रोल्पा र प्युठानमा विद्युत आपूर्ति अनियमित

असार १४, २०७६ | प्युठान/रोल्पा

प्युठानमा बुटवल पावर कम्पनीद्वारा सञ्चालित झिमरुक जलविद्युत केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । नेपाल विद्युत प्राविधकरणले केन्द्रीय प्रसारण लाइन मार्फत पर्याप्त विद्युत उपलब्ध नगराउँदा झिमरुक जलविद्युत केन्द्र बन्द हुने अवस्थामा पुगेको हो ।

प्राधिकरणले दाङको लमहीस्थित केन्द्रीय प्रसारन लाइनबाट झिमरुकलाई विद्युत उपलब्ध गराउँदै आएको थियो । तर, अहिले कम मात्रामा विद्युत पठाएकाले स्थानीय उत्पादन प्रभावित भएको हो । प्राधिकरणले लमहीबाट पठाउने विद्युत लाइन नियमित नहुँदा उत्पादन बन्द हुने अवस्थामा पुगेको झिमरुक जलविद्युत उत्पादन केन्द्रका प्रमुख श्याम थापाले बताउनुभयो । 

प्युठानस्थित झिमरुक जलविद्युत उत्पादन केन्द्रका प्रमुख श्याम थापाले भन्नुभयो, ‘हाम्रो मेसिन चलाउन पनि प्राधिकरणले पठाएको लाइनबाट पावर ल्याउनुपर्छ । अहिले थोरै आएको छ ।’ 

प्राधिकरणले लमहीस्थित केन्द्रीय प्रसारण लाइनबाट १ लाख ३२ हजार भोल्टेज क्षमताको पावर लाइन प्युठानमा पठाए मात्रै मेसिन चलाउन सकिन्छ । तर हाल करीब १ लाख १० हजार भोल्टेज क्षमताको पावर मात्रै सप्लाई भएको झिमरुक जलविद्युत उत्पादन केन्द्रले जनाएको छ । 

झिमरुकमा नियमित विद्युत उत्पादन नहुँदा प्युठान, रोल्पा र अर्घाखाँचीमा वितरित विद्युत प्रसारण प्रभावित भएको छ । नियमित विद्युत लाइन नभएकाले यी जिल्लाहरुमा सञ्चालित साना तथा मझौला उद्योगहरु प्रभावित भएका छन् । लामो समयदेखि स्थानीय उत्पादनबाट सेवा पाउँदै आएका जिल्लाबासी विद्युतको अनियमितताका कारण नियमित सेवाबाट वञ्चित हुँदै आएका छन् ।

रोल्पा, प्यृठान र अर्घाखाँचीमा दिउँसोमा करीब ५ र रातिमा ९ मेघावाट विद्युत खपत हुँदै आएको छ । शान्ति प्रक्रियापछि यी जिल्लाहरुमा विद्युत आवश्यक पर्ने साना र मझौला उद्योग सञ्चालित छन् । नियमित विद्युत आपूर्ति नभएकाले सूचना प्रविधिको प्रयोग गर्दै सेवा प्रवाह गर्ने स्थानीय तह र सरकारी कार्यालयको सेवा समेत प्रभावित भएको छ । 

झिमरुकस्थित जलविद्युत उत्पादन केन्द्रले हिउँद बाहेक अन्य समयमा आफैले विद्युत उत्पादन गर्छ । करीब ३० वर्षअघि निर्माण भएको सो केन्द्रबाट वर्षाको समयमा १२ मेघावाट विद्युत उत्पादन गर्ने क्षमता छ । पानी पर्याप्त भएको समयमा यो केन्द्रबाट दैनिक १२ मेगावाट विद्युत उत्पादन हुन्छ, केन्द्र प्रमुख थापाले भन्नुभयो, ‘हिउँदमा निकै कम उत्पादन हुन्छ ।’

उहाँका अनुसार विद्युत प्राधिकरणबाट लाइन प्राप्त भएका मात्रै झिमरुकबाट अचेल करीब ४ मेघावाट विद्युत उत्पादन हुन सक्छ । वर्षाअघिको हिउँदको समयमा स्थानीयले खेतमा पानी लैजाने गरेकाले विद्युत उत्पादन गर्न पुग्ने पानी छैन । प्युठानस्थित जसपुर दारिमचौरमा रहेको केन्द्रको उत्पादन गृहमा झिमरुक खोलाको पानीलाई भूमिगत माध्यमबाट ल्याइएको छ । 

समस्याको कारण के हो ?
झिमरुक विद्युत उत्पादन गृहले तराईका दाङ, कपिलवस्तु, नवलपरासी, बाँके, रुपन्देही लगायतका जिल्लामा पछिल्लो पटक स्थापना गरिएका उद्योग कारखानाको संख्या बढी भएको र विद्युत खपत समेत बढेकाले पहाडी जिल्लामा विद्युत प्रसारण कम भएको सूचना पाएको जनाएको छ । प्रमुख थापाले भन्नुभयो, ‘यसबारे जनगुनासो आएपछि तीन जिल्लास्थित नेपाल विद्युत प्राधिकरणको वितरण कार्यालयमा जानकारी गराइएको छ । सबैतिरका उपभोक्ताले नियमित विद्युत लाइन दिइरहन माग गर्दै आएका छन् ।’ 

तीन जिल्लामा नियमित विद्युत लाईन प्रसारण नहुनुमा प्राविधकरणको केन्द्रीय कार्यालयले तराईमा खपत बढेकाले प्रेसर बढेको जनाएको छ । केही समय अघि काली गण्डकीमा कम विद्युत उत्पादन भएकाले पश्चिममा नियमित विद्युत प्रसारन रोकिएको थियो । यहिले पनि त्यस्तै अवस्था छ । कालीगण्डकीमा भने पुनः विद्युत उत्पादन भएको छ । 

विद्युत अनियमित भएकाले उपभोक्ता मारमा परेका हुन् । छिन छिनमा विद्युत आउने र जाने समस्या छ । एकातिर गर्मीको बेला विद्युत आउने र जाने समस्या छ भने अर्कातिर कार्यालयको काम समेत प्रभावित भएको छ । प्युठान नगरपालिका ४ टारीका भक्तिराम गौतमले नियमित विद्युत नभएकाले निकै दुःख पाएको बताए । ‘जिल्लामै विद्युत उत्पादन भएर पनि लोडसेडिङ जस्तै दुःख भोग्नु परेको छ, उनले भने ।’ स्थानीय उत्पादन भएकाले प्युठानलाई लोडसेडिङ नहुने जिल्ला भनेर चिनिन्छ । नेताहरुले पहल नगरेको उनको गुनासो छ । 

जिल्लामा लामो समयदेखि विद्युत अनियमित भएको विषयमा सबै क्षेत्रबाट गुनासो आएको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । विद्युत अनियमितबारे विद्युत प्राधिकरण प्युठान शाखा र बुटवल पावर कम्पनी झिमरुक वितरण केन्द्र दारिमचौरलाई सुधारका लागि पहल थाल्न निर्देशन दिएको समेत गैह्रेले बताउनुभयो । उता छिमेकी जिल्ला रोल्पामा पनि उपभोक्ता पीडित भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।   


प्रतिक्रिया