डेंगी संक्रमण नियन्त्रण गर्न सचेतना राष्ट्रिय अभियान घोषणा

असार ३२, २०८२

सरकारले डेंगी संक्रमण नियन्त्रण गर्न सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण गर्नका लागि साउन महिनालाई डेंगी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । 

अभियानका क्रममा हरेक शुक्रबार सार्वजनिक स्थलमा सरसफाइ तथा लामखुट्टे प्रजनन् स्थलको खोजी र नष्ट गर्ने, तीनै तहमा छलफल र पैरवी गर्ने तथा डेंगीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने लगायत गतिविधि गरिने मन्त्रालयले जनाएको छ । राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले साउनबाट डेंगी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । डेंगी संक्रमणका सबै आधार नष्ट गर्ने गरी काम गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

डेंगी सम्वन्धी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनमा सबै पक्षको सहयोग हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । आम नागरिकलाई संक्रमणबाट जोगाउनु सबैको दायित्व भएको उहाँको भनाइ छ ।

डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने विज्ञहरुले भएका छन् । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगी संक्रमित भएका छन् । सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ ।


प्रतिक्रिया