खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०८२ | काठमाडौं

नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्व तथा वाटरएड नेपालको सहकार्यमा कार्यान्वयन गरिएको कार्यक्रमसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

महाशाखाका अनुसार शुरुवाती चरणका परिणामले मुख्य स्वच्छता व्यवहारमा उल्लेखनीय सुधार देखिएको छ । खोप कभरेजमा वृद्धि, ड्रपआउट तथा खोप खेर जाने दरमा कमी र पखाला रोगको दर १५ प्रतिशतबाट घटेर ५ प्रतिशतमा पुगेको छ । साथै, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता पनि उल्लेखनीय रूपमा अभिवृद्धि भएको प्रतिवेदनको निष्कर्ष छ ।

सन् २०२५/२६ मा गरिएको राष्ट्रिय मूल्यांकनले स्वच्छता व्यवहार र खोप कभरेज दुवैमा सुधार भएको पुष्टि गरेको महाशाखाले जनाएको छ । मूल्यांकन प्रतिवेदनले व्यवहार परिवर्तनमा निरन्तर ध्यान, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, आधारभूत सामग्रीको उपलब्धता सुनिश्चितता, प्रभावकारी अनुगमन प्रणाली, डिजिटल उपकरणसहित मिश्रित सेवा प्रवाह तथा दीर्घकालीन वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

जोखिमपूर्ण समयमा साबुनपानीले हात धुने, पिउनु अघि पानी तथा दूध सुरक्षित बनाउने, खाद्य स्वच्छता अपनाउने, पूर्ण स्तनपान गराउने, शौचालय प्रयोग तथा बालबालिकाको दिसाको सुरक्षित व्यवस्थापन गर्ने लगायत उद्देश्यसहित सरसफाइ प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो ।

सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा पाइलटका रूपमा सुरु गरिएको यस कार्यक्रमको सफलतापछि नेपाल सरकारले सन् २०१८ मा यसलाई देशव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसपश्चात सन् २०२० मा रोटा–भाइरस खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गर्ने क्रममा सो कार्यक्रम पनि ७७ वटै जिल्लामा विस्तार गरिएको महाशाखाले जनाएको छ ।  


प्रतिक्रिया