केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको भन्दै कांग्रेसमाविशेष महाधिवेशन पक्षधरको आपत्ति

कार्तिक २, २०८२

वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको भन्दै नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आपत्ति जनाएका छन् ।

 पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ५३ प्रतिशतको हस्ताक्षर बुझाएपनि पार्टीले बेवास्ता गरेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् । संस्थापन इतर पक्षले आज पत्रकार सम्मेलनमार्फत् आफूहरुको अभियानलाई बेवास्ता गरेको आरोप लगाएको छ । नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको समय सकिएको भनेर अपमानित गर्न खोजेको बताउनुभयो । उहाँले महाधिवेशनमा जानुको विकल्प नभएको बताउनुभयो ।

विशेष महाधिवेशन पक्षधर समूहले नेतृत्वलाई ६ बुँदे ध्यानाकर्षण गराएको छ । उनीहरुले ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई उपेक्षा नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठक अस्वाभाविक रुपमा सारिएको नेता घिमिरेको भनाइ छ ।

केही दिन बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छठ पर्वपछि बस्ने गरी कात्तिक १३ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगन गरिएको भोलिपल्ट विशेष महाधिवेशन पक्षधर नेताहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 


प्रतिक्रिया