चैते धानमा किसानको आकर्षण बढ्यो

वैशाख २, २०७६ | लमजुङ

सिँचाई सुविधा पुगेको ठाउँमा किसानले चैते धान लगाएका छन् । गहुँ, तोरी र आलुबाली भित्र्याएपछि किसानको मन चैत धान फलाउनेमा गएको छ । शहरबजार नजिकका फाँटे खेतमा चैते धान रोपिएको छ । खोलानाल नजिक भएका ठाउँ साथै सिंचाई सुविधा भएको ठाउँमा किसानले चैते धान लगाएका हुन् ।

मध्य नेपाल नगरपालिका ७, करापुटारकी राज्यलक्ष्मी सोतीले करीब ५ हलको खेतमा चैते धान रोपेको बताइन् । ‘कतै आलु रोपिएको थियो । कतै गहुँ । कतै कतै बाँझो पनि थियो । अहिले धान रोपेका छौं’ उनले भनिन् । उनका अनुसार फाँटभरी बर्खे धानझैं चैते धान लगाइएको छ । मिदिम खोलाबाट सिंचाईको सुविधा पाएपछि धान रोपिएको उनले बताइन् ।

राइनास नगरपालिका ६, चक्रतीर्थका रामचन्द्र भट्टका अनुसार धेरै किसानले चैते धान लगाएका छन् । चैते धानमा किसानको आकर्षण बढेको छ । ‘पहिले गोरु नपाउने समस्या थियो । अहिले ट्याक्टर आएपछि जोत्दै, बाउसे गर्दै धान रोप्ने गरिएको छ’ उनले भने । राइनास क्षेत्रका तार्कुघाट, धमिलिकुवा, तीनपिप्ले लगायत ठाउँमा चैते धान रोपिएको उनले बताए । ‘अहिले चैते धान रोपिएन भने खेत बाँझै हो । खेत बाँझो नराख्न पनि धान रोपिएको छ’ उनले भने ।

लमजुङका ठूलाठूला फाँटहरु राइनास नगरपालिकाको राइनासटार, धमिलिकुवा, भलायखर्क, चक्रतीर्थ, चितीको रामचोकबेंसी, मध्यनेपाल नगरपालिकाकाको करापुटार, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, परेवाडाँडा, सत्रसय लगायत फाँटमा चैते धान लगाइएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ३ सय ५८ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यसवर्ष २ हजार १ सय ७३ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा २ हजार ३ सय ५९ मेट्रिक टन धान उत्पादन भएको थियो । उहाँले भन्नुभयो, ‘चैत महिनाको सुरुवात देखि चैते धान रोपिएको थियो । अब विस्तारै सकिँदैछ ।’ 

सिँचाई सुविधा पुगेको ठाउँमा चैते धान रोप्ने गरिएको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १४ हजार ७ सय ८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । चालू आर्थिक आब २०७५/०७६ मा ४५ हजार ६ सय ३९ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार ७ सय ९१ हेक्टरमा धान लगाइएकोमा ४४ हजार ५ सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो । किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । 


प्रतिक्रिया