मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजान आम मतदातालाई आग्रह

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २०, २०८२ | काठमाडौं

निर्वाचन आयोगले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजान आम मतदातालाई आग्रह गरेको छ । आयोगले सहजताका लागि सकेसम्म मतदाता परिचय पत्र नै लैजानु पर्ने जनाएको हो । 

मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा भने मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कलप्रति देखाएर पनि मतदान गर्न पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराएपछि मतदातालाई प्रत्यक्ष तर्फको मतपत्र दिइनेछ । गोप्य मतदान कक्षमा गएर आफ्नो उमेद्वारको चुनाव चिन्हमा छाप लगाइसकेपछि मतदातालाई समानुपातिकतर्फको मतपत्र उपलब्ध गराइने छ । 

यो मत पत्रमा भने आफुलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई अर्को मतपेटिकामा खसाल्नु पर्नेछ । मतदान केन्द्रमा प्रवेश गर्ने र बाहिर निस्कने छुट्टाछुट्टै ढोकाहरुको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया