​गोरखा डायरी

रेडियो कान्तिपुर संवाददाता

पुस २३, २०७१

सुदीप कैनी

पौष २३, गोरखा ।

  • उत्तरी गोरखामा केहि दिन अघि वर्षा सँगै परेको हिमपातले ठुलो क्षति भएको छ । अत्यधिक हिउ परेर चिसो बढेपछि स्थानियबासी गाँउ छाडेर सदरमुकाम र राजधानीतर्फ हिडेका छन् । सामागाँउका एक सय भन्दा बढी मानिसले गाँउ छाडेको स्थानिय कर्मा लामाले बताए । छेकम्पार, सामागाँउ र ल्हो गाविसमा ४० वर्षपछिको ठुलो हिमपात भएको छेकम्पारका निमा लामाले बताए । हिमपातबाट छेकम्पारको निले गाँउ लघु जलविद्युत आयोजना र छेकम्पार जलविद्युत आयोजनामा पनि क्षति पुगेको दार्जे लोन्डुप लामाले बताए । हिमपातका कारण खर्कमा चरनका लागि छाडिएको दर्जनौं घरपालुवा पशु हराएका छन् । सामागाँउ र ल्होमा हिमपातबाट एक सय भन्दा बढी चौरी मरेको स्थानियबासीले बताएका छन् । 

 

  • जिल्ला शिक्षा कार्यालय गोरखाले जिल्लाका १२ वटा माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने तयारी थालेको छ । चालु आर्थिक वर्ष भित्र पुस्ताकलय स्थापना गरि सक्ने कार्यालयको लक्ष्य रहेको छ । पुस्ताकलय स्थापनाका लागि प्रत्येक विद्यालयलाई १ लाख रुपैंयाँ उपलब्ध गराउने सहायक जिशिअ जनार्दन रिजालले जानकारी दिनुभयो । यसै वर्ष ११ वटा विद्यालयमा विज्ञान प्रयोगशाला पनि स्थापना गरिन उहाँले बताउनुभयो । विज्ञान प्रयोगशाला बनाउन हरेक विद्यालयलाई ६ लाख ५० हजार उपलब्ध गराउने रिजालले बताउनुभयो ।

 

  • आवश्यक पूर्वाधार बिनै केहि समय अघि घोषणा भएको पालुङटार गाविसको गतिविधि संचालनमा समस्या भएको नगरबासीले बताएका छन् । गोरखाका पालुङटार, च्याङली, गाईखुर र आँपपिपल गाविसलाई समेटेर घोषणा गरिएको नगरपालिका कार्यालयको दैनिक कार्य संचालन गर्न समस्या भएको निमित्ति कार्यकारी अधिकृत रामचन्द्र मरहठ्ठाले जानकारी दिनुभयो । गाविसको नाममा नै असुन्तुष्टि जनाएका नगरबासीले नाम परिवर्तन गर्न सुझाव दिएका छन् । कर्मचारी अभावमा कार्यलयको दैनिक काम गर्न पनि बाधा हुने गरेको उहाँले गुनासो गर्नुभयो । 

 

  • गाँउवस्तीमा भालु लगायत वन्यजन्तुले सताएपछि त्यसबाट बच्न करेन्ट लगाउने उपाय रचिएको छ । भालु, मृग बस्तीमा आएर बारीमा लगाएको बालीनाली नष्ट गर्न थालेपछि संरक्षित क्षेत्रमा करेन्ट लगाएर तर्साउने विधि अपनाईएको हो । गोरखा जिल्लाको प्रोक गाविसमा भालु आतंक वढेपछि सोलार जडान गरि तारवारमा करेन्ट छाडिएको मनासलु क्षेत्र संरक्षण आयोजनाका प्रमुख राजकुमार गुरुङले जानकारी दिनुभयो । 


प्रतिक्रिया