२ सय २२ स्थानीय तहमा पुग्यो बिजुली

भाद्र ५, २०७६ | काठमाडौं

मुलुकभरका स्थानीय तहमध्ये २ सय २२ वटामा ९० प्रतिशत भन्दा बढी विद्युत पुगेको नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणले ७ सय ५३ वटै स्थानीय तहको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ अनुसार, १ सय १७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशत भन्दा कम छ ।

केही स्थानीय तहमा भने विद्युत नै नपुगेको प्राधिकरणले जनाएको छ । ५५ स्थानीय तहमा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १ सय ६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २ सय ५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ । 

हालसम्म कुल जनसंख्याको करीब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको तथ्यांकमा उल्लेख छ । कुल जनसंख्याको करीब २२ प्रतिशतले भने अझै राष्ट्रिय ग्रीडको विद्युत प्रयोग गर्न पाएका छैनन् ।

सरकारले २०७९ सालभित्र प्रत्येक घरधुरीमा विद्युत सेवा पुर्‍याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७ सय युनिट पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि ग्रीड पुर्‍याउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणाली सहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।  


प्रतिक्रिया