रौतहटको गौरमा आज पनि कर्फ्यु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०८२ | रौतहट

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेशलाई निरन्तरता दिएको बताउनुभयो ।

 सूचनाअनुसार हिजो दिउँसोेदेखि लागू भएको कफ्र्यु विहान साढे ६ बजे सम्म निरन्तर रहेको थियो । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कफ्र्यु खुकुलो पारिएको थियो । त्यस्तै, पुनः बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुनः कफ्र्यु लागू रहने सूचनामा उल्लेख छ । कफ्र्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । 

गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको चार किल्लामा कफ्र्यु लगाइएको हो। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । 

दुई समुदायबीच झडपको स्थित निम्तीएपछि सो क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो । स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फुय आदेश जारी गरेको हो । कर्फुय आदेशपछि सो क्षेत्रमा सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ । कर्फ्यु र झडपका लागि उक्साएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएर राखेको छ । 


प्रतिक्रिया