स्पष्ट कानून नहुँदा डिम्बाशयको गैरकानुनी बिक्री !

श्रावण १५, २०८२ | काठमाडौं
निसन्तान दम्पत्तिका लागि आईभिएफ प्रविधि वरदान भनिएपनि पछिल्लो समय गैरकानुुनी रुपले डिम्बाशयको बिक्रि हुने गरेको पुष्टि भएको छ । केही साताअघि अवैध रुपमा किशोरीको प्रयोग गरि डिम्ब बिक्री गरेको आरोपमा काठमाडौंको दुई फर्टिलिटि सेन्टरका सञ्चालक पक्राउ परेपछि यस क्षेत्रमा बढ्दै गएको विकृति उजागर भएको हो । आईभिएफ सम्बन्धी निश्चित कानुन नहुुँदा समेत समस्या भएको कतिपयको बुुझाइ छ ।
किशोरीहरुको डिम्ब अवैध रुपमा बेचबिखन गरेर निसन्तान दम्पत्तिलाई बिक्रि गरेको आरोपमा काठमाडौंका दुुईवटा क्लिनीकमाथि प्रहरीले अनुुसन्धान अघि बढाएको छ । बबरमहलमा सञ्चालित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जमा सञ्चालित एन्जेल फर्टिलिटी क्लिनिकका सञ्चालकसहित पाँच जनामाथि अनुसन्धान सुरु गरिएको हो । उनीहरुले कानुुन विपरित किशोरीहरुको डिम्ब संकलन गरि निसन्तान भएका दम्पत्तिलाई बिक्रि गरेका थिए । ती घटनामा १८ वर्ष मुनिका किशोरीलाई प्रयोग गरेको पाइएको आधारमा प्रहरीले अनुुसन्धान प्रक्रिया अगाडी बढाएको हो । हुुन त सो घटना बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति नै बनाएको छ । सो समितिको काम अन्तिम चरणमा पुगेको र मापदण्ड नेपाललाई मिल्ने गरि बनाउन लागिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले छानविन समितिको काम अन्तिम चरणमा पुगेको छ ।
किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्बहरुको अवैध कारोबार गरेको आरोपमा क्लिनीकका संचालकलाई प्रहरीको केन्द्रिय अनुुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरि अनुुसधान प्रक्रिया सुरु गरेको छ । सीआईबीले उनीहरुविरुद्ध बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरेको हो । किशोरीलाई आर्थिक प्रलोभन देखाएर कारोबार गरेको भन्दै उजुुरी परेपछि मुद्दा चलाइएको सीआईबीले जनाएको छ । दुईजना पीडित बालिकाका अभिभावकको उजुुरीका आधारमा अनुुसन्धान अगाडी बढाइएको हो । प्रहरीले पक्राउ परेका सबैविरुद्ध अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत काठमाडौं लगेपनि अदालतले सबैलाई हाजिरी जमानीमा छाडिदिएको छ । यद्यपी, उनीहरु विरुद्ध भने अनुसधान जारी रहेको सीआईबीका प्रवक्ता युवराज खड्काको भनाइ छ ।
नेपालमा डिम्बदानबारे स्पष्ट कानून नबनेको अवस्थामा नियमनको अभावमा नेपालमा डिम्ब बेचबिखन गैरकानुनी रुपले बढ्दै गएको पाइन्छ । त्यस्तै, नेपालमा बाँझोपन एउटा ठूलो समस्या बन्दै गएको अवस्थामा उपयुुक्त कानून बनाएर अगाडी नबढे जटिल समस्या निम्तिन सक्ने स्त्री रोग विशेषज्ञ बताउँछन् । आईभीएफ प्रविधिका माध्यमबाट सन्तान प्राप्त गर्न सक्ने विधिका लागि कानुुन बनाएर निसन्तान दम्पत्तिका लागि अण्डादान गर्ने इच्छुकलाई बाटो खुल्ला गर्न कानून आवश्यक भएको उनीहरुको बुझाइ छ । कानूनको अभावमा लुकिछिपी अवैध बाटो रोज्ने भएकाले सो बिषयलाई वैध प्रक्रियामा ल्याउन कानूनको तत्काल आवश्यक भएको स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको सुझाव छ ।
नेपालमा जनस्वास्थ्य सेवा नियमावली अनुसार फर्टिलिटी केन्द्र सञ्चालनमा रहेका छन् । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ वटा फर्टिलिटी सेन्टरलाई अनुमति दिएको छ । नेपालमा कस्ता व्यक्तिले डिम्ब वा शुक्रकिट दान गर्न पाउनेलगायतका विषयमा स्पष्ट कानून नहुँदा समेत आइभिएफमा थप विकृति थपिँदै गएको हो । आईभीएफसंग सम्बन्धीत नीतिगत आधार भएपनि स्पष्ट कानुुनी आधार नहुुँदा समस्या भएको कानून क्षेत्रका जानकारको भनाइ छ । हुुन त स्वास्थ्य सम्बन्धी ऐनमा पनि आईभीएफलाई वैकल्पिक विधिका रुपमा राखिएपनि स्पष्टता नभएकाले समस्या भएको उनीहरुले बताएका छन् । सो विषयमा विधायीकाले कानून बनाउन आवश्यक रहेको अधिवक्ता मन्दिरा अधिकारीको भनाइ छ ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले आईभीएफ लगायतका सेवालाई विशिष्टीकृत सेवा भनेर परिभाषित गरेको छ । बेरोजगारी र आर्थिक प्रलोभन तथा दबाबका कारण समेत ंअवैध रुपमा डिम्ब बिक्री वितरण कार्यमा संलग्न भएको पाइन्छ । त्यसैले आईभीएफ क्लिनिकको नियमनमा कडाइ गर्न आवश्यक छ । कमजोर नियमन, गैरकानुुनी डिम्ब बेचबिखन र सीमित सचेतनाले स्वास्थ्यमा जोखिम निम्तने भएकाले सम्बन्धीत निकायले प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।