सन्दर्भ : विश्व रेडियो दिवस

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १, २०७४ | काठमाडौं

रेडियोलाई आवाजबिहीनहरुको आवाज भनिन्छ । त्यसो त पत्रकारिता समग्रमै तिनै आवाज नहुनेहरुको आवाज हो, रेडियो श्रव्य माध्यम भएकाले यसलाई त्यो अझ सुहाउँछ । आवाज र मेरो सम्बन्ध पनि बडो अचम्मको छ । सानोमा मलाई देख्नेहरुले अहिले रेडियोमा बोलेको सुनेर अचम्मा पर्छन् । कुनै कार्यक्रममा अग्रजहरुसँग भेट्दा उहाँहरुले भन्नेपनि गर्नुहुन्छ– तैंले रेडियोमा बोलेर खालास् भनेर सोचेका पनि थिएनौं । 

म आफैंलाई पनि रेडियोमा काम गर्छु भन्ने कहिल्यै लागेन । किनभने बाल्यकालमा म राम्ररी बोल्न सक्दिनथें । परिवारका सदस्यहरु अनुसार अरुले भन्दा केही ढिलो मैले बोलेको रे । ६–७ महिनासम्म पनि नबोलेपछि सातो बोलाउन डोकोले छोपेर बार्दलीबाट पानी खत्याउँदा पनि मेरो वाक्य फुटेनछ । भाकल साकल गरिए । बल्ल १ वर्षको हूँदा मेरो वाक्य फुट्यो ।

बोल्नसक्ने त भएँ म तर, बीचबीचमा अड्किएर बोल्न थालें । अर्थात् भकभकाउने समस्या ममा देखा पर्‍यो ।अहिले पनि म कहिलेकाहीं केही शब्दहरु उच्चारण गर्दा अड्किने गर्छु । तर, पहिलेजस्तो वाक्य पिच्छे नै अड्किने समस्या छैन । स्कूलमा पनि म कक्षामा कहिल्यै प्रश्न सोध्निथें । कारण बोल्दा अड्कियो भने साथीहरुले मात्र हैन शिक्षक / शिक्षिकाले पनि उडाउँथे । नबोल्नु नै हितकर हुन्थ्यो मेरा लागि ।

२०५५ सालतिर जतिबेला एफएम रेडियोको क्रेज उत्कर्षमा थियो, त्यतिबेला ममा पनि रेडियोमा बोल्ने रहर पलायो । काठमाडौंका जमलमा तीर्थ भण्डारीले जमलेश्वर इस्टिच्युटमा रेडियो उद्घोषण सम्बन्धी २ महिने तालिम दिनुहुन्थ्यो । पत्रिकामा विज्ञापन हेरेर त्यहाँ पुगें । तर, शुल्क त्यतिबेला ५ हजार हाराहारी थियो । त्यतिबेला म बोर्डिङ स्कूलमा पढाउँथे । तलब थियो २ हजार ५ सय । 

आफ्नो कमाईले नपुग्ने भएपछि बुवालाई गुहारें । उहाँले प्रस्ताव ठाडै अस्विकार गर्नुभयो–‘यस्तो भक्भकाउनेले पनि रेडियोमा बोल्छ ?’ मसँग चुप लाग्नबाहेक कुनै बिकल्प थिएन । रेडियो तालिम लिने रहरमा बुवाले चिसोपानी खन्याइदिनु भएपछि आमालाई फकाएँ । आमाहरु साह्रै दयालु हुन्छन् । सन्तानको रोदनमा चाँडै पग्लन्छन्, बुवाको तुलनामा । मेरो काइदाले काम गर्‍यो । आमाले पैसा दिएपछि तालिम पनि लिएँ ।

रेडियोका त्यतिबेलाका हस्तीहरु हरिशरण लामिछाने, प्रभात रिमाल, दिनेश डी.सी, शरदराज गौतम, दुर्गानाथ शर्मा लगायतले हामीलाई तालिम दिनुभयो । अतिथि प्रशिक्षक नभएका बेला तीर्थ सरले प्रशिक्षण दिनुहुन्थ्यो । रेडियोमा बोल्ने तालिम सकाए पनि भक्भकाउने मेरो बानीमा कुनै सुधार भएन । तालिम लिंदा खर्रर बोल्नसक्छु जस्तो लाग्थ्यो । तर, अगाडि आएर बोल्नसक्ने भइनँ ।

२०५८ सालमा कान्तिपुर एफएमले आरजे र आरए ( आरए भनेको रिसर्च एसिस्टेन्ट रहेछ भन्ने कुरो मैले रेडियोमा काम थालेको अर्को हप्तामात्रै बुझें ) का लागि दर्खास्त माग्यो । विभिन्न चरणको लिखित र मौखिक परीक्षापछि रेडियोको जागिरे भइयो । आरएमा जागिर खाएकाले बोल्ने अवसर रेडियोमा पनि मिलेन । रेडियो एङ्करलाई आरए भन्छ भन्ने मैले पढेको थिए । तालिममा पनि त्यही सिकाइयो । तर, काम रिसर्च एसिस्टेन्टको पर्‍यो । कार्यक्रम सञ्चालकहरुका लागि सामग्री तयार पारिदिने र श्रोता सर्वेक्षणसहितका अन्य अनुसन्धानमुलक काम गर्ने जिम्मेवारी थियो हाम्रो टीमको । 

त्यतिबेला म त्रिचन्द्र कलेजमा स्नातक अध्ययन गर्दै थिएँ । कलेजमा रेडियोमा काम गर्ने भनेर चिन्थे तर मैले रेडियोमा बोल्न पाएको थिइनँ । साथीहरुले उडाउन थालिसकेका थिए । त्यतिबेला मायोज तारेमाम भन्ने कार्यक्रम हेम सुवेदीले चलाउनु हुन्थ्यो । स्टेशन म्यानेजर शरदराज गौतम हुनुहुन्थयो । शरद दाइले मलाई हेमको कार्यक्रममा रेडियो रिपोर्ट र अन्तर्वार्ताहरु गर्नका लागि खटाइदिनुभयो । 

रेडियोमा आउनुअघि खोजपत्रकारिता केन्द्रमा मोहन मैनाली र बसन्त थापासँग काम गर्ने मेसो बुवाले जुराइदिनु भएको थियो । त्यही अनुभवका आधारमा रेडियोमा आवाज सुनाउनसम्म भने पनि पाएँ । 

कान्तिपुर एफएममा काम गरेको तेस्रो महिना बितेपछि एकदिन मैले सिफ्ट ईन्चार्ज दिनेश डीसीसँग गुनासो पोखें–‘दाइ मलाई पनि रेडियोमा बोल्न मन लागेको छ । कुनै कार्यक्रम चलाउन पाए हुन्थ्यो ।’ उहाँले अगाडि टेबलमा रहेको पत्रिका पढ्न भन्नुभयो । मैले केही लाइनहरु वाचन गरें । बेलाबेलामा अड्किएको देखेर उहाँले मलाई सुझाव दिनुभयो–‘यसरी अड्किएर बोलेर हुन्न । घरमा नियमित रुपमा पत्रिका ठूलो स्वरमा वाचन गर्नुस् । शिरदेखि पाउसम्म देखिने ऐना अगाडि उभिएर बोल्ने प्रयास गर्नुस् । शुरुमा आफूले जानेको विषय र पछि टिपोटहरु हेर्दै बोल्न थाल्नुस् ।’

यति गरेर १५ दिनपछि भेट्न उहाँले भन्नुभयो । ती १५ दिन मेरालागि १५ हजार वर्षजस्ता लामा भए । १६ औं दिन म उहाँको अगाडि उभिएँ । दिनेश दाइको हातमा ट्राफिक अपडेटको फ्याक्स प्रिन्ट थियो । त्यो उहाँले मलाई थमाउनुभयो र टेक्निसियन दाजु श्याम श्रेष्ठलाई बोलाएर मलाई अन एयर हुने बारे जानकारी दिन भन्नुभयो । श्याम दाइले मलाई माइक अन र अफ कसरी गर्ने र हेडफोनमा कुन म्युजिक बजेपछि बोल्ने भनेर सिकाउनुभयो । 

हेडफोन लगाएर माइक अन गर्दा मेरा हात खुट्टा सबै चिसा भइसकेका थिए । मुटुमा एकैपटक सयौं किलाहरु रोपिएजस्तो भान भएको थियो । त्यो ५ मिनेट समय कसरी सकियो मलाई अझै थाहा छैन । प्रत्यक्ष रुपमा रेडियोमा बोलेको त्यही मेरो पहिलो अनुभव थियो । कार्यक्रम सकेपछि दिनेश दाइले थप सुझावहरु दिनुभयो । त्यहाँ मो.सा लेखिएको थियो जसलाई मोटरसाइकल भन्नुपर्दो रहेछ । इ.प्र.का लाई इलाका प्रहरी कार्यालय र ट्रा.प्र लाई ट्राफिक प्रहरी । यस्ता कुराहरु सिकाएपछि मैले नियमित रुपमा ट्राफिक अपडेट चलाउन पाएँ ।

त्यसको अर्को साता साँझका इन्चार्ज प्रभात रिमालले मलाई  फ्लाइट चेक पढ्न दिनुभयो जहाँ काठमाडौं अवतरण हुने र यहाँबाट उड्ने अन्तर्राष्ट्रिय उडानका बारेमा जानकारी दिइन्थ्यो । ट्राफिक अपडेट आजसम्म चलिरहेको छ । तर फ्लाइटचेक बन्द भएको धेरै भइसक्यो । 

रेडियोमा बोल्न थालेपछि ममा समाचार वाचन गर्ने रहर पलायो । रेडियो आउनुअघि नै मैले प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको आधारभूत तालिम लिइसकेको थिएँ । राजाको प्रत्यक्ष शासन शुरु हुनु केही समयअघि म समाचार कक्षमा सरुवा भएँ । जबकि त्यसअघि पनि मैले माओवादी सशस्त्र द्वन्द्वबारे केही रिपोर्ट र नेपाली कंग्रेस पार्टी विभाजनको बारेमा रिपोर्टहरु बनाइसकेको थिएँ । मनोज आचार्य दाजुले खेलकुदको समाचार लेख्न सिकाएकाले टेनिस र क्रिकेटको समाचार तीन बजे भन्ने समाचार बुलेटिनका लागि म आफैं बनाउँथे । 

तर, समाचार शाखामा सरुवा भएको केही समयपछि रेडियोमा समाचार बज्न छाड्यो । रेडियोका सम्पादकमा आर्मीका अफिसरहरु आएका थिए । समाचार बन्द भएपछि साथीहरु कोही कान्तिपुर दैनिक त केही कान्तिपुर टेलिभिजनमा लागे । सम्पादक प्रवीण अधिकारी र म कान्तिपुर एफएममै रह्यौं र अन्य समाचारमुलक कार्यक्रमहरु उत्पादन गर्न लाग्यौं । पछि रेडियोले समाचार बजाउन पाउने भएपछि हामीले नियमित बुलेटिनहरु शुरु गर्‍यौं । यसरी नियमित रुपमा समाचार प्रसारण गर्न थालेको अर्को वर्ष सन् २००७ मा म रेडियोको समाचार शाखाबाट उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएँ । 

त्यतिबेला पनि म केही शब्द उच्चारण गर्दा अड्किन्थें । अहिले पनि कहिलेकाहीं केही शब्दमा मलाई अप्ठेरो हुन्छ । तर, रेडियोमा मैलै आर्जन गरेको ज्ञान भनेको के हो भने, जब अरुले तपाईलाई तैंले यो गर्न सक्दैनस् भनेर भन्छ । तपैंले त्यो काम जसरी पनि गर्नैपर्छ । कान्तिपुरका स्टेशन म्यानेजर शरदराज गौतम भन्नुहुन्थ्यो– ‘रेडियोमा केटाको आवाज केटीजस्तो र केटीको केटाजस्तो नसुनिए केही फरक पर्दैन ।’

रेडियोले सबैलाई मौका दिन्छ । कोही मौकामा हिरा फोर्छन् । कसैले मौका गुमाउँछन् । फरक त्यति मात्र हो । रेडियो दिवसको सबैमा शुभकामना । 

 


प्रतिक्रिया