नेपालमा पछिल्लो समय ह्वाट्स एप लगायत माध्यममार्फत हुने अनलाइन ठगीका घटना बढ्दै
जेष्ठ ३, २०८३ | काठमाडौं
नेपालमा पछिल्लो समय ह्वाट्सएप लगायत माध्यममार्फत हुने अनलाइन ठगीका घटना बढिरहेका छन् । स्क्यामरहरुले विभिन्न प्रलोभन र नक्कली अफरमार्फत सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार नयाँ–नयाँ तरिका अपनाएर मानिसबाट पैसा ठगी गर्ने प्रवृत्ति बढ्दै गएकाले यसका प्रयोगकर्ता सचेत रहनुपर्ने बेला भइसकेको छ ।
केही समय अघि ह्वाट्सएपमाफर्त कारोबार गर्दा ठगीमा परेको बताएकी रजनी श्रेष्ठले यस्ता ठगीबारे प्रहरीमा उजुरी गर्ने प्रक्रियाबारे थाह नपाउँदा गुमाएको पैसा फिर्ता आउने आशा गुमाएकी छन् । समयको सदुपयोग गर्न खोज्दा उल्टै पैसा नै गुमाउनु परेको भन्दै उनले अनलाइन सेवाबाट सामान खरिद गर्दा पीडित हुनु परेको सुनाईन् ।
पछिल्लो समय नेपालमा ह्वाट्सएपमार्फत हुने अनलाइन ठगी अर्थात् स्क्यामिङका घटना तीव्र रूपमा बढ्दै गएको देखिएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै सञ्चार सजिलो भए पनि साइबर अपराधीहरूले यही माध्यमलाई ठगीको नयाँ हतियार बनाएका छन् ।
प्रहरी तथा साइबर सुरक्षा विज्ञहरूका अनुसार, ठगहरूले ह्वाट्सएपमा नक्कली प्रोफाइल बनाएर, आफन्त वा साथीको नाममा सन्देश पठाउने, लटरी जितेको झुटो सूचना दिने, बैंक खाता अपडेट गर्नुपर्ने भन्दै ओटीपी माग्ने जस्ता तरिकाबाट मानिसलाई फसाइरहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा १५ हजार ९ सय ५३ वटा उजुरी परेका छन् । यी मध्ये ५ हजार ५ सय ५८ वटा साइबर ठगीका मुद्दा परेको साइबर ब्यूरोको तथ्याङ्कमा उल्लेख छ । तिमध्ये ५ सय ५५ जनाको रकम फिर्ता भईसकेको र बाँकीको प्रक्रिया जारी राखेको ब्यूरोले जनाएको छ ।
साइबर सुरक्षा विज्ञहरू भन्छन्, धेरैजसो प्रयोगकर्ताले यस्ता सन्देशको सत्यता नजाँची तुरुन्त प्रतिक्रिया दिने भएकाले ठगीका घटना बढिरहेका छन् ।
कमजोर डिजिटल साक्षरता र सावधानीको कमी पनि प्रमुख कारण मानिएको छ । यस्ता ठगीबाट जोगिन सावधानी अपनाउनु पर्ने साइबर ब्यूरोका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी उपरिक्षक दिलीप कुमार गिरीले बताए ।
ह्वाट्सएप अहिले ठगी गर्नेहरूका लागि सजिलो माध्यम बनेको छ, त्यसैले प्रयोगकर्ताले अत्यन्त सावधानी अपनाउनु आवश्यक छ ।
मोबाइल र इन्टरनेट प्रयोग बढ्नु, डिजिटल भुक्तानी ई सेवा, मोबाइल बैंकिङको व्यापक प्रयोग हुनु ठगीका मुख्य कारण हुन् । ठगीमा परेका मानिसहरुले रकम फिर्ता लिनका लागि प्रक्रिया झन्झटिलो भएको भन्दै प्रहरीमा उजुरी दर्ता नगराउदा पनि यस्ता घटना बढ्दै गएका हुन् ।
सानो रकम लिन त्यो भन्दा बढी खर्च र समय लाग्ने भएकाले पनि कतिपय चुप लागेर बस्ने गरेका छन् । कतिपयले भने ठगीमा परेको निकै लामो समयमा पछि मात्रै उजुरी गर्दा अपराधीलाई पक्राउ गर्न चुनौती हुने र रकम फिर्ता हुन समय लाग्ने भन्दै प्रहरी उपरिक्षक गिरीको भनाई छ ।
ह्वाट्सएप, म्यासेजिङ एप भाइबर, इमो, टिकटक लगायत सामाजिक सञ्जालमार्फत हुने साइबर ठगीका समग्र केसहरु ठूलो संख्यामा दर्ता हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्याङ्कमा ह्वाट्सएप अलग्गै नम्बरमा नभए पनि यो सबैभन्दा बढी प्रयोग हुने ठगी माध्यममा परेको छ । विशेषज्ञहरूको भनाइमा, डिजिटल सुरक्षाबारे जनचेतना बढाइएन भने यस्ता अनलाइन ठगीका घटना अझै बढ्न सक्ने जोखिम कायमै रहने छ ।
कुनै पनि आर्थिक कारोबार गर्नुअघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरी पुष्टि गरेपछि मात्र व्यवहार गर्न सुझाइएको छ । ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा आउने शंकास्पद र अपरिचित सन्देशलाई विश्वास गर्नुअघि पुष्टि गर्ने बानी बसालौं । सामाजिक सञ्जालमा आउने सन्देशको सत्यता जाँच गरे मात्र यस्ता ठगीबाट जोगिन सकिनेछ ।








