयताको इजरायली सैन्य अभियानको निर्णायक कदम साबित हुन सक्ने देखिन्छ । गाजामा हमास–इजरायल युद्ध चलिरहेकै बेला करिब १३ वर्ष लामो गृहयुद्धपछि सन् २०२४ को डिसेम्बरमा सिरियामा बाथ शासनको आन्तरिक पतन भयो । बाथ नेता तथा राष्ट्रपति बसर–अल असद देश छोडेर मस्को भागे ।
जानकारहरूकाअनुसार सिरियामा बाथ शासनको अन्त्य मध्यपूर्वमा इरानको शक्ति कमजोर हुनुको एउटा कारण बन्यो । सिरियाको नयाँ शासनले अमेरिकासँग निकटता बढाउँदै लगेको छ । फेरि, गाजा युद्धमा इजरायलले हमास र हिज्जबुल्लाहमाथि व्यापक क्षति पु¥याएको छ । गाजा युद्धको विस्तार हुँदै गर्दा लेबननको सशस्त्र समूह हिज्जबुल्लाह पनि इजरायलमाथि आक्रमण गर्न आयो । सन् २०२४ को सेप्टेम्बर २७ को एक हवाई आक्रमणमा हिज्जबुल्लाह नेता हसन नसरल्लाह मारिए । त्यसपछि हिज्जबुल्लाहले युद्धविरामको बाटो रोज्यो । यी सबै घटनाक्रमलाई हेर्ने हो भने इरानलाई कमजोर र इजरायललाई बलियो बनाउँदै लगेको छ । त्यसैले इरान–इजरायल युद्धले अब कस्तो मोड लिन्छ ? त्यो हेर्न बाँकी छ । यो युद्धले मध्यपूर्वलाई मात्र होइन, समग्र विश्व व्यवस्थालाई असर पार्नेछ ।