रुस–युक्रेन युद्धमा ट्रम्पको “अस्थिर नीति” कहिलेसम्म ?

श्रावण ३१, २०८२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि अमेरिका त्यसको विपक्षमा थियो । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले रुसी नीतिको चर्को आलोचना गर्दे युक्रेनको पक्षमा समर्थन गरेका थिए । तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प रुस–युक्रेनबीचको युद्धको मामिलामा अस्थिर देखिएको विश्लेषण हुन थालेको छ । शुरुमा रुसको पक्षमा देखिएका उनी फेरि युक्रेनको समर्थनतिर लागेको देखिन्छ ।

भनिन्छ, संसारको सबैभन्दा शक्तिशाली कार्यालय ह्वाइट हाउसले कतिपय मुद्धामा सधैं विकल्प छान्न पाउँदैन अर्थात् उसका विकल्प सीमित हुन्छन् । त्यस्तै, विकल्पमध्येको एक हो रुस–युक्रेन युद्ध किनभने अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठूलो द्वन्द्वलाई सम्बोधन गर्ने जिम्मेवारी आइलागेको छ । अमेरिकाको पूर्व सरकारको नेतृत्व युक्रेनको प्रमुख सहयोगी रहनु त्यसको कारण हो । त्यसो त राष्ट्रपति ट्रम्पले युद्ध पूर्णरुपमा त्याग्न पनि सक्थे । तर त्यसको सट्टा आफ्नो “बोलक्कड” व्यक्तित्व दर्शाउदै ट्रम्पले कहिले २४ घण्टाभित्र युद्ध रोक्न सक्ने त कहिले एक सय दिनको समयरेखा तोक्ने जस्ता अभिव्यक्ति दिइरहे । त्यति मात्र होइन उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्वन्ध विस्तारको पहल पनि गरे, जसबाट ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै अमेरिका–रुस सम्बन्ध द्विपक्षीय सम्बन्ध सुमधुर देखिएको थियो ।

बाइडेन प्रशासनमा चिसिएको सम्बन्धको पृष्ठभूमिमा पुटिनप्रति ट्रम्पको सदाशयता चुनावी दौरान नै देखिएको थियो । पछि रुस र पुटिनलाई साथ दिन ट्रम्पको नीतिअनुसार गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघमा युक्रेनमा रुसको आक्रमणको भत्र्सना गर्दै युरोपेली युनियनले तयार पारेको मस्यौदामा अमेरिकाले रुसको पक्षमा मतदान गरेको थियो । सोही महिना ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तामा दुवै राष्ट्र प्रमुखले एकअर्काको मुलुकको भ्रमण गर्ने बताएका थिए । यस्तो लाग्थ्यो कि ट्रम्प–पुटिन सम्मेलन कुनै पनि समयमा हुनसक्छ । त्यतिवेला ट्रम्प प्रशासनले युद्ध रोक्न मस्कोलाई नभई किभलाई दबाब दिइरहेको थियो । अमेरिकाले क्यानडा र डेनमार्क जस्ता परम्परागत मित्र राष्ट्रहरुसँग लफडा गरिरहेको थियो । सार्वजनिक भाषण र टेलिभिजन अन्तर्वार्ताहरुमा अमेरिकी अधिकारीहरुले उत्तर एटलान्टिक सन्धि संगठन नेटो र युरोपेली नेताहरुको कडा आलोचना गरिरहेका थिए । कतिसम्म भने ट्रम्पले नेटो सहयोगीहरुलाई युरोपको रक्षाको लागि बढी कर तिर्न माग समेत गरे । फलस्वरुप नेटो र अमेरिकाबिच कूटनीतिक तिक्तता ल्याइदियो ।

अमेरिकाले लिएका यस्तै नीति र अमेरिकी अधिकारीहरुका वाणीहरु मस्कोका लागि कुनै मिठो धुन भन्दा कम थिएन । अमेरिकाले युरोप र युक्रेनभन्दा रुससँग आफ्ना विचार बढी मिलेको पाउँथ्यो । त्यसैको असर पश्चिमा सञ्चारमाध्यममा पनि देखियो । ट्रम्प क्रान्तिकारी भए, प्रणाली बिगारे, पश्चिमा शक्तिमा एकता छैन, भूराजनीतिमा अब गठबन्धन छैन, ट्रम्पवादले ट्रान्स एटलान्टिक सहमतिलाई विश्वासका साथ र छिट्टै ध्वस्त पारिदियो जस्ता विषयले सञ्चारमाध्यम भरियो ।

यी सबैका बीच ट्रम्पका विशेष दूत स्टीभ विटकोफ रुसका नियमित भ्रमणकर्ता रहे । दुई महिनामा नै उनले रुसको चार पटक भ्रमण गरे भने पुटिनसँग वार्ता गरेर घण्टौँ बिताए । एक भेटवार्तापछि त पुटिनले उनलाई ट्रम्पको पेन्टिङ उपहार दिए ह्वाइट हाउसमा राख्न । ट्रम्पले पुटिनको सो कदमले आफू भावविभोर भएको बताए । यद्यपी, ट्रम्प पुटिनबाट पेन्टिङभन्दा बढी नै चाहन्थे । उनी पुटिनले युक्रेनसँग विना सर्त विस्तृत युद्धविराममा सम्झौता गरोस् भन्ने चाहन्थे ।

अर्कोतर्फ ट्रम्पले रुसको पक्ष लिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युद्धविराम गर्न ह्वाइट हाउसस्थित ओभल अफिसमा सबैको सामु धम्की समेत दिएका थिए । सो प्रस्ताव मान्न नसकिने भन्दै जेलेन्स्की निन्याउरो मुख लगाएर उठ्नु परेको थियो ।

यस्तै घटनाक्रम अघि बढ्दै जाँदा राष्ट्रपति ट्रम्पले अन्ततः पुटिन शान्ति चाहदैनन् भन्ने बुझेँ । उनले युक्रेनलाई तत्काल हतियारको आवश्यकता भएको देखेका छन् र सहयोग गर्ने प्रयास गरे । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले माइक्रोब्लगिङ साइटमा ट्वीट गर्दै अमेरिकाले रुससँग समयसीमाको खेल खेल्नु बेकार भएको बताएका थिए । उनले लेखे– “ट्रम्पले दुईटा विषय याद गर्नुपर्छ, पहिलो रुस, इजरायल वा इरान होइन । दोस्रो हरेक नयाँ अल्टिेमटम त्रास हो र यसले युद्धतर्फ बाटो मोड्छ । यसले रुस–युक्रेनबिच होइन, बरु अमेरिकासँगै युद्ध गराउन सक्छ ।” उनले मेदभेदेवको सामान्यतया खारेज गरिएको आणविक झट्काको जवाफ अमेरिकी २ आणविक पनडुब्बीलाई रुसतर्फ नजिक तेर्साएर दिए । र, यसरी महिना दिनभन्दा कम समयमा अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोक्ने कामबाट रुसमाथि परमाणु बलको धम्की दिने काम ग¥यो ।

ट्रम्पले मस्कोलाई युद्ध रोक्न दबाब दिने, समयसीमाको घोषणा, अल्टिमेटमका साथै रुसमाथि थप आर्थिक प्रतिबन्धको साथमा व्यापार साझेदार राष्ट्रहरु भारत र चीनमा थप आर्थिक प्रतिबन्ध लगाउने धम्की दिइरहेको छ । यसको अर्थ के अमेरिका युक्रेनको विषयलाई लिएर रुससँग लड्न तयार छ त ? वा मस्को भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विटकोफसँगको वार्ताले सो सम्भावित संकटलाई टार्ला कि भन्ने आश सम्म गर्न सकिन्छ ।

त्यसो त राष्ट्रपति पुटिनले कूटनीतिक वार्ताको लागि आफू प्रतिबद्ध रहेको बताएपनि रुस–युक्रेन युद्धमा रुसको नियन्त्रण बढी देखिन्छ । यस्तोमा पुटिनले लडाइँ रोक्ने सवाल नै उठ्दैन । यही विषयले ट्रम्पमा मस्कोप्रति बेचैनी बढाएको छ । त्यसैको स्वरुप हो, पछिल्ला केही साताहरु जहाँ ट्रम्पले युक्रेनी शहरमा रुसको निरन्तर हमलालाई लक्षित गर्दै घृणित, अपमानजनक र राष्ट्रपति पुटिनलाई युक्रेनमा वाहियात काम गरेको आरोप लगाएका छन् ।

गत महिना ट्रम्पले पुटिनलाई युद्ध समाप्त गर्न ५० दिनको अल्टिमेटम दिएका थिए । रुसले युद्ध नरोके थप प्रतिबन्ध र भन्सार शुल्क लगाउने धम्की दिएका थिए । त्यसको लगत्तै उनले सो समयसीमा १० दिनमा झारे । यसैबीच, रुसबाट पेट्रोलियम खरिद गरेको भन्दै अमेरिकाले धम्की दिँदा नमानेपछि भारतमा आयात शुल्क थप २५ प्रतिशत बढाउँदै ५० प्रतिशत पु¥याएको छ । रुसको सहयोगी रहेको चीनमा पनि अमेरिकाले थप शुल्क लगाउने चर्चा गरेको छ । अब त्यो समयसीमा सकेको ९ दिनपछि मिति तोक्दै रुस अमेरिकासँग अलास्कामा वार्ता गर्न तयार भयो । त्यसपछि रुसी राष्ट्रपति पुटिन र ट्रम्पबीच अगस्ट १५ मा वार्ता भयो । यद्यपी, सन् २०१९ पछि पहिलो पटक दुवै राष्ट्रप्रमुखबिच भएको सो वार्ता विना निष्कर्ष टुङ्गिएको छ । तीन घण्टासम्म चलेको सो वार्तामा रुसले राखेका सर्तहरुका कारण वार्ता विना निष्कर्ष टुङ्गिएको समाचारमा जनाइएको छ ।

यसरी मित्र राष्ट्रहरुसँग झगडा गरेर, दशकौँदेखि विश्व व्यवस्थाको फाइदा उठाएपछि एकाएक त्यसलाई तोडेका ट्रम्पले अब के गर्लान् ? रुस–युक्रेन युद्ध कसरी रोक्लान्, भारतलाई चिढाएपछि बनेको भारत–चीन र रुसको त्रिपक्षीय सम्बन्ध कसरी तोड्लान् । अनि साथमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको निकास के देलान् ? त्यो भने हेर्न बाँकी छ ।

(अन्र्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको सामाग्री)


प्रतिक्रिया