विदेशी खेलाडीको सहभागीताले एनपिएल प्रतिस्पर्धा रोचक हुने अपेक्षा
कार्तिक ३०, २०८२ | काठमाडौं
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आगामी सोमबारबाट शुरु हुँदैछ । एनपिएलको दोस्रो संस्करण नजिकिँदै गर्दा सहभागी आठ टोलीले आफ्नो तयारी तीव्र बनाएका छन् । मार्कीसहित नेपाली खेलाडी अक्सनबाट प्राप्त गरिसकेका छन् ।
यस्तै, सबै टिमले विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । एनपीएलका कुल ३२ मध्ये २३ खेलहरु फ्लडलाइटमा हुनेछन् । लिग चरणका १९ खेल अनि प्लेअफका तीन र फाइनल गरी २३ खेलहरु फ्लडलाइटमा खेलाइने तय छ । पहिलो संस्करण भन्दा यसपटक उल्लेख्य मात्रामा विदेशी खेलाडीहरु अनुबन्ध भइसकेका छन् । विभिन्न टिमले विश्वचर्चित खेलाडीहरुलाई अनुबन्ध गरिसक्दा यसपटक एनपीएल अझै रोमाञ्चक हुने देखिएको छ ।
साविक विजेता जनकपुर बोल्ट्सले मार्की आसिफ शेखसहित अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई रिटेन गरेको छ । जनकपुरले अक्सनबाट मयन यादव, सचिन भट्ट, विकाश आग्री र आदित्य महतालाई अनुबन्ध गरेको छ ।
दक्षिण अफ्रिकाका इमरान ताहिरले यही टोलीबाट खेल्ने छन् । जनकपुरले यसअघि इशान लाहिरु मिलान्थालाई दोस्रो सिजनका लागि पुनः दोहो¥याएको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिरलाई अनुबन्ध गरिसकेको छ । जनकपुरले पहिलो सिजन च्याम्पियन बनाएका पुबुद दासानायकेको स्थानमा वेष्ट इन्डिजका शिवनारिन चन्द्रपललाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।
साविक उपविजेता सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई मार्कीको रुपमा पुनः रिटेन गरेको छ भने उनीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन् ।
यस्तै विदेशी खेलाडीमा स्कट कुगेलेइन र हर्मित सिंहलाई दोस्रो सिजन पनि निरन्तरता दिएको सुदूरपश्चिमले अस्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन जस्ता खेलाडी दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले अहिलेसम्म चार विदेशी खेलाडी मात्र अनुबन्ध गरेको छ । सुदूरपश्चिम नेपाली घरेलु क्रिकेटका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा लगातार दोस्रो सिजन खेल्दैछ ।
अर्को फ्रेन्चाइज टोली काठमान्डू गोर्खाजले ६ विदेशी खेलाडी भित्र्याएको छ । रिटेन, अक्सन, विदेशी र ट्यालेन्ट हन्टबाट गरी गोर्खाजले १८ खेलाडी तयार पारेको छ । काठमाडौंले अन्तिम विदेशी खेलाडीका रुपमा भारतीय क्रिकेटर सन्नी पटेललाई अनुबन्ध गरेको छ ।
ट्यालेन्ट हन्टबाट फास्ट बलर नटराजन शाह टोलीमा समावेश भइसकेका छन् । नेपाली पुरुष राष्ट्रिय क्रिकेटका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमाडौंले मार्की करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ । अक्सनबाट महँगा खेलाडीका रुपमा मोहम्मद आदिल आलम अन्सारीसहित पाँच खेलाडी काठमाडौंमा भित्रिए । मिनी अक्सनबाट काठमाडौंले उत्तम मगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादवलाई अनुबन्ध गर्यो ।
गोर्खाजले अनुबन्ध गरेको ६ विदेशी खेलाडीमध्ये पाँचले पहिलो पटक एनपीएल खेल्दै छन् । जेरार्ड एरासमसले दोस्रो पटक एनपीएल खेल्दा, बेन चाल्र्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल र मिलिन्द कुमारले पहिलो पटक एनपीएलमा सहभागीता जनाउँदै छन् ।
लुम्बिनी लायन्सले मार्की रोहित पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारीलाई रिटेन गरेको थियो भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको हो ।
लुम्बिनीले एनपीएलका लागि विदेशी खेलाडी अफगानीस्तानका गुल्बादिन नैब, अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ । लुम्बिनीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान छन् ।
