राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र नर्सिङका विद्यार्थीहरुलाई स्वागत गरिँदै । तस्विर : दुर्गालाल केसी  

पुस २७, २०८१ | दाङ

घोराहीस्थत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस अध्यापन सुरु भएको छ । प्रतिष्ठानले बिहीबार विद्यार्थीहरुलाई स्वागत गर्दै औपचारिक अध्ययन अध्यापन सुरु भएको जानकारी दिएको हो । प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले गत भदौ २१ गते ५० सिटको अनुमति सुनिश्चित गरेको थियो । 

प्रतिष्ठान स्थापनाको ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति प्राप्त भएको र अब औपचारिक कक्षा सुरु भएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो ।

प्रतिष्ठानमा एमबीबीएसका साथै ३० सिटको बीएससी नर्सिङ, २० सिटको बीएसएन र एमडीएमएसका कक्षाहरु सञ्चालन भईरहेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा हाल ४० विशेषज्ञ, १७५ नर्स र ५० जना प्यारामेडिक्स कार्यरत छन् । 

अहिले प्रतिष्ठानमा दैनिक सरदर ६ सय बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो । सरकारको ‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने नीति अनुसार स्थापित यो लुम्बिनीको एक मात्र प्रतिष्ठान हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ अनुसार प्रतिष्ठान स्थापना भएको हो । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रुपमा स्थापित भएको स्वास्थ्य संस्था अहिले प्रतिष्ठानमा परिणत भएको हो । 

२०२१ सालमा १५ शय्याको महेन्द्र अस्पताल, २०५० सालमा २५ शय्याको अस्पताल र २०६४ मा ५० बेडको अस्पतालमा स्तरोन्नति भएको थियो । २०६५ साल चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको थियो । २०७१ सालमा १ सय बेडको अस्पताल हुँदै २०७४ सालमा प्रतिष्ठानमा रुपान्तरण भएको हो ।


प्रतिक्रिया