बिहारमा भाजपा नेतृत्वको गठबन्धनको सुनामी: महागठबन्धनको लागि पाठ

मंसिर ४, २०८२

काठमाडौँ । भारतको बिहारमा भर्खर भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा ) नेतृत्वको गठबन्धन (एनडीए) ले चुनावमा फराकिलो सफलता पाएको छ । एनडीएले २ सय २ स्थानमा विजयी हुँदा विपक्षी राष्ट्रिय जनता दल (आरजेडी) महागठबन्धन ३५ सिटमै सिमित भयो । एनडीएको चुनावी सफलतापछि यसले कस्तो प्रभाव पारेको छ ?

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको दावा गर्ने भारतको बिहारमा भर्खरै विधानसभाको चुनाव सम्पन्न भएको छ । धेरैले अपेक्षा गरे भन्दा विपरीत सत्तारुढ दलहरुको गठबन्धन एनडीएले २०२ सिटको बहुमत ल्यायो । राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको महागठबन्धन ३५ सिटमै खुम्चियो । अपेक्षा विपरित किनभने गत वर्ष मात्र भएको लोकसभाको चुनावमा मोदीकै नेतृत्वमा तेस्रो पटक होमिएको भाजपाले केन्द्रमा २४० सिटमा खुम्चिएको थियो । बिहारमा भने एनडीए गठबन्धनले ३० सिट ल्याएको थियो । बिहार राजनीति शक्ति, जाति र गठबन्धन परिवर्तनको लागि सधैँ खेल मैदान बन्ने गरको छ । त्यसो त बिहारमा, नितिशकुमारको सत्ता आरोहणअघि त्यहाँ लालु यादवको राज थियो । सन् १९९० मा आरजेडीबाट पहिलोपटक मुख्यमन्त्री बनेका लालु यादवको जादु बिहारमा २० वर्षसम्म चल्यो । कतिसम्म भने ‘समोसामा आलु रहेसम्म बिहारमा लालु’ भन्ने नारा एक पटक निकै चर्चित थियो । तर भ्रष्टाचार र अनेकौँ विवादमा घेरिएपछि लालुलाई माथ दिँदै राजनीति दाउपेचका पक्का खेलाडीका रुपमा चिनिएका नितिश यस्तरी उदाए कि उनी नौ पटक बिहारको मुख्यमन्त्री पदमा आसिन भइसके । यसपटक पनि उनले आफ्नो नेतृत्वको जेडीयूलाई ८५ सिट ल्याउँदै विधानसभामा दोस्रो बनाएका छन् । एनडीए घटकमध्ये भारतीय जनता पार्टी ८९ सिट ल्याउँदै पहिलो भएको छ । चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (रामविलास) १९ सिट ल्याउन सफल भएको छ । यही गठबन्धनका अन्य सहयोगी दलले नौ सिट ल्याएका छन् । नितिशलाई कडा टक्कर दिने सोचिएका लालुका छोरा तेजश्वी यादव चुनावमा राघोपुरबाट झिनो मतले विजयी भएका छन् । उनी चुनावअघि सबैभन्दा ठूलो पार्टीको नेता थिए र विपक्षको सशक्त अनुहार मानिन्थे । तर सार्वजनिक नयाँ मतपरिणाम अनुसार आरजेडी २ सय ४३ सदस्यीय विधानसभामा २५ सिटमै खुम्चियो । महागठबन्धनका अन्य घटकहरुको अवस्था आरजेडीभन्दा पनि खराब रह्यो । कंग्रेस आईले ६ सिटमा चित्त बुझाउन बाध्य भयो । कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सवादी–लेलिनवादी (लिबरेशन) २ सिट, इन्डियन इन्क्लुसिभ पार्टी (आईआईपी) १ सिट र कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले १ सिट जित्यो ।

जितपछि प्रधानमन्त्री मोदीले दिल्लीस्थित भाजपाको मुख्यालयमा विजयी सभालाई सम्बोधन गर्दै बिहारमा जंगलराज सकिएको अभिव्यक्ति दिएका थिए । “बिहारको राजनीतिमा जब म जंगलराजको कुरा गर्थे, कट्टा सरकारको चर्चा गर्थे, आरजेडी नेता विरोध गर्दैनथे, तर कंग्रेस नेता विरोध गरिहाल्थे,” उनले थपे, “तर आज म फेरि भन्छु, फिर्ता आउने छैन अब कट्टा सरकार । बिहारका जनताले विकसित बिहारलाई मत दिएका छन् । अब यहाँ जंगलराज समाप्त भएको छ ।”

बिहारको विधानसभा चुनावको परिणामपछि चार वटा विषयमा खास चर्चा भइरहेको छ । पहिलो लालुको किल्ला मानिएको बिहारमा ७४ वर्षीय नितेशको गर्जन झनै चर्किएको छ । दोस्रो युवा नेता तेजश्वी यादवको झिनो मतको विजय परिवारवादको अन्त्यको रुपमा विश्लेषण भइरहेको छ । तेस्रो, कंग्रेसको शर्मनाक हार । राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय कंग्रेस सन् २०१४ पछि भारतीय राजनीतिमा भाजपाको रापतापमा हराउँदै गएको छ । गत वर्ष लोक सभा चुनावमा भारत जोडो यात्रालगायतबाट कंग्रेसलाई सशक्त विपक्षी बनाउन १०० सिट जितेपनि विधानसभा चुनावमा कंग्रेसले लजास्पद हार व्यहोर्दै आएको छ । बिहारमा ६ सिट राहुल गान्धी र कंग्रेस आईको लागि शर्मनाक हार हो । यस्तै, विधानसभा चुनावको अर्को रोचक पक्ष के रह्यो भने चुनाव रणनीतिकार बनेर कुनै बेला कंग्रेस, बीजेपी, ममता बेनर्जीसम्मलाई चुनाव जिताएका प्रशान्त किशोर चुनावमा आफैँ फेल भए । उनको जनस्वराज पार्टीले एक सिट नजित्नुले बिहारको चुनावी मैदानमा प्रशान्त किशोर नराम्ररी चुकेको देखिन्छ ।

यो चुनावले सबैभन्दा बढी फाइदा कसैलाई दिएको छ भने त्यो प्रधानमन्त्री मोदीलाई हो । सन् २०२४ मा आफ्नो गुमेको साख जोगाउँदै मोदीले हरियाणा, महाराष्ट्र, दिल्ली र बिहारमा आफ्नो जादू चलाउन सफल भएका छन् । भाजपा नेतृत्वको एनडीएले ६ मध्ये ४ राज्यमा विजयी हासिल गरेको हो । झारखण्ड तथा जम्मु र काश्मिरमा भने ‘मोदीको म्याजिक’ फेल खाएको थियो । यद्यपि, बिहारलगायत राज्यमा पाएको मतले भाजपालाई आगामी दुई वर्षपछि हुने चुनावमा ठूलो प्रभाव पार्नेछ । आखिर हारिसकेको राज्यमा मोदीले कसरी बहुमत ल्याइरहेका छन् ? सो विषयमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । जसमा भाजपाले चुनावमा मत चोरी गरेको राहुल गान्धीको आरोप छ । महाराष्ट्रमा भएको विधानसभा चुनावमा नै एनसीपी, कंग्रेस पार्टी र शिवसेनाबाट भाजपाले मत चोरेको र त्यसमा निर्वाचन आयोगले सहयोग गरेको गान्धीले बताए । “महाराष्ट्रमा भएको चुनावमा एनसीपी, कंग्रेस पार्टी र शिवसेनाबाट मत चोरी गरिएको थियो । लोकसभाको चुनावपछि नयाँ मतदाता थपिन्छ । थपिएको करिब १ करोड मतदाताले सबै बीजेपीलाई मत दिन्छन्,” उनले भने ।

चुनावमा मत चोरीको विषय गम्भीर हो । एक या दुई सिटको जाँच गर्दा त महिनौँ लाग्छ । यस्तो गम्भीर विषयमा चुनाव आयोगले सिसिटिभी फुटेज सार्वजनिक गर्ने त परको कुरा उल्टै आयोगसँग केही भिडिओ नभएको जवाफ दिँदै आएको छ । यस्तै, चुनावअघि मतदातालाई प्रभाव पार्ने गरी योजना ल्याउनु आचारसंहिता विपरीत छ । बिहारमा सेप्टेम्बरमा मुख्यमन्त्री रोजगार योजना घोषणा गर्यो । त्यसको १० दिनपछि चुनाव आयोगले बिहारमा चुनावको मिति घोषणा गर्यो । जसमा योजनाअन्तर्गत झन्डै ७५ लाख महिलाको खातामा साना व्यवसाय सुरु गर्नका लागि १० हजार भारु प्रत्यक्ष खातामा पठाइयो । मुख्यमन्त्री नितिशकुमारले आफ्ना चुनावी ¥यालीहरुमा महिलाहरुलाई आरक्षण, जागिर र आफ्नै व्यवसाय गर्न चाहनेलाई १० हजार सहयोग गरिएको समेत स्मरण गराएका थिए । विपक्षी महागठबन्धनले निर्वाचनको मुखैमा ल्याइएका ती योजनाको विरोध गरेपनि त्यसलाई रोक्न सकेनन् । बिहारमा महागठबन्धनले मतमा धाँधली, जातिय गणना, वायू प्रदूषण, आय असमानता जस्ता मुद्दा उचाले पनि मतदाताको ठूलो हिस्सा विकास, स्थिरता र लक्षित सुविधाको पक्षमा उभिएको देखिएको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरिरहेका छन् । राहुल गान्धीको दीर्घकालीन आक्रोश–केन्द्रित राजनीतिक शैली, मोदी, आरएसएस, अदाणी–अम्बानी, इलेक्सन कमिसनललगायतका विषयले जनताको मत परिणाममा बदल्न सकेन ।

यद्यपि, सोच्नुपर्ने विषय के छ भने गोदी मिडिया भने भारतीय मूल धारका मिडियाले मतपरिणाम अघि भाजपा गठबन्धनलाई बहुमत देखाएको थिएन । तर चुनावमा सुनामी आएपछि विपक्षी दलको अल्छीपना र भाजपा गठबन्धनको मेहनतको चर्चा गरिरहेको छ । यदि मिडियाले विपक्षी दलको मेहनत देखेकै थिएन र भाजपाले मात्र मेहनत गरिरहेको थियो भने चुनावमा किन भाजपाले बहुमत ल्याउँछ भनेर आँकलन गर्न सकेनन् । कुनै पनि चुनावमा रेफ्री चुनाव आयोग र मिडिया हुन्छन् । तर ती दुवैले भाजपाको फाइदाका लागि भूमिका निर्वाह गरेको आरोप लागेको छ । 


प्रतिक्रिया