काठमाडौंका मिठाई पसलमा सरकारकरो अनुगमन

भाद्र २५, २०७६ | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । अनुगमन टोलीले त्रिपुरेश्वरस्थित पशुपती फुड्स, साजन गोठ र सुनधारास्थित सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुलावमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरबाही गरिएको पाइएपछि ती खाद्य पदार्थ नष्ट गरिएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो ।

राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको भन्दै अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । उहाँले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको बताउनुभयो । उपभोक्ता र व्यवशायीका लागि अनुज्ञा पत्र लिएर मात्र व्यवसाय गर्न सुझाउँदै उहाँले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिनुभयो ।

सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै ती पसल सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन दिएको विभागकी महानिर्देशक बैद्यले बताउनुभयो । टोलीले परीक्षणका लागि १४ प्रकारका खाद्य पदार्थको नमूना संकलन गरेको छ । विष्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी मुद्दा चलाइने विभागले जनाएको छ । 


प्रतिक्रिया