बालकको मृत्युपछि अस्पतालमा तोडफोड, कर्मचारी कुटिए

भाद्र २८, २०७८ | बारा

बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित नगरस्तरीय अस्पतालमा तोडफोड भएको छ । सर्पदंशले डेढ वर्षीय बालकको मृत्यु भएपछि उपचार नपाएको भन्दै मृतकका आफन्तसहित स्थानीयले सोमबार अस्पताल र नगरपालिका कार्यालयमा तोडफोड गर्दै कर्मचारीलाई समेत कुटपिट गरेका छन् । 

कुटपिटबाट नगरपालिकाको अपाङ्गता शाखाका कर्मचारी प्रयाग महतो घाइते भएका छन् । उनी पनि शारीरिक अपाङ्ता भएका व्यक्ति हुन् । उनको पर्साको वीरगञ्जस्थित इन्डो अस्पतालको आइसीयूमा उपचार भईरहेको छ । नगर प्रहरी सहित अन्य १२ जना समान्य घाइते भएका छन् । उनीहरुको इन्डो अस्पतामै उपचार भइरहेको सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवले बताउनुभयो ।

‘बच्चाको अवस्था काबु भन्दा बाहिर भइसकेकोले सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिइएको थियो,’ उहाँले भन्नुभयो, ‘हामी चाहँदैनौ कि कसैको ज्यान जाओस । जीवन जोगाउने हाम्रो प्रयास हुन्छ ।’ 

आक्रोसित स्थानीयले नगरपालिकको ढोका फोड्नुको साथै अस्पताको झ्यालमा तोडफोड गरी क्षति पुरयाएका छन् । उनीहरुले अस्पतालको फार्मेसी, ल्याब, कम्प्युटर लगायतमा क्षति पुर्‍याएका छन् । नगरपालिका कार्यालय र अस्पतालमा दिनभर तनाव थियो । 

स्थानीयले नगरपालिका कार्यालयमा सोत तोडफोड गरेपछि सेवाग्रहीको काम प्रभावित बनेको नगरपालिकाका लेखा प्रमुख सर्वेन्द्र चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक उक्साहटमा गाउँलेहरु परिचालित भएर कर्मचारीलाई कुट्नुको साथै अस्पताल र नगरपालिकामा तोडफोड गरिएको छ ।’

सिम्रौनगढ नगरपालिका–२ मौवाही टोलका सतिश साहको छोरालाई आइतबार मध्य रातमा सर्पले डसेपछि सिम्रौनगढ नगरपालिकाले सिम्रौनगढ बजारमा सञ्चालन गर्दै आएको नगरस्तरीय अस्पतालमा उपचारको लागि ल्याएका थिए । तर, बालकको अवस्था गम्भीर र अस्पतालमा भेन्टिलेटर तथा आइसीयूको व्यवस्था नभएकाले बाहिर लैजान अस्पतालमा स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । 

सल्लाह अनुसार उपचारको लागि कलैया लग्दै गर्दा बाटोमा नै बालकको मृत्यु भएको बालकको आफन्त ताराचन्द साहले बताए । ‘सिम्रौनगढमै सुई लगाएपछि बच्चा जोगिन सक्थ्यो,’ उनले भने, ‘अस्पतालका स्वास्थ्यकर्मी गैर जिम्मेवार भए । उपचारै गर्न मानेनन् ।’


प्रतिक्रिया