चीनसँग कुटनीतिक सम्वन्धमा ७ दशक पूरा, नेपालले सोचेजति लाभ लिन सकेन

श्रावण १८, २०८२ | काठमाडौं

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । यो सात दशकमा विभिन्न आरोह–अवरोहका बिच नेपाल चीनको सम्बन्ध नयाँ आयाममा पुगेको छ । यस अवअधिमा आपसी कुुटनीतिक सम्वन्धसँगै आर्थिक र सांस्कृतिक पक्षमा दुुई देशबीच महत्वपूर्ण साझेदारी र सम्झौता भएका छन् । तर चीनसँग बलियो कूटनीतिक सम्बन्ध भएपनि नेपालले सोचे जतिको फाइदा लिन सकेको छैन ।

भौगोलिक हिसाबले नेपालभन्दा करिब ६५ गुणा ठूलो र जनसंख्याको हिसाबले ४९ दशमलब ३ गुणा ठूलो चीन नेपालको उत्तरी छिमेकी हो । भौगोलिक रुपमा हिमाल र पहाडले जोडिएको चीन–नेपाल सम्बन्ध प्राचिन समयमा तिब्बती राजा स्रङचङ गम्पोसँग भृकुटीको विवाह र नेपाली कलाकार अरनिकोले चीनमा बनाइदिएका महाविहार लगायतका कलाकृतिले सिञ्चिएको थियो । त्यसपछि सन् १९५५ अगस्ट १ मा नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भयो । दुवै मुलुकले संयुक्त विज्ञप्ती जारी गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिइएको थियो । सुमधुर सम्बन्धका ७० साल पुस्तकका अनुसार सो विज्ञप्तीका ५ बुँदामा एक अर्काको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको पारस्परिक सम्मान, अनाक्रमण, कुनै पनि आर्थिक, राजनीतिक वा वैचारिक कारणले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्व उल्लेख गरिएको थियो ।

नेपाल–चीन सम्बन्धलाई पछिल्लो ७ दशकलाई मूल्यांकन गर्ने हो भने केही तिक्ततापूर्ण घटनाबाहेक एक आपसबिच निकटता नै बढी देखिन्छ । सन् १९७१ मा संयुक्त राष्ट्रसंघमा चीनलाई सदस्य बनाउन नेपालले महत्वपूर्ण भूमिका खेलेको थियो । पछिल्लो एक दशकमा त नेपाल–चीन सम्बन्ध कूटनीतिक हिसाबले अझ निकट रहेको मान्न सकिन्छ । सन् २०१७ मा चीनको रोड एण्ड बेल्ट पहल (बीआरआई) मा नेपाल सामेल हुनु र सन् २०१९ अक्टोबरमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धले नयाँ उचाइ थपिएको उदाहरणको रुपमा लिन सकिन्छ । नेपाल–चीन सम्बन्धको सात दशकमा विश्व राजनीतिमा, क्षेत्रीय राजनीतिमा र दुई देशकै सम्बन्धको बीचमा धेरै नयाँ उतारचढाव आएका छन् । त्यसले क्रमशः सम्बन्धलाई नयाँ आयाम दिएको छ । नेपाल चीन कूटनीतिक सम्बन्धको सात दशकलाई स्मरण गर्दै नेपाल–चीनबीच सीमित सहकार्य पछिल्लो दशकमा फराकिलो रहेको बताउँछन् पूर्व परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा । उनी भन्छन्, “गएको ७० वर्षलाई एउटा सिंहावलोकन गर्ने हो भने नेपाल–चीनबिच सीमित सहकार्यबाट सुरु भएको थियो, आर्थिक रुपमा जुन सहकार्य हुँदै गएको छ, पछिल्लो एक दशकमा रणनीतिक ढंगबाट अगाडि बढेको देखिन्छ ।”

विगत ७० वर्षमा नेपाल–चीनबिच विभिन्न उच्चस्तरीय भ्रमण भएका छन् । ती हरेक भ्रमणमा कुनै न कुनै सम्झौता भएका छन् । जसमा सीमा सन्धिदेखि बीआरआई, पारवहन, जलविद्युत, कनेक्टीभीटी, यातायात, कृषिलगायत विभिन्न सम्झौता भए पनि कार्यान्वयनको अवस्था फितलो छ । खासगरी, चीनको महत्वपूर्ण आर्थिक रणनीति बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबारे नेपाल सामेल भएपनि त्यसको फाइदा लिन सकेको छैन । बीआरआई सम्झौता कार्यान्वयनले मूर्त रुप लिन सकेको देखिदैन । सगम्रमा एक दशकमा यी परियोजना अघि बढेपनि अपेक्षित रुपमा सफलता आउन नसकेको पूर्व परराष्ट्र सल्लाहकार डा. सापकोटाको भनाइ छ ।

यस्तै, विश्व विकास पहल अर्थात् जीडीआई अन्तर्गत नेपालका ९ परियोजनामा २ योजना कार्यान्वयनको लागि अघि बढेको छ । तथापि, नेपालले सोचेजस्तो सफलता पाउन सकेको छैन । चीनसँग गरिएका सम्झौताहरु कार्यान्वयन हुन नसक्नुमा नेपालको कूटनीतिक पहलमै कमी भएको कतिपय विज्ञहरुको भनाइ छ । तसर्थ सम्झौताहरुको कार्यान्वयनका लागि सफलता पाउन नेपालले बढीभन्दा बढी सक्रियता बढाउनुपर्ने त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक लिला न्याईच्याईको बुझाइ छ । उनले भनिन्, “सम्बन्धमा गतिविधिहरु बढ्न थाल्छ एक अर्कासँग, त्यति नै उपाय र समस्याहरु पनि आउन थाल्छ । मित्रता भएको केही समय थोरै विषयमा सीमित भएका हौसला अहिले थपिदै आएको छ । चुनौती नि बढेको छ, अवसरका ढोका पनि । त्यसैले समस्या समाधानको लागि सञ्चार बढाउनुपर्छ ।”

चीन विश्व महाशक्ति राष्ट्रको दौडमा छ । भारतसँगको चलिरहेको क्षेत्रीय द्वन्द्व र अमेरिकासँगको प्रथम हुने होडबाजीमा नेपाल जस्ता साना राष्ट्र दवावमा परेका छन् । नेपालमा अमेरिकी आर्थिक विकास कार्यक्रम मिलेनियम कर्पोरेट च्यालेञ्ज एमसीसी परियोजना ल्याउँदा जति विवाद भएको थियो, चीनको बीआरआई परियोजना अनुमोदन हुँदा पनि कम विवादीत बनेन । यस्तो भूराजनीतिक ददवावमा पनि केही सुखद परिवर्तन देखिएको भन्दै त्यसले पारेको प्रभावबारे चीनका लागि पूर्व राजदूत टंक कार्की भन्छन्, “एकल धु्रवीय विश्व व्यवस्थाको नायक अमेरिका आज अमेरिका प्रथम भन्दै आफ्नो आन्तरिक आधारलाई बलियो बनाउन केन्द्रित भइरहेको छ । त्यसले पनि सकारात्मक प्रभाव पर्ला ।”

छिमेकीबिच मनमुटाव हुनु स्वभाविक हो । त्यसैले चीनसँग नेपालको मित्रताको मात्र कथा छैन, कहिलेकाही नमिठा घटना पनि भएका छन् । खासगरी हुम्लाको लिमीमा चीनले ९ वटा भवन बनाउँदा सीमा मिचेको भन्ने विषयको अझैसम्म उचित सम्बोधन हुन सकेको छैन । तथापि, चीन–नेपालबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ । कोभिडको बहानामा त कहिले तिब्बतको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना देखाउँदै चीनले केरुङ र तातोपानी नाका बेलाबखत एकपक्षीय रुपमा बन्द गर्दै आएको छ । त्यसले नेपाली व्यापारीलाई करोडौँको घाटा मात्र भएको छैन, सीमा क्षेत्र बस्ने नेपाली दैनिकी चलाउन सास्ती समेत खेप्दै आएका छन् । त्यस्तै, हालै चीनको तिब्बतस्थित हिमताल फुट्दा ल्हेन्देखोला हुँदै भोटेकोशीमा बाढी आएको थियो । हिमताल फुट्ने जानकारी चीनको मौसम विभागले समयमै नदिँदा नेपालले ठूलो क्षति व्यहोर्नुप¥यो । यस्ता प्राविधिक बिषयलाई सम्वोधन गर्नुुपर्नेछ । अर्कोतर्फ नेपालको आन्तरिक राजनीतिमा यदाकदा दखल दिन खोज्ने छिमेकी र शक्ति राष्ट्रको प्रवृत्तिबाट चीन समेत अलग हुन नसकेको टिप्पणी भइरहेका छन् । 


प्रतिक्रिया