दोर्दीखोला जलविद्युत आयोजना सम्पन्न हुन अझै ६ महिना लाग्ने

भाद्र १६, २०७६ | लमजुङ

दोर्दीखोलाको सबैभन्दा तल्लो क्षेत्रमा निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । आयोजना २७ मेगावाटको हो । जलविद्युत निर्माणमा ‘ब्रेक थ्रु’ लाई आयोजना निर्माण सफल हुँदै गएको पहिलो कडीको रुपमा समेत लिइन्छ ।

निर्माणकार्य ढिलाई हुँदै गएको सो आयोजनाका लागि निर्मित २ हजार ७ सय ८० मिटर सुरुङको आइतबार ‘ब्रेक थ्रु’ गरिएको हो । यसको अडिट टनेल छैन । इनलेट (सुरुङ सुरु हुने ठाउँ) बेंसीसहर नगरपालिका ११ (साविक चिती ४) रियाले र आउटलेट साविक चिती ७ रामचोकमा रहेको छ । आउटलेटबाट पावर हाउससम्म ७ सय मिटरको पेनस्टक छ । हेडवर्क्सबाट इनलेटसम्म ३ हजार २ सय फलामे हेडरेस पाइप लाइन रहनेछ । यसको करीब ६ सय मिटर जडान मात्रै बाँकी छ ।

प्रवर्द्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडले सो आयोजनाको निर्माणकार्य २०७१ फागुनबाट थालेको थियो । सुरुङको निर्माणकार्य ४ वर्षअघि थालिएको थियो । सुरुमा इको इन्फ्रा विल्डरले निर्माण थालेकोमा १ वर्षमा ५ सय मिटर मात्रै सुरुङ खनेपछि ‘प्रोग्रेस एचिभ’ नगरेको भन्दै उसलाई हटाएर निर्माण कम्पनीले मल्टी इन्फ्रा इन्स्ट्रक्टर डेभलपमेन्ट कम्पनीलाई नियुक्त गरेको थियो ।

करीब ३ वर्षमा सुरुङ खन्ने कार्य सकिएसँगै आइतबार निर्माण कम्पनीका निर्देशक चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल लगायतले सुरुङको ब्रेक थ्रु गरेका हुन् । ब्रेक थ्रु पछि सुरुङभिक्र कंत्रिट लाइनिङ सुरु हुने आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले बताउनुभयो । 

सुरुमा ३ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको थियो । पछिल्लो समय भदौ १४ गते - शनिबार) उत्पादन मिति तोकिएकोमा निर्माणकार्य नसकिएपछि ६ महिना निर्माण अवधि लम्बिएको छ । फागुन १४ गते निर्माणकार्य सकेर विद्युत उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार सुरुमा २०७२ बैशाख १२ गतेको भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दीले काम गर्न दिएन । हरेक वर्ष बर्खायामको बाढी पहिरोले आयोजना निर्माणकार्य ढिलाई भएको हो । गतवर्ष मर्स्याङदी बढेर पावर हाउस क्षेत्रमा क्षति पुगेको र २ जना कामदार बगाएको थियो । उहाँले भन्नुभयो, ‘बर्खायामको समय पनि लिएर कार्यतालिक बनाएको हुन्छ । काम गर्न गाह्रो हुन्छ ।’

सुरुङमा डिजाइन गरेभन्दा कमजोर खालको चट्टान आएर काममा ढिलाई भएको उहाँले बताउनुभयो । यस्तै, सुरुङको निर्माण कम्पनी फेरेर अर्कोलाई नियुक्ति गरिएकाले पनि समय लम्बिएको आयोजनाले जनाएको छ । प्रसारण लाइन बन्न नसक्दा पनि आयोजनालाई छिटो निर्माण गर्नुपर्ने ‘प्रेसर’ नबढेको आयोजना स्रोतले बताएको छ । जलविद्युतको निर्माणकार्य ८० प्रतिशत बढी सकिएको आयोजनाले जनाएको छ ।

पानीको बहावमा आधारित (रन अफ रिभर) प्रकृतिको उक्त आयोजनाको दोर्दी गाउँपालिका ६ ढोडेनी र ८ बन्सारबीचको दोर्दी खोलामा बाँध निर्माण गरिएको छ । बेंसीसहर नगरपालिका ११ चितीको रामचोकबेंसी नजिकै मर्स्याङदी नदी किनारमा विद्युत गृह निर्माणाधीन छ । विद्युत गृहमा ९/९ मेगावाटका ३ वटा फ्रान्सिस टर्बाइन जडान गरिनेछ । आयोजनाको ग्रस हेड २ सय १२ मिटर छ । आयोजनाबाट १ सय ४७ दशमलव ६९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणलाई भने १ सय ४२ दशमलव ३१ गिगावाट प्रतिघण्टा विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ । बीचका विद्युत चुहावट हुन सक्ने प्राविधिक आंकलन आयोजनाको छ ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग चलनचल्तीको दर अनुसार हिउँद (सुख्खायाम) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । २०६९ असार १ गते पीपीए गरेको आयोजनाले २ वर्षपछि निर्माण थालेको थियो ।

४ अर्ब २३ करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा गर्ने भनिएको सो आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५ दशमलव ७ प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलव ३० प्रतिशत र स्थानीय र सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको शेयर छ । सो आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको ३५ प्रतिशत इक्विटी रहनेछ ।


प्रतिक्रिया