कसरी सम्भव भयो नेविसंघको ११ औं अधिवेशनमा चुनाव !

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७३ | काठमाडौं

  • प्रकाशशरण महत, कंग्रेस नेता

उद्घाटनको १० दिनपछि नेपाली कंग्रेसको मुख्यालयमा सानेपामा बुधबार मध्यरातसम्म मतदान गरेर विद्यार्थीले नेविसंघको ११ औं महाधिवेशनलाई सफल तुल्याएका छन् । निर्वाचन परिणाम सम्भवत: शुक्रबार बिहानसम्म सम्पूर्ण रुपमा सार्वजनिक होला । कसैले तोकिदिएको नेतृत्वभन्दा आफूले छनोट गर्न पाउनुपर्छ भन्ने विद्यार्थीको भावनालाई सर्वप्रथम म सलाम गर्न चाहन्छु । उनीहरुको त्यही चाहनालाई सम्बोधन गर्न पार्टीले नेविसंघको महाधिवेशन सम्पन्न गर्न मेरो संयोजकत्वमा निर्देशक समिति गठन गरेको थियो । त्यस अर्थमा पनि सफलताको केही अंश समितिको नाममा पनि रहला । तर, चुनावअघि प्रतिनिधिको नामावली मिलाउन भने समितिलाई ठूलै कसरत गर्नुपरेको थियो ।  

प्रत्येक २–२ वर्षमा हुनुपर्ने भएपनि यो पटक नेपाल विद्यार्थी संघको अधिवेशन झण्डै १० वर्षपछि भयो । यसले गर्दा नेविसंघ विद्यार्थीमाझ जति गतिशिल, जति सक्रिय र जति लोकप्रिय हुनुपर्ने हो त्यो हुन सकेको छैन । माउ पार्टीको नेतृत्वमा पनि कहीं न कहीं नेविसंघभित्र आफ्नो प्रभाव कायम राखि राख्ने चाहनाले पनि समयमै अधिवेशन सम्पन्न नगर्ने माहौललाई मलजल गरेको छ । नेविसंघ मार्फत् नेपाली काँग्रेसभित्र आफू बलियो हुन खोज्ने नेताहरुको पार्टीमा कमी छैन ।

अहिलेको पार्टी सभापति शेरबहादुर देउवा पनि नेविसंघको दोस्रो महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनु भएको हो । पार्टीको कार्यसमितिमै पनि नेविसंघको नेतृत्व तहमा पुगेकाहरुको संख्या अधिक छ । त्यसैले कोही पनि नेविसंघमा आफ्नो प्रभाव कम होस भन्ने चाहँदैन ।

निर्वाचन हुँदा आफू अनुकुलको नेतृत्व नेविसंघमा नआउने भयले पनि कतिपटक अधिवेशन स्थगित गरेर आफूले चाहेजस्तो नेतृत्व स्थापित भएको नजिर नेविसंघमा छ । पछिल्लो समय १० वर्ष नेविसंघको अधिवेशन नहुनुमा पनि यही चाहना र लालसा मुख्य कारकको रुपमा रहेको छ ।

शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भइसकेपछिको पहिलो कार्यसमिति बैठकबाटै उहाँले भ्रातृ संगठनको चुनाव ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय गराउनुभयो । तर, पटकपटक घोषणा र स्थगित हुँदै आएको नेविसंघको अधिवेशनको मिति आउन १२ दिन अघि मात्रै पार्टी सभापतिले मेरो संयोजकत्वमा निर्देशक समिति गठन गर्नुभयो । त्यसपछि तोकिएको समयमै विधिसम्मत अधिवेशन गराउने चुनौती हाम्रो काँधमा आयो ।

सो समयमा नेविसंघको जिल्ला अधिवेशन ६४ जिल्लामा मात्रै सकिएको र बाँकी ११ जिल्लामा निर्वाचन हुन नसकेको, भएकोमा पनि विवाद रहेको र त्यस अन्तर्गतका कतिपय क्याम्पसमा पनि अधिवेशन हुन नसकेको अवस्थालाई चिर्दै नेविसंघको ११ औं महाधिवेशन सम्पन्न गर्ने वातावरण तयार पार्नु ठूलै चुनौतीको रुपमा रह्यो । ६४ जिल्ला पनि पूर्ण विवादरहित थिएन । त्यसो हुनाले सबैभन्दा पहिले विवादको निरुपण कसरी गर्ने भन्नेमा हामीले छलफल केन्द्रित गर्‍यौं ।

