भरतपुर अस्पतालमा क्याथ ल्याब सेवा सुरु

वैशाख २३, २०८२ | चितवन

सरकारी स्वामित्वको भरतपुर अस्पतालमा मुटु र मस्तिष्क घातको विशिष्ट उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार क्याथ ल्याब र अस्पतालले सञ्चालनमा ल्याएको आईसीयूसहितको जलन उपचार कक्ष निसन्तान दम्पत्तिका लागि फर्टिलिटी सेन्टर लगायत आठ वटा नयाँ सेवाहरुको उद्घाटन गर्नुभयो । 

अस्पतालमा आईसीयू सहितको मुटुरोग युनिट लामो समयदेखि भएपनि क्याथ ल्याब नहुँदा हृदयघात र मष्तिस्किघात भएर आउने व्यक्तिहरुलाई उपचार सेवा दिन नपाएको अवस्था अन्त्य भएको भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

क्याथ ल्याबका लागि चार जना मुटुरोग विज्ञ चिकित्सक, पाँचजना नर्स र पाँच जना प्राविधिकहरु खटिने डा.पौडेलले जानकारी दिनुभयो । ‘भरतपुरका अन्य निजी अस्पताल र मेडिकल कलेजका शिक्षण अस्पतालमा यो सुविधा पहिल्यैदेखि थियो’, मेसु पौडेलले भन्नुभयो, ‘अब यही सरकारी अस्पतालमा नै यो सुविधा थपिएपछि उपचार कम खर्चमा हुने छ । यहाँ २० हजारदेखि ३० हजार रुपैयाँमा हामी यो उपचार गर्दछौं । बाहिर धेरै महङ्गो पर्दछ ।’ 

क्याथ ल्याबका लागि १३ करोड ७० लाख रुपैयाँ खर्च भएको मेसु पौडेलले बताउनुभयो । जसमध्ये सात करोड रुपैयाँ सरकारले दिएको थियो । गत वर्ष संघीय सरकारबाट प्राप्त सो रकम बाहेक अस्पताल विकास समितिले पाँच करोड रुपैयाँ खर्च गरेर मेसिनहरु खरिद गरेको र भवनका लागि एक करोड २० लाख रुपैयाँ खर्च गरेको पनि उहाँले बताउनुभयो । 

क्याथ ल्याबबाट दिनमा १० जनासम्मलाई सेवा दिन सकिने मेसु पौडेलको भनाई छ । भरतपुर अस्पतालले जलन उपचारका लागि दुई आईसीयूसहित सात शय्याको ‘बर्न युनिट’ सुरु गरेको छ ।

जलेर शरीरको २४ प्रतिशतभन्दा बढी भागमा असर परेको छ भने त्यो खतरापूर्ण हुन सक्छ । पौडेलले भन्नुभयो, ‘जलेका त्यस्ता व्यक्तिलाई राख्न आईसीयू चाहियो । त्यसैले सुविधा सम्पन्न बर्न युनिट सुरु गरेका छौं ।’

त्यसैगरी निसन्तान दम्पत्तिलाई सेवा दिन फर्टिलिटी युनिट पनि सोमबारदेखि नै सञ्चालनमा आएको छ । निसन्तानको कारण पत्ता लगाएर उपचार पश्चात सन्तान प्राप्ति गर्न सक्ने बनाउन सो सेन्टर खुलेको हो । ‘यी मुख्य युनिटसहित सोमबार अन्य सेवाहरु पनि शुभारम्भ भएको छ । सबै नयाँ सेवाका लागि १६ करोड रुपैयाँभन्दा धेरै लगानी रहेको मेसु डा.पौडेलले जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्री पौडेलले भरतपुर अस्पताललाई सबै खाले उपचार सेवा उपलब्ध गराउने अस्पताल बनाउने योजना रहेको बताउनुभयो । उहाँले मिर्गौला प्रत्यारोपण सेवा पनि छिट्टै सुरु गर्ने गरेर काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । गत चैत्रमा ६९ औं वार्षिकोत्सव मनाएको भरतपुर अस्पताल हाल ६ सय शय्यामा सञ्चालित छ । 

आगामी कात्तिक महिनाभित्रै थप सय शय्या गरेर अस्पताल सात सय शय्यामा सञ्चालन हुने मेसु डा.पौडेलले बताउनुभयो । तर, सरकारी दरबन्दी निकै कम हुँदा अस्पताल विकास समिति अन्तर्गत धेरै चिकित्सक कर्मचारीहरु अस्पतालमा कार्यरत छन् । मेसु डा.पौडेलले अस्पताललाई शय्या अनुरुपको दरबन्दी र बजेट उपलब्ध गराउन स्वास्थ्य मन्त्री पौडेल समक्ष माग गर्नुभयो । 


प्रतिक्रिया