दोस्रो सिजनको एनपीएलका लागि मार्की कुशल मल्लसहित ६ खेलाडी रिटेन गरेको चितवन राइनोजले दुई अनुभवी विदेशी खेलाडी रवि बोपारा र सोहेल तनविरलाई दोस्रो सिजन पनि निरन्तरता दिएको छ ।
यस्तै इंग्ल्याण्डमा विश्वकप खेलिसकेका खेलाडी डाविड मालान र पहिलो सिजन सुदुरपश्चिम रोएल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैब र युगान्डाका अल्पेश अम्जानीलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअफ बलियो देखिएको छ ।
यसबाहेक चितवनले पहिलो सिजनकै दुई खेलाडी विपिन रावल र रन्जित कुमारलाई पनि अक्सनबाट अनुबन्ध गरेको थियो । पहिलो सिजन चोटका कारण खेल्न नपाएका मिडियम पेसर कमल सिंह ऐरी दोस्रो सिजन टिममा छन् ।
यसरी हेर्दा चितवन राइनोजले दुई विदेशीसहित १० खेलाडी पहिलो सिजनबाटै निरन्तरता दिएको छ । यस बाहेक चितवनले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका देव खनाल र लुम्बिनी लायन्सबाट खेलेका विकेटकिपर अर्जुन साउदलाई अक्सनबाट अनुबन्ध गरेको छ ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिसविक्रमसिंह ठकुरीलाई रिटेन गरेको छ । टोलीले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्रेलाई रिलिज गरेको छ ।
अष्ट्रेलियन अलराउण्ड विलियम बोसिस्टोले एनपीएलको दोस्रो सिजन पनि कर्णालीबाटै खेल्ने भएका छन् । पहिलो सिजनको एनपीएल कर्णालीबाट खेलेका बोसिस्टोलाई दोस्रो सिजनका लागि पनि कर्णाली याक्सले स्पोट्स प्रालीले अनुबन्ध गरेको हो ।
कर्णालीले विदेशी खेलाडीमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र म्याक्स ओडाउड र भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ । कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।
सन्दिप लामिछाने मार्की रहेको विराटनगर किंग्सले लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीगरि ६ खेलाडी रिटेन गरेको छ । विराटनगरले मिनी अक्सनबाट सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई लिएको छ ।
विराटनगरले विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका पूर्वस्टार खेलाडी फाफ डु प्लेसिस, न्युजिल्यान्डका पूर्वस्टार मार्टिन गप्तिल, अस्ट्रेलियाका साम हेटलेट, स्कटल्यान्डका जर्ज मुन्से र दक्षिण अफ्रिकाकै मर्नेन्ट डे लाङलाई अनबुन्धन गरेको छ । दोस्रो सिजनका लागि विराटनगर किंग्सले मुख्य प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्यप्रशिक्षक पुबुदु दसानायकेलाई अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सले गत सिजनका मार्की तथा कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई रिटेन गरेको छ । अक्सनमा पोखराले अर्जुन कुमालसहित अभिषेक तिवारीलाई लिएको छ ।
पोखराले विदेशी खेलाडीमा न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमसँगै इंग्ल्यान्डका एडम रोसिङटन, अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफर अनुबन्ध गरेको छ । निशमको आगमनले टिमको सन्तुलत देखि ब्याटिङ बलिङ दुवैमा फाइदा पुग्नेछ ।
पहिलो सिजनमा उनले जनकपुरका लागि अलराउण्ड प्रदर्शन गर्दै त्यो देखाइसकेका छन् । पोखराले राजीव कुमारलाई एनपीएलको दोस्रो सिजनमा पनि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सहभागी आठ क्लबले चार–चारजना विदेशी खेलाडीलाई एकसाथ खेलाउन पाउने प्रावधान छ ।
सोही अनुरुप विभिन्न टोलीले हालसम्म ३५ खेलाडीलाई अनुबन्ध गरिसकेका छन् । सहभागी टोलीले मार्की र अक्सनमार्फत् खरिद गर्ने खेलाडीहरुको टुंगो भने यसअघि नै लगाइसकेका छन् ।