तर त्यसबीचमा विद्यार्थी नेताहरुले अनशन पनि शुरु गरे । विधिवत निर्वाचन नभएका स्थानलाई त्यतिकै थाँती राखेर महाधिवेशन गनेृ वातावरण पनि थिएन । र समय पनि अत्यन्तै छोटो थियो ।

विभिन्न समूहमा रहेका विद्यार्थी नेताहरुले विवादित जिल्लामा आफ्नो प्रभाव सबैभन्दा बलियो भएको दाबी गरे । विधिवत निर्वाचन नभएका ती स्थानमा उनीहरुको दाबी झुटो हो भन्नका लागि पनि हामीसँग कुनै आधार थिएन । जब कि विद्यार्थीहरुले दाबी गरेजस्तो प्रभाव जाँच्नका लागि अर्को निर्वाचन गर्नुपर्ने हुन्थ्यो । तर त्यसका लागि समय थिएन । उनीहरुको दाबीलाई झुटो साबित गर्नका लागि पनि कुनै मापदण्ड हामीसँग थिएन । यसलायृ टुङ्ग्याउन हामीले रातरातभर छलफल चलायौं ।

पार्टी सभापति देउवाजीले पनि हामीलाई ठूलो नैतिक बल दिनुभयो । पहिले पहिले भ्रातृ संगठनमा विवाद हुँदा नेतृत्वले नै अग्रसरता लिए आफू अनुकुलको व्यक्तिको नाम टाँस्ने परम्परा विपरित उहाँले सधैं विधिवत निवार्चनमा जोड दिनुभयो । बरु जो आएपनि नेविसंघभित्रैबाट नेतृत्वमा आउने भन्दै उहाँले आफ्नो अनुकुलको नेतृत्व ल्याउन कुनै जोडबल गर्नुभएन । सबै पक्षलाई सहमतिमा ल्याएर महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने पार्टी सभापतिको चाहनाले पनि हामीलाई ऊर्जा मिल्यो ।

देउवाजीले जस्ले आफ्नो पक्षमा धेरै प्रतिनिधि हुनुपर्छ भनेर माग गरेका छन् उनीहरुलाई मागेजतिनै संख्या दिएर भएपनि अधिवेशन गराउ भन्नुभएको थियो । विवाद समाधान हुनुपर्छ भन्ने विद्यार्थी नेताहरुले पनि त्यसमा सहमति जनाए । बरु, पार्टीमा शीर्ष तहमा रहेका केही नेताहरुले भने मेरो गोरुको बाह्रै टक्काको अडान छोड्नु भएन ।

त्यसैले महाधिवेशन सहज ढंगले सम्पन्न गर्नुपर्छ भन्ने विचार र विवादलाई आफ्नो शक्ति र सामथ्र्य पुष्टि गर्ने औजारका रुपमा प्रयोग गर्ने मनोवृतिका बीचमा रहेर काम गर्न सजिलो थिएन । महाधिवेशनका लागि मुलुकभरबाट आएका विद्यार्थी प्रतिनिधिहरुको चाहना भने विधिसम्मत् तरिकाबाट हुने निर्वाचनमा मतदातालाई रिझाएर नेतृत्वमा पुगौं भन्ने थियो । अर्को कुरा निर्देशक समितिमा रहेकाहरु ( म, किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरु घिमिरे र प्रदीप पौडेल ) सबै नेविसंघको नेतृत्वमा रहिसकेका व्यक्तिहरु भएकाले पनि विद्यार्थीको भावना बुझ्न थप सहज भयो ।

विवादित जिल्ला र अनशनरत पक्षको माग सम्बोधन गर्नका लागि हामीले संख्या तलमाथि भएर खासै फरक पर्दैन तर सबैलाई मिलाएर अघि बढ्नु उत्तम बिकल्प हो भन्ने ठान्यौं । त्यसैले विवादित जिल्लामा केही संख्या थपेर मिलाउने, र आफू शक्तिशाली भएको दाबी गर्ने विद्यार्थी नेताहरुबाटै संख्या माग गरेर उनीहरुको माग सम्बोधन गर्ने निर्णयमा निर्देशक समिति पुग्यो । त्यही सहमतिलाई नामावलीमा रुपान्तरण गर्न पनि हामीले विद्यार्थी नेताहरुलाई नै आग्रह गर्‍यौं ।

यसरी ७–८ दिनसम्म रातरातभर गरिएको निस्वार्थ छलफल र मिहेनतको फलस्वरुप हामी १० वर्षपछि नेविसंघको महाधिवेशन विधिवत् तरिकाले गर्न सफल भयौं ।

तर, मंगलबार राति प्रतिनिधिको संख्यामा सहमति गरिएपनि धेरैपछि मात्रै उनीहरुको नामावली निर्देशक समितिले प्राप्त गर्‍यो । बिहीबारसम्ममा नामावली प्रकाशन गरेर शुक्रबारबाट निर्वाचन कार्यक्रम थाल्ने सहमति निर्वाचन समितिसँग भएपनि विद्यार्थी नेताहरुबाट नाम प्राप्त नभएपछि त्यो पनि सम्भवन भएन । शनिबार दिउँसो नामावली पार्टीको आधिकारित वेबसाइटमा राख्ने तयारी हुँदा प्राविधिक समस्या आएपछि राति सवा ९ बजेतिर बल्ल हामीलाई सफलता मिल्यो ।

नेविसंघका तत्कालीन अध्यक्ष रञ्जित कर्ण र मेरो हस्ताक्षरसहित सार्वजनिक भएको नामावालीमा पार्टीकै केही नेताहरुले फर्जी पनि मिसिएको भन्ने आरोप लगाए । पछि निर्देशक समितिका सदस्यहरु गुरु घिमिरे र गोविन्द भट्टराईले विज्ञप्ति निकालेर छानबिन गर्नुपर्ने माग गर्नुभयो । समितिमा व्यापक छलफलपछि तय भएको नाममा साथीहरुले पानीमाथिको ओभानो बन्ने नाममा आरोप लगाउनुभयो । शीर्ष तहमा वार्तापछि फर्जी भेटिए खारेज गर्ने सहमति भयो ।

हामीले ३ हजार ७ सय ६० को नामावली सार्वजनिक गर्दा फर्जी पछि छन् भन्ने आरोप लगाउनेहरुले पनि केही नाम थपेर अन्तिम नामावली ३ हजार ८ सय ५२ पुर्‍याए । फर्जी नाम भएको भए संख्या घट्नुपर्ने होइन ? बढेको संख्याले भागबण्डा गर्न हुन्न भन्ने पक्षले पनि भाग लिएको पुष्टि भएको छ । आरोपका लागि आरोप लगाएर हुन लागेको निर्वाचन भाँड्ने प्रपञ्च पनि पार्टी भित्रैका नेताहरुबाट हुन खोजेको थियो । त्यसमा चाहिं अलि बढी दुख लागेको छ ।   

त्यसबीचमा नेविसंघको महाधिवेशको उद्घाटन भएको ८ दिन बितिसकेको थियो । विद्यार्थी प्रतिनिधिहरुमा चुनाव नहुने पो हो कि भन्ने शंका व्याप्त थियो । त्यसलाई चिरेर अघि बढ्न पनि हामीलाई पार्टी सभापतिले बेलाबेला हौसला दिनुभयो ।

विद्यार्थीको सहयोग र पार्टी नेतत्वको सुझबुझपूर्ण व्यवहार र हाम्रो अथक प्रयासले नेविसंघको ११ औं महाधिवेशन जसोतसो सम्भव भएको छ । १२ औं महाधिवेशन भने समयमै, विधिसम्मत ढंगबाट सम्पन्न हुने मार्ग प्रशस्त गर्न त्यसै अनुसार बिधान पनि परिवर्तन भएकाले अब समस्या नहाउला भन्ने आशा पलाएको छ ।

(माउ पार्टी नेपाली कंग्रेसले नेविसंघ अधिवेशनका सम्पन्न गर्नका लागि गठन गरेको निर्देशक समितिका संयोजक डा.प्रकाशशरण महतको विचार )

 

 

 


प्रतिक्रिया