प्रहरी हिरासतमा देखिएका समस्याबारे गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह
कार्तिक ३०, २०८२ | काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतमा देखिएका समस्याबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरुको हिरासत कक्षका शौचालय, पक्राउ गर्दा दिनुपर्ने पुर्जी तथा महिला हिरासत कक्ष नभएको लगायत विषयमा गम्भीर हुुन भनेको हो । काठमाडौंभित्र रहेका प्रहरी हिरासत कक्षको अनुगमनका क्रममा प्राप्त भएका गुनासो सम्बोधनका लागि आग्रह गरिएको आयोगले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपश्चात पक्राउ गरिएका प्रदर्शनकारीको स्वास्थ्य परीक्षण गरिएपनि हिरासतका शौचालय दुर्गन्धित भएको, पक्राउ पुर्जी नदिएको तथा हिरासतमा महिला कक्षको अभाव समेत रहेको पाइएको आयोगको भनाइ छ ।
कतिपय हिरासतमा भौतिक संरचनाको समेत अभाव देखिएको अयोगका प्रवक्ता टिकाराम पोखरेलले जानकारी दिनुभयो । यसैबीच, मानवअधिकार आयोगले अन्य विभिन्न जिल्लाका हिरासतमा थुनुवाको अवस्थाबारे अनुगमन सुरु गरिएको जनाएको छ ।








