वीर अस्पतालमा चार महिनादेखि युरो सर्जरी ठप्प

वैशाख २९, २०८२
शल्यक्रियाको पालो कुर्नेलाई ३ महिना भन्दा बढी समय नतोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरेपछि वीर अस्पतालमा चार महिनादेखि युरो सर्जरी ठप्प भएको छ । उपकरण अभावले युरो सर्जरी ठप्प भएको वीर अस्पतालका युरोलोजी विभाग प्रमुख डा. रविनबहादुर बस्नेतले बताउनुभयो ।
अस्पतालमा शल्यक्रियाका लागि सबैभन्दा बढी युरोलोजीका बिरामी आउने गरेको डा. बस्नेतको भनाइ छ । उता, वीरगञ्जको नारायणी अस्पतालमा पनि उपकरण खरिदमा ढिलाइ भएका कारण युरो सम्बन्धी शल्यक्रिया प्रभावित भएको छ ।
अस्पतालले २ वर्ष अघिनै स्वास्थ्य सेवा विभागमा उपकरण माग गरेपनि सुनुवाई नभएको जनाएको छ । यस्तै, काठमाडौंकै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भने दूरबिन मार्फत गरिने पाठेघरको जटिल शल्यक्रिया ठप्प छ । एकवर्ष अघि नै अस्पतालले स्वास्थ्य विभागसँग ल्याप्रोस्कोपी मेसिन माग गरेपनि अझै सुनुवाई नभएको निर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो ।