मुग्लिन बजार क्षेत्रका ६ जनामा डेंगी संक्रमण पुष्टि

श्रावण १५, २०८१ | चितवन

चितवनको इच्छाकामना गाउँपालिका–६ मुग्लिन बजारमा एकैदिन ६ जनामा डेंगीको संक्रमण देखिएको छ । मुग्लिन बजार क्षेत्रमा आइतबार एकै दिन ६ जनामा डेंगी संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । 

इच्छाकामना गाउँपालिकामा साउनयता मात्रै डेंगी संक्रमितको संख्या ६३ जना पुगेको स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले बताउनुभयो । स्थानीयका साथै पालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा पनि डेंगी संक्रमण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । 

‘इच्छाकामना–५ मा पर्ने मुग्लिन बजार क्षेत्रमा अलि बढी डेंगी संक्रमण देखिएको छ’, उहाँले भन्नुभयो, ‘हामीले डेंगी गराउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई तीब्रता दिएका छौं ।’ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवकोटाले साउन लागेसँगै संक्रमण बढेको बताउनुभयो । ‘फाट्टफुट्ट केसहरु त जेठबाटै देखिएको थियो,’ उहाँले भन्नुभयो, ‘तर साउन लागेसँगै संख्या बढेको हो ।’

देवकोटाका अनुसार गत जेठदेखि असार मसान्तसम्म इच्छाकामनामा ३४ जना संक्रमित थिए । साउन लागेपछि संक्रमित थपिएर ६३ जनामा पुगेको देवकोटाले जानकारी दिनुभयो । साउनको पहिलो हप्ता मुग्लिन बजार क्षेत्रमा धेरै जनामा संक्रमण देखिएको थियो । 

अहिले वडा नम्बर ३ र ४ मा पनि संक्रमण फैलिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले बताउनुभयो । ‘पानी आउँछ अनि चर्को घाम लाग्ने गर्दछ’, उहाँले भन्नुभयो, ‘यस्तो वातावरण डेंगी गराउने लामखुट्टे हुर्कन बढ्न निकै अनुकूल हुने देखिएको छ ।’ डेंगीको स.क्रमण फैलिएसँगै स्थानीयलाई सचेत गराउन घरदैलो अभियान नै चलाएको इच्छाकामना–५ का वडाध्यक्ष तेजबहादुर शेरचनले बताउनुभयो । 

डेंगी गराउने लामखुट्टेले भाडाकुँडा, ड्रम र टायरमा जमेको सफा पानीमा अण्डा पार्दछ । ‘घर आँगन सफा राखेर मात्रै पनि भएन’, उहाँले भन्नुभयो, ‘कुलर, फ्रिज, गमला तल राखेको प्लेट र बाहिर छत र करेसामा मिल्केका टुटेफुटेका भाँडाहरुमा पनि थोरै सफा पानी जम्न पायो भने डेंगी गराउने लामखुट्टेले अण्डा पार्दछ । त्यसैले सानाठूला, टुटेफुटेका टुक्रा भाँडामा पनि पानी जम्न दिनु हुँदैन भनेर हामीले अभियान चलाएका छौं ।’

बजार क्षेत्रमा पुराना टायरहरुमा पनि पानी जमे समस्या हुने भएकोले वर्कसप, रिसोलिङ सेन्टरहरुमा पनि अनुगमन गरिएको वडाध्यक्ष शेरचनले बताउनुभयो । ‘सके जति सम्झाउने बुझाउने गरेका छौं’, उहाँले भन्नुभयो, ‘लामखुट्टे नमौलाए यो रोग नै निस्कँदो रहेनछ । त्यसैले हामीले ल है नया“ पुराना सग्ला हुन या टुटेफुटेका भाँडाकुँडा र पुराना टायरमा पानी जम्मा नहोस् भनेका छौं ।’ डेंगीको लक्षण भनेको कडा ज्वरो आउनु हो । 

ज्वरो आएमा स्वास्थ्यकर्मीको सल्लाह लिन देवकोटाले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण बढेपनि अहिलेसम्म त्यस्तो ठूलो स्वास्थ्य समस्या आएको छैन । ‘गाउँपालिकाको आधारभूत अस्पतालले नै सेवा दिईरहेको छ’, उहाँले भन्नुभयो, ‘लामखुट्टे नबढोस् भनेर पानी जम्न नदिने, लामखुट्टेले नटोक्ने उपाए लगाउने र यो बेलामा कसैलाई उच्च ज्वरो आए दक्ष स्वास्थ्यकर्मीको परामर्श लिन आवश्यक छ ।’ 

सात पालिका भएको चितवनमा अहिले चार पालिकामा डेंगी संक्रमित फेला परेका छन् । इच्छाकामनापछि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा ६/६ र कालिका नगरपालिकामा एज जनामा डेंगीको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया